चिकित्सकको २८औँ राष्ट्रिय सम्मेलन बिहीबार पोखरामा सुरु हुँदै

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचानसँगै समाधानका उपाय खोजी गर्न देशभरका करिब ५ सय चिकित्सक पोखरामा भेला हुने भएका छन् । नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा बिहीबारदेखि सुरु हुने २८औँ अखिल नेपाल चिकित्सक सम्मेलनमा देशभरका चिकित्सकको जमघट हुने बिहीबार पोखरामा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको हो ।

सम्मेलनमा मुलुक संघीय प्रणालीमा गएपछि स्वास्थ्य क्षेत्रमा देखिएका अवसर, चुनौती र समाधानका विषयमा बहस हुने नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा. निर्मल लामिछानेले जानकारी दिए । सम्मेलन शुक्रबार (१७ फागुन)सम्म चल्नेछ ।

सम्मेलनको पहिलो दिन बिहीबार संघको केन्द्रीय कार्यसमितिको पदस्थापन र देश संघीय प्रणालीमा गइसकेपछि स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, समाधानका उपाय र अवसरबारे छलफल हुनेछ । यसैगरी, दोस्रो र तेस्रो दिन देश तथा विदेशका चिकित्सकले स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर पेपर तथा पोस्टर प्रस्तुति दिनेछन् । सम्मेलनमा सहभागी हुन अमेरिकाबाट दुई विशेषज्ञ चिकित्सक पोखरा आएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार दिउँसो २ बजे होटेल पोखरा ग्रान्डमा भव्य समारोहका बीच सम्मेलनको उद्घाटन गर्ने संघले जनाएको छ ।

संघको आयोजनामा तीन–तीन वर्षको अन्तरालमा चिकित्सकको राष्ट्रिय सम्मेलन हुँदै आएको छ । पोखरामा आयोजना भएको यो दोस्रोपटक हो । ३२ वर्षअघि ०४४ सालमा पोखरामा चिकित्सकको राष्ट्रिय सम्मेलन भएको थियो ।

सम्मेलनको २७औँ संस्करण तीन वर्षअघि धरानमा सम्पन्न भएको थियो । त्यसवेला देश–विदेशका गरी करिब ७ सयजना सहभागी थिए ।

२००७ मा देशकै पहिलो पेसागत संगठनका रूपमा स्थापना भएको चिकित्सकको छाता संगठन एनएमएमा हाल देशभरका १० हजारभन्दा बढी चिकित्सक आबद्ध छन् । संघको २८औँ कार्यकारिणी समितिको निर्वाचन केही दिनअघि मात्र सम्पन्न भएको थियो, जसले डा. लोचन कार्कीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय