जनस्वास्थ्य संघद्वारा गैरचिकित्सक महानिर्देशकको समर्थन, समूह नमिलाई सरुवाको विरोध

हेल्थपोस्ट नेपाल

नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा हेल्थ इन्स्पेक्सन समूहबाट भएको नियुक्तिको स्वागत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोपटक गैरचिकित्सकलाई विभागको नेतृत्व सुम्पिएपछि नियुक्ति विवादित बनिरहँदा संघ नयाँ प्रयोगको समर्थनमा उत्रिएको हो । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघले सोमबार गैरचिकित्सकलाई महानिर्देशक नियुक्तिको विरोध गरेको थियो ।

८ फागुनमा मन्त्रालयले विभागको स्थापनाकालदेखिको अभ्यासलाई तोड्दै हेल्थ इन्स्पेक्सन समूहका महेन्द्र श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेको थियो । नियुक्तिका बखत उनी ११औँ तहको विशेषज्ञका रूपमा कार्यरत थिए । महानिर्देशकका लागि १२औँ तहको प्रमुख विशेषज्ञ आवश्यक हुने भए पनि त्यतिवेला उपलब्ध नभएकाले श्रेष्ठलाई निमित्त जिम्मेवारी दिइएको थियो ।

हाल श्रेष्ठ १२औँ तहमा बढुवा भइसकेका छन् । उनीसँगै डा. रोशन पोखरेल र डा. दीपेन्द्ररमण सिंहको बढुवासँगै स्वास्थ्यका तीनवटै प्रमुख विशेषज्ञ पद पूर्ति भएको छ । गत भदौदेखि मन्त्रालय प्रमुख विशेषज्ञविहीन थियो ।

विभागको गैरचिकित्सक महानिर्देशक अव्यावहारिक मात्र नभई गैरकानुनी भएको चिकित्सक नेताहरूको दाबी छ । विभागमा चिकित्सककै नेतृत्व हुनुपर्ने कार्यविधि रहेको उनीहरू बताउँछन् । यद्यपि, श्रेष्ठको १२औँ तहमा बढुवाले विभागको काममा व्यावहारिक कठिनाइ भने केही कम भएको विश्लेषकहरू बताउँछन् ।

जनस्वास्थ्य संघले महानिर्देशकमा चिकित्सकइतरका समूहका लागि समेत अवसर दिनाले स्वास्थ्य सेवामा समावेशी प्रतिनिधित्व सुनिश्चित भएको भन्दै मन्त्रालयलाई धन्यवाद दिएको छ । स्वास्थ्य सेवाको गुणस्तरीय र प्रभावकारी व्यवस्थापनका लागि नै सेवा–समूहको व्यवस्था गरिएको भन्दै संघले सबैले नेतृत्वको अवसर पाउनुपर्नेमा जोड दिएको छ ।

संघले ८ फागुनको सरुवामा सेवा–समूह नमिलाई जिम्मेवार दिइएको प्रति भने आपत्ति जनाएको छ । मन्त्रालयले महाशाखा प्रमुख तथा केन्द्रहरूका साथै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका निर्देशकहरूको सरुवा तथा जिम्मेवारी हेरफेरका क्रममा स्वीकृत दरबन्दीअनुसारको समूह नमिल्ने गरी केहीलाई जिम्मेवारी दिइएको संघको आरोप छ । यसरी गरिएको सरुवा तथा जिम्मेवारी हेरफेरलाई अविलम्ब सच्याउन संघले माग गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *