‘अनि राईको छोरो डाक्टर बन्यो’

बुढ्यौली छायामा पनि चम्किरहेको अनुहार।

पुष्ट शरीर, उही बैंशालु उमंग।

आवाजै तन्नेरी, ‘राईको छोरो पो त!’

उमेरले डा. गणेश राई ६० टेके। अनि सरकारी सेवाबाट अवकास। सोमबार उनको चमक नै बेग्लै थियो।

डाक्टर बनेर सरकारी सेवामा तीन दशक बिताए।

र, उनी कान्ति बाल अस्पतालबाट सोमबार बिदा भए।

लाग्थ्यो अनुहारमा पनि अझ ‘कान्ति’ छ, भरिलो।

बिदाइ गर्न हलभरि खचाखच आफ्ना सहकर्मीलाई भन्दै थिए, ‘अस्पताललाई मन्दिर मानेर काम गर्नुस्।’

बिदाइ समारोहको केहीबेर अघि उनी हेल्थपोस्टनेपालको टिमसँग एकैछिन गफिएका थिए।

‘डाक्टरी जीवनमा कसरी?’

उनैले सुनाए– ३० वर्षे डाक्टरी जीवनमा यो प्रश्न दोस्रोपल्ट थियो।

हो पनि, राई, लिम्बु भन्नासाथ झट्ट सम्झिन्छन्– ‘लाहुरे।’

तर, राई, लिम्बुहरू डाक्टरै नहुने भन्ने कतै लेखिएको छैन, लाहुरेमात्रै हुनुपर्ने त हैन नि।

यी गणेश राई कुनै लाहुरे परिवारका हैनन्। उनका बुवा पनि लाहुरे थिएनन्। भोजपुर जिल्लामा उनी सामान्य किसान परिवारमा जन्मिए।
र, डाक्टर बने त्यो पनि ‘बच्चा’ को डाक्टर।

नेपाली चिकित्सा क्षेत्रमा बालरोग विशेषज्ञका रूपमा उनले ठूलै नाम कमाएका छन्।

अभिभावकहरू यतिसम्म भन्छन् कि– ‘डा. राईले छुनासाथ बिरामी बच्चा निको हुन्छ।’

‘तर, डाक्टर भगवान त होइन नि, उपचार कुनै जादू पनि होइन,’ अनुहारमा सेवाको गर्वानुभूति प्रष्ट थिए, ‘बिरामीसँग बिरामीजस्तै भएर झ्याम्मिनुपर्छ।’

नर्स सानिमा, डाक्टरी जीवनको सुरुवात

भोजपुरमा उनले पाँच कक्षासम्म पढे। त्यसपछि झापाको भद्रपुरमा ६ देखि ८ कक्षासम्म।

अनि उनी मोरङ गए, कक्षा ९ र १० मा। र, २०३२ सालमा विराटनगरबाट एसएलसी परीक्षा पास गरे।

भद्रपुरमा सानिमाको घर थियो। उनी त्यहीँ बसेर पढे। सानिमा नर्स थिइन्। सानिमाको सानिध्यले त्यो बेलैदेखि उनको मनमा ‘डाक्टर’ बन्ने सपना अंकुराइसकेको थियो।
‘सानिमासँग नबसेको भए, म यो पेसामा आउने थिइनँ कि?,’ बल्ल हाँस्दै भने, ‘अनि राईको छोरो डाक्टर बन्यो।’

चिकित्सा शास्त्र पढ्दै गर्दा उनको स्वभावै त्यस्तो थियो, बच्चासँगै रमाउने। उनीहरूसँगै घुलमिल हुने। अनि साथीहरूले सल्लाह दिए– ‘अब तिमी बालरोग विशेषज्ञ बन्नुपर्छ।’
राईले त्यसैमा विज्ञता लिए।

सरकारी सेवा–यात्रा

२०४६ सालमा उनी सरकारी सेवा प्रवेश गरे। सुरुमा उनलाई परोपकार प्रसुति गृह खटाइयो। त्यहाँ उनले करिब दुई वर्ष नवजात शिशु विभाग सम्हाले, मेडिकल अफिसर भएर।
२०४८ सालमा उनी खोटाङ अस्पताल पुगे।

खोटाङ जिल्ला। न बाटो थियो, न बिजुली। दुर्गम जिल्ला भनेर, कोही पनि डाक्टर त्यहाँ जान मान्दैनथे। भर्खरै डाक्टर भएका राईले त्यो बेला जिल्ला अस्पताल सम्हाले।

२०५४ सालमा उनी कोशी अञ्चल अस्पताल सरुवा भए। त्यो अस्पतालमा एक वर्ष बाल रोग विभाग हाँके।

त्यसपछि कान्ति बाल अस्पतालमा आइपुगे।

यहाँ उनले धेरै काम गर्नै पाएनन्। ६ महिनापछि नै उनलाई जनकपुर अस्पताल सरुवा गरियो।

त्यो बेला स्वास्थ्यमन्त्री थिए डा. रामवरण यादव (मुलककै प्रथम राष्ट्रपति)।

राईले भने, ‘मन्त्रीज्यू मलाई कान्ति नै ठिक छ, यहीँ राखिदिनुस्।’

तर, मन्त्री यादवले सुनेनन्।

सरकारी जागिरे भएपछि उसले खटाएको ठाउँमा नगई सुख भो र?

जनकपुर अञ्चल अस्पतालमा दुई वर्षभन्दा बढी काम गरेर उनी फेरि कान्तिमै फर्किए ।

बालकलाई पुनर्जन्म दिएको त्यो क्षण

खोटाङ अस्पतालमा उनले एउटा यस्तो केस सुल्झाए जसले उनलाई जीवनभरि नै सन्तोष दिन्छ।

भखरै जन्मिएको बच्चालाई लिएर एकजना अभिभावक अस्पताल आएका थिए, ती बालकको मलद्वार थिएन।

त्यस्तो बच्चालाई कान्ति बाल अस्पतालमा मात्र उपचार सम्भव थियो। तर, पनि राईले हिम्मत हारेनन्।
अभिभावकले पनि ‘मरे मरोस्’ भनेर बच्चालाई छोडेका थिए।

‘नदुख्ने सुई लगाएर छाला काटेँ, बच्चाको मलद्वार देखियो,’ राई सम्झिन्छन्, ‘मैले सक्दिनँ भनेर त्यत्ति नगरेको भए त्यो बालकको मृत्यु हुन्थ्यो होला।’

अस्पताल निर्देशकसम्मको यात्रा

२०६० सालमा उनी कन्सल्टेन्ट भए। त्यसको दुई वर्षपछि १०औं तहमा बढुवा भए।

त्यसपछि उनी फेरि बढुवा हुँदै, कान्ति बाल अस्पतालको निर्देशकसम्म भए। बालबालिकाको नाडी छाम्दाछाम्दै उनी करिब तीन वर्ष ‘प्रशासक’ पनि बने।
अनि त्यो, सारा स्वास्थ्य कर्मचारीको ‘नाडी छाम्ने’ मौका पनि थियो।

‘निर्देशक’ को कुर्सीमा बस्दा उनले सुधारका धेरै काम गरे। तर, जहिल्यै पत्रकारसँग भन्थे– ‘कान्तिमा यस्तो समस्या छ, उस्तो समस्या छ।’
‘राम्रो कुरा मैले कहिल्यै बाहिर ल्याइनँ। सधैं नराम्रो कुरामात्रै भनेँ, त्यो केही सुधार हुन्छ कि भनेर थियो,’ उनी थप्छन्।

हो पनि, राम्रो कामको मूल्याङ्कन त सेवाग्राहीले गर्ने हो।

डा. राई भन्छन्– ‘नराम्रो कुरा भन्दा अझै सुधार हुन्छ कि भन्ने आश थियो।’

मितव्ययी अभ्यास

कान्ति बाल अस्पतालमा अहिले पनि एउटा मुख्य समस्या भनेको ‘पैसा’ हो। त्यसैमाथि सरकारले उनकै पालामा बजेट पनि काटिदियो।

२५ करोडभन्दा बढी वार्षिक बजेट पाउँदै आएको कान्तिले त्यो वर्ष १९ करोडमै चित्त बुझाउनुप¥यो।

‘र, पनि मैले अस्पताल चलाउने हिम्मत गरेँ। खर्च कटौती गरेँ। कहाँ–कहाँ पैसो चुहिएको छ, त्यो टाल्ने कोसिस गरेँ,’ राईले सुनाए, ‘स–साना कुराबाट सुधारको सुरुवात गर्नुपर्दाे रहेछ।’

यहाँसम्म कि, इन्धन खर्च बच्छ कि भनेर उनी अस्पताल आउँदा–जाँदा सार्वजनिक बसे चढ्थे।
यो देख्दा धेरै मान्छे हास्थे– ‘नौटङ्की’ भनेर।

तर, पनि डा. राई डगमगाएनन्। ‘त्यो मेरो प्रयास थियो, त्यसैगरी धेरै मितव्ययी बानीको विकास गर्न खोजेको थिएँ,’ पुराना दिन सम्झिन्छन्।
‘प्रशासक’ हुँदा कहिल्यै उनले राम्रा कामको प्रचार गरेनन्। कहिल्यै ती कामको हिसाब पनि गरेनन्।

र, रिटायर्ड हुनुभन्दा अघिल्लो रात उनी घोत्लिए– ‘के–के गरेँ त मैले कान्तिमा?’
धेरै बेर निदाउन सकेनन्।

‘सारा कुरा सम्झिँदा त धेरै राम्रा काम गरेको रैछु,’ र, त्यसपछि मात्रै उनी निदाउन सके।

‘अनि यी आज हासी–हासी जाँदैछु, अब सरकारी सेवा सकियो।’

रिसाएका ‘हुनेखाने’ हरू

कान्ति बाल अस्पताल आर्थिक रूपले ‘हेपिएको’ अस्पताल हो।

बालबालिकाको उपचार गर्ने देशको एकमात्रै ठूलो बाल अस्पताल यही हो। सरकारी अस्पताल भनेर पनि होला विपन्न वर्गका धेरै बिरामी यहाँ आउँछन्। तर, धेरैलाई थाहा हुँदैन कि, अस्पतालमा सहुलियत पाइन्छ भनेर।

राईले देखेका छन् ‘धेरै गरिब बरू आफू भोकभोकै बसेर उपचार गराएर फर्केका छन्।’

तर, धनी र हुनेखाने वर्गकै मानिसले गरिबको त्यो ‘सहुलियत’ भाग पनि खोस्न खोज्छन्।

यो मामलामा डा. राई निकै कडा भए। ‘निःशुल्क’ को सिफारिस माग्न आउने धेरै ‘हुनेखाने’ लाई उनले फर्काइदिए।
‘त्यही भएर होला, मसँग धेरै नेताहरू रिसाए। धेरैले गाली पनि गरे।’

कान्ति–सरस्वतीको मन्दिर

कान्तिमा उनले करिब १७ वर्ष बिताए। धेरै कुरा भोगे, धेरै कुरा सिके।

‘कहिल्यै आफ्नो घरपरिवारको बारेमा धेरै सोच्ने मौका पाइनँ,’ कान्तिप्रतिको उनको लगाव थियो, ‘सुत्दा पनि अस्पतालकै चिन्ता हुन्थ्यो, उठ्दा पनि त्यही चिन्तामा ब्युझिन्थेँ।’

अस्पताललाई धेरैले सिक्ने थलोमात्रै बनाए। सरकारी जागिरे भए पनि कान्तिमा सिक्ने र निजी क्लिनिकमा काम गरेर पैसा कमाउने धेरै डाक्टर–कर्मचारीले भोगे।
तर, डा.राईलाई यो लोभले कहिल्यै छोएन।

‘सरकारी अस्पताललाई सिक्ने थलोमात्रै बनाउने अनि बाहिर काम गरेर पैसो कमाउने, यही स्वार्थले सरकारी अस्पतालको विकास हुन सकेको छैन,’ उनलाई लाग्छ, ‘कान्तिमात्रै होइन, हरेकजसो सरकारी अस्पतालको यो कटु हविगत हो।’

अनि १७ वर्षमा डा. राईले पाएको एउटा ‘ब्रह्मज्ञान’ हो– ‘कान्ति सरस्वतीको मन्दिर।’

‘जबसम्म हामीले आफ्नो कर्मथलोलाई मन्दिरका रूपमा लिँदैनौं तबसम्म हाम्रो पनि भलो हुँदैन,’ राई भन्छन्, ‘जीवनको पहिलो स्वार्थ भनेकै आफ्नो कर्मथलो हुनुपर्छ।’

अबका डा. राई

डाक्टर त डाक्टरै हुन्।

अवकास पछि ऐशआरामको जीवन बिताउने कुनै ऐय्यासी सपना छैनन् डा.राईसँग।

६० पुगेर सरकारले पो विश्राम दियो। ज्यान त छ नि। ६० नै पुगेपनि त्यो बैंशालु जोश अझै उस्तै लाग्छ। स्वस्थ शरीर छ, अनुभवी विगत।
‘सरकारी जागिर त सकियो, अब कुनै निजी अस्पतालमा काम गर्छु होला,’ डा. राई लामो सास तान्दै भन्छन्, ‘परिवार त पाल्नैपर्‌यो। यत्रो अनुभव छ, अझै बिरामीको सेवा त गर्नै छ नि।’

One thought on “‘अनि राईको छोरो डाक्टर बन्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय