इरानमा कोरोना संक्रमितको मृत्युदर उच्च, ४३ मध्ये ८ ले गुमाए ज्यान, कोरियामा ‘रेड एलर्ट’ जारी

इरानमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले मृत्यु हुनेको संख्या ८ पुगेको छ जब कि जम्मा ४३ जनामा संक्रमण पुष्टि भएको छ । यो कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्युदर (१८.६ प्रतिशत) हो ।

इरानमा गत बुधबारबाट भाइरसको संक्रमण देखिएको थियो । त्यतिवेलासम्म इरान आफू भाइरसबाट मुक्त रहेको बताइरहेको थियो । संक्रमण सुरु भएको केही दिनमै इरान मृत्युको हिसाबले कोरोना भाइरसबाट बढी क्षति बेहोर्ने दोस्रो देश बनेको छ । चीनबाहिर हालसम्म यो नै ठूलो संख्याको मृत्यु हो ।

इरानपछि दक्षिण कोरियामा हालसम्म ५ संक्रमितको मृत्यु पुष्टि भएको छ । कोरियामा हालसम्म ६०२ जना संक्रमित फेलापरेका छन् । कोरियन सरकारले देशमा ‘रेड अलर्ट’ जारी गरेको छ ।

उच्च मृत्युदरसहित संक्रमण महामारीउन्मुख भएपछि इरानका १४ प्रान्तमा आइतबारदेखि विद्यालय, विश्वविद्यालय तथा सांस्कृतिक केन्द्रहरू बन्द गरिएका छन् । त्यहाँको लोकप्रिय फुटबल प्रतियोगिता १० दिनका लागि स्थगित गरिएको छ । इरानमा कोरोना संक्रमणबाट ज्यान गुमाउने सबै इरानी नागरिक भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

इरानमा एक्कासि फैलिएको कोरोनाले विश्व समुदायमा हलचल ल्याएको छ । यसअघि विश्वका करिब ३ दर्जन देशमा भाइरस फैलिँदा त्यसको प्रत्यक्ष ‘कनेक्सन’ चीनसित भेटिएको थियो । तर, इरानमा हालसम्म भेटिएका संक्रमित केही पनि चीन गएर आएको पुष्टि भएको छैन । यद्यपि, भाइरसको संवाहक (क्यारियर) चीन भएर आएको व्यक्ति नै हुन सक्ने अनुमान गरिएको छ । इरानी स्वास्थ्यमन्त्रीले चिनियाँ संवाहक नै इरानमा महामारी स्रोत भएको दाबी गरेका छन् । यदि त्यस्तो नभएमा कोरोना भाइरस नियन्त्रणमा विश्वसामु चुनौती थपिएको छ ।

चीनको हुबेई प्रान्तअन्तर्गत उहानबाट गत डिसेम्बरको अन्तिम सातादेखि देखिएको नयाँ कोरोना भाइरसले शनिबारसम्म चीनमा २,४४२ जनाको ज्यान लिइसकेको छ, जसमा हुबेई प्रान्तका मात्र २,३४६ जना छन् । चीनमा हालसम्म ७६,९३६ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा संक्रमितको मृत्युदर ०.०३ प्रतिशत छ । चीनमा हालसम्म २२,२८८ जना संक्रमित रोगमुक्त भएर अस्पतालबाट घर फर्किसकेको चिनियाँ अधिकारीले बताएका छन् ।

इरानमा पहिलो संक्रमण देखिएको आइतबार पाँचौँ दिन आइपुग्दा ८ जनाको ज्यान गइसकेको छ । इरानमा भेटिएका संक्रमितमध्ये अधिकांश कोम सहरका छन् या त हालसालै कोम भ्रमण गरेका छन् । कोम राजधानी तेहरानको सदरमुकाम हो । पछिल्लोपटक भेटिएका १० मध्ये ८ संक्रमित कोमका छन् । चीनको उहानजस्तै इरानमा कोम सहर सबैभन्दा बढी प्रभावित बनेको छ । यद्यपि, इरानमा कोरोना भाइरसको उद्गमस्थल भने पहिचान भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय