औषधि व्यवस्था विभागमा सेवाग्राहीलाई सास्ती, बैठकका नाममा १२ बजेसम्म खुल्दैनन् शाखा

‘सरकारी काम, कहिले जाला घाम’
यो उक्तिसित हामी सबैजसो नेपाली अभ्यस्त छौँ ।

कहिले कार्यालय समयमा खुल्दैन, कहिले कर्मचारी हुँदैनन् त कहिले समयअगावै कार्यालय बन्द हुन्छ ।

सरकारी कार्यालय १० बजे खुलेर ५ बजे बन्द हुनुपर्ने हो । तर, उपत्यकामा रहेको औषधि व्यवस्था विभागका महाशाखा तथा शाखाहरू ११–१२ बजेसम्म पनि खुल्दैनन् ।

विभागका कर्मचारी दैनिक २ घण्टाजति बैठकमा व्यस्त हुन्छन् । यता सेवाग्राही भने कहिले बैठक सकिएला र कर्मचारीलाई भेटौँला भनेर कोठाबाहिर कुर्न बाध्य छन् ।

हेल्थपोस्टको टोलीले एक सातादेखि विभागको अनुगमन गर्दै आएको छ । दिनहुँजसो विभागका कर्मचारी बैठकमा व्यस्त भएको र बाहिर सेवाग्राही कुरिरहेको देखिएको छ ।

केही समयअघि विभागले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी कार्यालयमा आएपछि उसको १० देखि ५ बजेसम्मको कामको लेखाजोखा हुनुपर्ने बताएका थिए । उनले काम नगर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिएका थिए । तर, मन्त्री ढकालले दिएको निर्देशनको कत्ति पनि असर विभागमा देखिएको छैन ।

कर्मचारीको यस्तो अनियमितता कहिलेसम्म ?
हेल्थपोस्ट टोली बुधबार ११ : ४५ मा पुग्दा विभागका केही शाखा खुले पनि कर्मचारी थिएनन् । केही बन्द अवस्थामा थिए । कोठाबाहिर भेटिएका सेवाग्राही १० बजेदेखि नै कुरिरहेको बताउँछन् ।
‘१० बजेदेखि कुरेर बसेको छु, कोठामा कोही आउनु भएको छैन,’ सेवाग्राही अमिर अन्सारी भन्छन्, ‘मिटिङमा हुनुहुन्छ रे, खोइ कतिवेला आउने हो !’

विभागमा कर्मचारीको प्रतीक्षा उनका निम्ति एक दिनको मात्र होइन । उनी यो परिपाटीसित अभ्यस्त भइसकेका छन् ।
‘आज मात्र कुर्नुपरेको होइन, पटक– पटक घण्टौँसम्म कुरेर बस्नुपरेको छ,’ अन्सारीको गुनासो छ, ‘कहिलेकाहीँ त १ बजेसम्म पनि कुरेर बसेको छु ।’

विभागमा दैनिकजसो हजारौँको संख्यामा सेवाग्रही आउने गर्छन् । काम समयमा नहुँदा पटक–पटक धाउनुपरेको उनीहरूको गुनासो छ ।

छरपस्ट फालिएका कागजपत्र
औषधिको नियामक निकाय विभागमा छरपस्ट फालिएको अवस्थामा कागजपत्र देख्न सकिन्छ । हेर्दा जोकोहीलाई लाग्छ, यो कुनै सरकारी कार्यालय नभएर कारखाना हो । न कोठा व्यवस्थित छन्, न बोरोमा खाँदेर लडाइएका कागजपत्र नै ।

हामी एक महिनाअघि विभाग पुग्दा पनि कागजपत्रको दुरवस्था यस्तै नै थियो । बुधबार विभाग पुग्दा पनि अवस्था फेरिएको छैन ।

लामो समयदेखिका कागजपत्र केलाएर सफा गर्न लागिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् ।  ‘कागजपत्र सफा गर्न अझै एक महिना लाग्छ,’ ढकाल भन्छन्, ‘सफा गर्ने ठाउँमा घुलो उडेका कारण कोठामा लगेर राखेका हौँ ।’

 

महानिर्देशक ढकाल भन्छन्– प्रायः सधैँ ३० मिनेटको मिटिङ हुन्छ, कहिलेकाहीँ लम्बिन पनि सक्छ
कर्मचारीको बैठकका कारणले कुनै सेवाग्राहीको तत्काल गर्नुपर्ने काम नअड्किने महानिर्देशक ढकाल बताउँछन् । ‘मिटिङ दैनिक १० बजे सुरु हुन्छ, १० ः ३० सम्ममा सकिन्छ,’ उनी भन्छन्, ‘कहिलेकहीँ लम्बिन पनि सक्छ ।’

सेवाग्राहीलाई कसरी सजिलो हुन्छ भन्नेमा आफूले ध्यान दिइरहेको महानिर्देशक ढकालको भनाइ छ । तर, कार्यालय समयमा महाशाखा तथा शाखाहरू बन्द गरेर घण्टौँसम्म बैठक बस्दा सेवाग्राहीलाई कति सजलो भएको होला, उनले बुुझ्नैपर्ने विषय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय