अन्टार्टिकाको तापमानमा कीर्तिमानी वृद्धि, पहिलोपटक २० डिग्री सेन्टिग्रेट नाघ्यो

हेल्थपोस्ट
प्रकाशित
२०७६ फागुन ११ गते १०:१८

पृथ्वीमा गर्मी बढिरहेको छ । दक्षिणी धु्रव (कुमेरु वृत्त)स्थित अन्टार्टिकामा कीर्तिमानी रूपमा बढिरहेको तापक्रमले यसको पुष्टि गर्छ । यतिवेला दक्षिणी ध्रुवमा ग्रीष्म ऋतु (गर्मीयाम) चलिरहेको छ । यस वर्ष अन्टार्टिकाको तापमान २० डिग्री सेन्टिग्रेटभन्दा माथि उक्लिएको छ, जुन हालसम्मकै उच्च हो । ९ फेब्रुअरीमा सेमुर द्वीपमा बनाइएको रिसर्च स्टेसनमा अन्टार्टिकाको तापमान २०.७५ डिग्री सेन्टिग्रेट मापन गरियो ।

ब्राजिलियन शोधकर्ता कार्लोस सिफरले न्युज एजेन्सीलाई बताएका छन्, ‘अन्टार्टिकामा तापमानको कीर्तिमानी चढावलाई पृथ्वीमा बढ्दो तापक्रमको चेतावनीका रूपमा लिन सकिन्छ ।’

फेब्रुअरीमा दक्षिणी ध्रुवमा तापक्रम दोस्रोपटक १८ डिग्री पार
६ फेब्रुअरीमा अन्टार्टिकास्थित एस्परान्जाको अर्जेन्टिनी रिसर्च स्टेसनमा १८.३ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिएको थियो । यद्यपि, दक्षिणी ध्रुवमा मापन गरिएको तापमानको वर्ल्ड मेटोलोजिकल अर्गनाइजेसनबाट पुष्टि हुन बाँकी छ ।

अन्टार्टिकाकार विभिन्न स्थानमा स्थापित रिसर्च स्टेसनहरूमा प्रत्येक तीन दिनमा तापमान मापन गरिन्छ । वैज्ञानिकहरूले तापक्रममा यसकिसिमको बढोत्तरीलाई आश्चर्यजन र असामान्य बताएका छन् । अन्टार्टिकाका २३ साइट्समा जलवायु परिवर्तनको प्रभावको अध्ययन गरिरहेका कार्लोस सिफरले भने, ‘कैयौँ साइट्समा म ‘वार्मिङ ट्रेन्ड’ देखिरहेको छु, तर तापमानमा यसकिसिमको बढोत्तरी कहिल्यै देखिएको छैन ।’

अन्टार्टिकाको दक्षिणी सेटल्यान्ड द्वीप र जेम्स रस द्वीप समूहमा पछिल्लो २० वर्षमा तापक्रममा ठूलो उतार–चढाव देखिएको सिफर बताउँछन् । उनका अनुसार यहाँ २१औँ शताब्दीको पहिलो दशक निकै चिसो थियो तर दोस्रो दशकमा भने तापमान तीव्र गतिमा बढेको छ ।

समुद्री जलधाराको असर हुन सक्ने
अन्टार्टिका कार्यक्रमसित जोडिएका ब्राजिलका वैज्ञानिकहरूका अनुसार दक्षिणी ध्रुवको तापमान वृद्धिमा समुद्री जलधारा र ‘अल निनो’ प्रभाव हुन सक्छ । यतिवेला वायुमण्डलमा जलवायुसम्बन्धी परिवर्तन देखिइरहेको छ । यसले पनि दुई ध्रुवको तापमान बढेको हुन सक्ने वैज्ञानिकको भनाइ छ ।

अन्टार्टिका क्षेत्रमा संसारको ७० प्रतिशत ताजा पानी
अन्टार्टिका ६० डिग्री र त्यसदेखि माथि दक्षिणी अक्षांशमा अवस्थित क्षेत्र हो । यहाँ संसारको ७० प्रतिशत ताजा पानी उपलब्ध छ, जुन हिउँका रूपमा जमेर रहेको छ । बढ्दो तापमानकका कारण यदि यहाँका सबै हिमताल पग्लिएमा समुद्री सतह ५० देखि ६० मिटर माथि उठ्ने अनुमान छ । यस्तो अनिष्ट भएमा एकातर्फ समुद्री किनारमा अवस्थित अधिकांश देश डुवानमा पर्नेछन् भने अर्कोतर्फ समग्र पारिस्थितिक प्रणालीमा यसको भयानक असर पर्नेछ । जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लिरहँदा माल्दिभ्सलगायत कतिपय देश विश्वमानचित्रबाटै मेटिने खतरामा छन् ।

संयुक्त राष्ट्रसंघ (युएन)का वैज्ञानिकको अनुमान छ कि– २१औँ शताब्दीको अन्तसम्म समुद्री सतह ३० देखि ११० सेन्टिमिटरसम्म माथि आउनेछ । यसलाई रोक्न जुनसुकै मूल्यमा अहिलेदेखि नै उत्सर्जन रोक्नु आवश्यक रहेको वैज्ञानिकको भनाइ छ ।

उत्तरी ध्रुवमा पनि गर्मी
पृथ्वीको दक्षिणी ध्रुवमा मात्र नभई उत्तरी ध्रुव आर्कटिक (सुमेरु वृत्त)मा पनि तापमान बढिरहेको छ । वर्ल्ड मिटिओरोलोजिकल अर्गनाइजेसनका प्रवक्ता क्लेयर नेलिस भन्छन्, ‘सन् १९७९ देखि २०१७ सम्म अन्टार्टिकाको हिउँमा प्रतिवर्ष ६ गुणाले कमी आयो । सन् २०१९ को जुलाईमा उत्तरी ध्रुव आर्कटिक सर्कलमा क्यानडाका एल्समेयर आइसल्यान्डमा २१ डिग्री सेन्टिग्रेट तापमान रेकर्ड गरिएको थियो ।

मानवीय क्रियाकलाप तथा प्रकृतिमाथिको दबाबका कारण सिर्जित जलवायु परिवर्तनको घातक प्रभाव आज विश्वको प्रमुख चुनौती बनिरहेको छ । यद्यपि, प्रकृतिविरोधी मानवीय क्रियाकलाप भने रोकिएको छैन । एकभन्दा अर्को शक्तिशाली बन्ने शक्तिराष्ट्रहरूको होडबाजीका कारण उत्सर्जन भइ नै रहेको छ भने विकासका नाममा प्रकृतिमाथि दिनहुँ दबाब थपिँदै छ ।

जलवायु परिवर्तनसित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा केही प्रयास पनि भएका छन्, तर पर्याप्त छैनन् । यसै सन्दर्भमा विश्वकै सबैभन्दा धनी व्यक्ति अमेजनका सिइओ जेफ बेजोसले १० अर्ब डलर (११ खर्ब ४० अर्ब ९० करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो कुल नेटवर्थको ७.७ प्रतिशत धनराशिको ‘बेजोस अर्थ फन्ड’को सुरुवात गर्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय