कोरोनाले दक्षिण कोरिया जाने ४० नेपाली कामदार रोकिए, ५० दिनको भिसा थप्ने तयारी

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदारलाई रोकिएको छ । दक्षिण कोरियामा संक्रमण बढेपछि आगामी साता कोरिया जाने तयारीमा रहेका ४० नेपालीको उडान रोकिएको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार १८ फागुनमा ४० जना नेपाली पठाउने तयारी गरिएको थियो । तर, तत्काल उनीहरूलाई पठाइनेछैन । घरबिदामा आएका र भिसा लागिसकेका कामदारका लागि कोरियाले ५० दिनको भिसा थप गर्ने भएको छ । भिसाको म्यादका कारण श्रमिक नरोकिऊन् भनेर कोरियाले म्याद थपिदिने भएको हो ।

इपिएसमार्फत हालसम्म ६३ हजार २ सय ८० जना नेपाली कोरिया पुगेका छन्, जसमा ३ हजार ७ सय ८१ महिला छन् । गत वर्ष ४ हजार ५ सय ७१ नेपाली कामदार कोरिया गएका थिए । यीबाहेक अध्ययनलगायत अन्य प्रयोजनका लागि पनि नेपाली कोरियामा छन्, जसको यकिन तथ्यांक उपलब्ध छैन ।

सन् २०२० मा करिब ७ हजार नेपाली रोजगारीका लागि दक्षिण कोरिया जाँदै छन् । इपिएस परीक्षामा पास भएकामध्ये ‘स्किल टेस्ट’मार्फत उनीहरूले अनुमति पाएका थिए । इपिएसका लागि लामो समय अध्ययन गरेर समय र पैसा खर्चिएर उड्न तयार भएका नेपाली कामदारलाई कोरोना महामारीले रोकेको छ । यद्यपि, रोगको जोखिमका बीच पठाउनुभन्दा केही समय ढिला गरेरै पठाउँदा उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको हो ।

यसैबीच, संक्रमित क्षेत्रमा समेत नेपाली कार्यरत रहेकाले कोरियास्थित नेपाली दूतावासले सावधानी अपनाउन अपिल गरेको छ ।  दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार हालसम्म त्यहाँ साढे पाँच सयभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

कोरियामा संक्रमण बढिरहेको अवस्थामा थप नेपालीलाई पठाउनु उपयुक्त नभएकाले हालका लागि नपठाइएको शाखाले जनाएको छ । कोरियास्थित दूतावाससँग निरन्तर छलफल भइरहेको र त्यहाँको अवस्थाअनुसार निर्णय लिइने शाखाले बताएको छ ।

नेपाली दूतावासका अनुसार कोरियामा सबैभन्दा बढी थेगु सहर प्रभावित छ, जहाँ करिब १ हजार नेपाली श्रमरत छन् । यद्यपि, हालसम्म कुनै पनि नेपालीमा कोरोनाको संक्रमण नभएको दूतावासको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय