नेपाली सुरक्षित छौं, कोरियनबाटै सर्छ कि भन्ने डर छ

दक्षिण कोरियामा करिब ४६ हजार नेपाली रहेको अनुमान छ।

चीनको उहानबाट निकै तीब्र गतिमा फैलिएको कोरोना(कोभिड–१९)ले अहिले दक्षिण कोरियामा पनि त्रसित बनाएको छ।

यहाँका सञ्चार माध्यमहरुले ८ सय ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको र, ८ जना मानिसको मृत्यु भएको रिपोर्ट दिएका छन्।

यसरी तीब्र गतिमा फैलिइरहेको कोरोना भाइरसको त्रास नेपालीमा पनि छ। हामी पनि काम जाँदा होस् या बाहिर पसल जाँदा त्रासमै हुन्छौँ।

म दक्षिण कोरियाको याङ्जु भन्ने ठाउँमा एउटा कम्पनीमा काम गर्छु। अहिलेसम्म हाम्रो एरियामा कोरोनाको संक्रमण देखिएको छैन तर, संक्रमण भएको क्षेत्रबाट ३ जना कोरियनहरु आउने र संगै काम गर्छन्। त्यसले पनि हामीलाई डर भएको छ।

यो कम्पनीमा हामी दुईजनामात्रै नेपाली छौं। वरिपरि त धेरै नेपाली छन्। कम्पनीले सबै कामदारहरुलाई बाहिर धेरै हिँडडुल नगर्न भनेको छ। तर, कोरियनहरु भने बाहिरदेखि नै आउने जाने गरिरहेका हुन्छन्। त्यसले त त्रास बढाइहाल्छ नि।

हामी धेरै बाहिर जाँदैनौं। जानैपरे पनि मास्क लगाएर पसलसम्म जाने गरेका छौं। हामीले आफ्नो तर्फबाट सावधानी त अपनाएका छौं नि तर, कोरियनहरुबाट सर्छ कि भने डर लागिरहन्छ। दूतावासले पनि नेपालीलाई सावधानी अपनाउन भनेको छ।

ख्वाङवन्दोमा मेरो एकजना नेपाली साथी छ। उसको एरियामा ८ जनालाई कोरोना देखिएको छ । उसले झनै डरलाग्दो कुरा सुनायो, उसको कम्पनीमा पनि चारजना कोरियन काम गर्न आउँछन्। उनीहरु मास्क पनि लगाउँदैनन्। उसको कम्पनीमा ७ जना नेपाली काम गर्छन्। ४ जना कोरियन छन्। उनीहरु संक्रमितहरु बढी भएकै क्षेत्रबाट आउने जाने गर्दारहेछन्। त्यसले पनि संक्रमणको डर बढाएको छ।

फेरि ति कोरियनहरु बस्ने ठाउँमा कोरोना भाइरसबाट धेरै मानिस संक्रमित भएका छन्। अनि एकदिन मेरा साथीहरुले भनेछन् ‘तिमीहरु मास्क किन लगाउँदैनौं?’ अनि ति कोरियनहरुले जवाफ दिएछन् ‘हामी त बुढो भइसक्यौं, मरे हामी मर्छौं।’

यसरी हामीलाई कोरियनबाटै कोरोना भाइरस सर्छ कि भन्ने डर छ।

ख्वाङ्जुको एक कम्पनीमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भइसकेको छ। त्यो कम्पनीमा पनि धेरै नेपाली काम गर्छन्।

ति ड्राइभरको मृत्यु भएपछि नेपाली अझैं त्रसित भएका छन्। तर, मृत्यु भएका ड्राइभर र नेपालीबीच त्यस्तै कुनै सम्पर्क थिएन। त्यहाँ काम गर्ने मेरा साथीहरुले बताएअनुसार नेपाली कम्पनीभित्रै बसेर काम गर्छन् भने ड्राइभर बाहिर बाहिर काममा हुन्थे। त्यसैले पनि नेपालीलाई डर त छैन भनेका छन् तर, आफ्नै कम्पनीमा काम गर्ने अर्काे मानिसको मृत्यु भइसकेपछि डर त त्यसै पनि लाग्दोरहेछ।

नेपालीसहित तीन सय जना काम गर्ने त्यस कम्पनीमा सबैले मास्क लगाएर काम गर्छन्। कसैलाई अहिलेसम्म लक्षण देखिएको छैन।

कोरियन सरकारले मृतक ड्राइभरसँग सम्पर्कमा आएका मान्छेहरुको चेकजाँच गर्नुका साथै क्वारेन्टाइनमा राख्ने काम गरिरहेको छ।

दक्षिण कोरियामा सुरुमा २ सैनिकलाई यो भाइरसको संक्रमण देखिएको थियो। उनीहरु हालै थेगुमा घुमेका थिए । थेगुबाटै फैलिएको भाइरसले महामारीको रुप लिन थालेको हो।
थेगुको सेन्चेन्जु चर्चबाट फर्किएका अधिकांस मानिसहरुमा कोरोना भाइरसको लक्षण देखिएको थियो।

अहिले दक्षिण कोरियाका हजारांै मानिसलाई कोरोनाको आशंकामा विशेष निगरानीमा राखिएको छ।

उच्च संक्रमित क्षेत्र थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानियवासीमाथि विभिन्न रोक लगाएको छ।
सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ।

केही साताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु, जन्मदिन जस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणमा अनुरोध समेत गरेको छ।

हाल उक्त सहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था तथा मेट्रो स्टेशनहरु बन्द गर्न सरकारी आदेश आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय