चीनबाहिर पनि कोरोनाको संक्रमण तीव्र, सचेत भएर ‘जुध्न’ विश्व स्वास्थ्य संगठनको अपिल

हेल्थपोस्ट नेपाल

चीनबाहेक अन्य देशमा पनि कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीब्र गतिमा फैलिन थालेको छ।

खासगरी चीनको उहानबाट फैलिन सुरु गरेको यो भाइरसले अहिले विश्वका विभिन्न देशहरुमा पनि आफ्नो गति फैलाएको छ।

संक्रमणको गति चीनभन्दा बाहिर पनि बढ्दै जान थालेपछि विश्व स्वास्थ्य संगठनले यसलाई निकै चिन्ताजनक अवस्था भनेको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले ‘चीन बाहिरका देश जस्तो कि इटली, इरान, कोरियाजस्ता देशमा एकदमै अनपेक्षित रुपमा भाइरसको संक्रमण बढ्दै जानु गहिरो चिन्ताको विषय हो’ उनले भनेका छन्।

विश्वभरि कोरोना भाइरस फैलिनु एकातिर चिन्ताको विषय बनेको छ भने, अर्काेतिर यसलाई महामारीको ‘भयावह’रुपमा चित्रण गरिनुले पनि चिन्ताको अर्काे विषय थपिएको उनले बताए।

‘एकातिर चीनभन्दा बाहिर देशमा पनि भाइरसको संक्रमण बढिरहेको छ भने अर्काेतिर केही सञ्चारमाध्यम र राजनीतिज्ञले यसलाई महमारीको भयावहका रुपमा प्रस्तुत गरिरहेका छन्’ उनले भने ‘यसले कसैलाई ठोस लाभ दिँदैन। बरु आआफ्नो देशमा सचेतना अपनाउन जरुरी छ।’

भाइरसको संक्रमणसँग लड्नका लागि उनले सम्पूर्ण विश्व समुदायलाई एक हुन आग्रह गरेका छन्।

‘जुन रुपले भाइरस विश्वभरि निकै तीब्र गतिमा फैलिइरहेको यसको मतलव अब हामीसँग भाइरस आउन सक्दैन भन्ने होइन’ र उनले भनेका छन् ‘अब यसबाट जुध्नका लागि हरेक देशमा आशा, साहस र विश्वसनियता राख्नसक्नुपर्छ।’

चीनबाहेक विश्वका अन्य धेरै देशहरुमा पनि कोरोनाको संक्रमण निकै तीब्र गतिमा फैलिइरहेको छ। खासगरी इरान, दक्षिण कोरिया, इटलीलगायतका देशमा यसको संक्रमण निकै तीब्र भएको छ।

इरानमा अहिलेसम्म यो भाइरसको संक्रमणबाट १९ जना मानिसको मृत्यु भइसकेको छ। यहाँ १३९ जना मानिस संक्रमित छन्। त्यस्तै दक्षिण कोरियामा १३ जना मानिसको मृत्यु भइसकेको छ भने १ हजार ५ सय ९५ जना मानिस संक्रमित भएका छन्।

त्यस्तै इटलीमा १२ जना मानिसको मृत्यु भएको छ भने ३७४ जना मानिस संक्रमण भएका छन् जापानमा ७ जनाको मृत्यु भएको छ भने १७१ जना मानिस संक्रमित भएका छन्।
विश्वभरि अहिलेसम्म ८२ हजार २७ जना मानिस संक्रमित भएका छन्। त्यस्तै २ हजार ८ सय १ जनाको मृत्यु भएको छ। ३२ हजार ७ सय ५६ जना संक्रमित उपचारपछि निको भएका छन्। मृत्यु हुनेमध्ये २ हजार ठ सय ४४ जनाको चीनमै मृत्यु भएको छ।

एजेन्सीहरुकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *