दक्षिण एसियाली स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन विराट मेडिकल कलेजमा सम्पन्न

साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी (सेफग)को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मोरङस्थित विराट मेडिकल कलेजमा दुई दिनसम्म चलेको सम्मेलन शनिबार सम्पन्न भएको हो । सम्मेलन महिलाको तल्लो पेट, प्रजनन तथा पिसाबसम्बन्धी अंगहरूको पुनःसंरचनामा केन्द्रित रहेको आयोजक विराट मेडिकल कलेजले बताएको छ ।

विराट मेडिकल कलेज, साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजीको पूर्वी क्षेत्रीय शाखा र नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)को संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी स्त्री तथा प्रसूतिरोग विशेषज्ञको सहभागिता थियो । सम्मेलनमा महिलाको तल्लो पेट, प्रजनन तथा पिसाबसम्बन्धी अंगहरूको पुनःसंरचनालगायत प्रसूति तथा महिलासम्बन्धी रोग तथा उपचारबारे चकित्सकहरूले ज्ञान तथा सीप आदान–प्रदान गरेको आयोजक विराटले जनाएको छ ।

सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार उद्घाटन गरेका थिए । मन्त्री ढकालले सेफगको सम्मेलनले प्रसूति तथा स्त्रीरोगको उपचारमा थप टेवा पुग्ने बताएका छन् ।

‘सार्क राष्ट्रका देशहरूमा क्रमशः साफोगको सम्मेलन हुँदै जाने भएकाले ती देशहरूमा समेत प्रसूति तथा महिलासम्बन्धी रोगको निदानमा सहकार्य र सहयोगको ढोका खुल्नेछ,’ मन्त्री ढकालले भने, ‘सार्कस्तरीय सम्मेलनहरूले अन्य देशहरूसँगको सम्बन्ध सुधार्नसमेत ठूलो टेवा पुग्नेछ ।’

नेपालमा पहिलोपटक भएको सेफगको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ सहभागी थिए । सम्मेलनमा पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अस्ट्रेलिया, बेलायतलगायत देशबाट विशेषज्ञ चिकित्सकहरूले प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनमा डा. विनीत मिश्रा, डा. कुसम थापा, डा. मोहनचन्द्र रेग्मी, डा. सेरसाह सहिद, डा. आमिरा, डा. रहिला मोसिनलगायतले अनुभव आदान–प्रदान गरेका थिए ।

सम्मेलनमा चिकित्सक टोलीले यौनांग नभएका तथा आवश्यक मात्रामा विकास नभएका बिरामीको यौनांग बनाउने शल्यक्रिया गरेको थियो । गम्भीर प्रकृतिका समस्या भएका महिलामा मूत्ररोगलगायतको सामाधानका शल्यक्रिया सेवा दिइएको आयोजकले जानकारी दिएको छ ।

शुक्रबार १० जना बिरामीमा गरिएको निःशुल्क शल्यक्रियाको प्रत्यक्षप्रसारणसमेत गरिएको थियो । सम्मेलनमा शल्यक्रियाका लागि नाम दर्ता गराएर गर्न बाँकी बिरामीलाई विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले पछि निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय