कोभिड–१९ः नेपाल जोखिममै छ, पूर्वतयारीमा जुटौँ

चीनमा महामारीको रूप लिइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) धेरै देशमा फैलिएको छ । भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित क्षेत्र उहान सहरबाट १७५ जनालाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएको छ । उनीहरू कसैलाई पनि संक्रमण देखिएको छैन ।

चीन गएका नेपाली नागरिक हुन् वा चिनियाँ पर्यटक, दिनहुँ नेपाल भित्रिरहेका छन् । सरकारले एकातर्फ नेपाल कोरोना भाइरसमुक्त भएको प्रचार–प्रसार गरिरहेको छ । तर, नेपाल भाइरसबाट मुक्त रहन सक्दैन । चीनबाट फर्किएका नागरिकलाई उचित रूपमा क्वारेन्टाइनमा राख्न सकिएको छैन । यसले भाइरसको जोखिम बढी नै हुन्छ ।

त्रिभुवन विमानस्थलमा आउने नागरिकमा स्क्रिनिङ तथा अन्य चेकजाँच फितलो रहेको अवस्थामा नेपाल भाइरस फैलिने उच्च जोखिम क्षेत्र हो । केही कारणले भाइरस फैलिएको खण्डमा यसले भयावह निम्ताउने निश्चित छ ।
हालसम्म चीनमा २ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने ७५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यति छोटो अवधिमा धेरै ज्यान लिन सक्ने यो महामारी नेपाल भित्रिएको खण्डमा यसले ठूलो क्षति पुर्याउने निश्चित छ । नेपाल यो भाइरसको उच्च जोखिम क्षेत्र नै हो । हामीले यसतर्फ ध्यान दिनु जरुरी छ ।

नेपालमा भाइरस भित्रिएको अवस्थामा नियन्त्रण धरै गाह्रो छ । भाइसरबाट बच्न हात धुनु तथा मास्कको प्रयोग महत्त्वपूर्ण हुन्छ । तर, मास्ककै अभाव भइरहेको छ । साधारणखाले माक्स पनि नेपालका सबै भेगमा उपलब्ध छैनन् ।

चीनमा १० दिनको बीचमा ठूला अस्पतालका निर्माण भए । तर, हाम्रो सन्दर्भमा यो धेरै गाह्रो कुरा हो । नेपालमा अस्पताल आजको भोलि बनाउन सक्ने अवस्था छैन । त्यसैले रोग भित्रिनुअघि नै पूर्वतयारी थाल्नु परिहार्य छ । उदाहरणका लागि आगो लागिसकेपछि कुवा खन्नुभन्दा पहिले नै खनेर राख्न सकियो भने हामी आगो निभाउन समर्थ हुन्छौँ । त्यसैले भाइरस भित्रिने उच्च जोखिमका बीच हामीले नियन्त्रणका लागि अस्पताल, स्वास्थ्यकर्मी परिचालन, प्रविधिको व्यवस्थापनमा आजैबाट लाग्नुपर्छ ।

केही गरी पूर्वाञ्चलमा भाइरस संक्रमण भएको शंका लागेमा परीक्षणसमेत गाह्रो छ । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र यसको ल्याब परीक्षण गर्न सकिन्छ । शंकास्पद व्यक्तिको नमुना पठाएर प्रयोगशालामा रिपोर्ट आउन लाग्ने समयभित्र उसले अन्य व्यक्तिमा संक्रमण गराउन सक्छ । यस्तो भयो भने एकपछि अर्को गर्दै संक्रमित बढ्दै जान्छन् ।

नेपाल भित्रिने जति पनि नाका र बाटा छन्, त्यहाँबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्न सकिएन भने यो भाइरसले महामारीको रूप लिने जोखिम छ । नेपालमा यसको उपचारका लागि सबैतिर उपकरण पनि उपलब्ध छैनन् भने जाँच गर्ने प्रविधि पनि छैन ।

कोभिड–१९ को संक्रमण भए–नभएको प्रमाणित गर्न खकारको परीक्षण गरिन्छ, तर चेकजाँचको प्रविधि सबैतिर पुग्न सकेको छैन । केन्द्रीय प्रयोगशालामा पनि भाइरसले छिमेकी देशमा महामारीको रूप लिइसकेपछि मात्र परीक्षण सुरु गरिएको हो ।

यो भाइरस सामान्य रुघाखोकी, ज्वरोबाट सुरु हुन्छ । भाइरसको संक्रमण बढ्दै गएपछि निमोनिया तथा शरीरका विभिन्न अंग फेल हुने हुन्छ । उचित नियन्त्रण गर्न सकिएन भने यसले संक्रमितलाई चाँडै ‘सिभियर’मा पुर्याउँछ ।

संक्रमितलाई आइसोलेसन कक्षमा राख्नुपर्ने हुन्छ, तर नेपालमा आइसोलेसन कक्ष केही ठूला अस्पतालमा मात्र उपलब्ध छन् । यसको पूर्वतयारी पहिले नै गर्नु जरुरी छ ।

यो भाइरसले सबै संक्रमितको ज्यान लिँदैन । पहिलेदेखि नै दीर्घरोग रहेका, वृद्धवृद्धामा भाइरसको संक्रमण बढी पाइएको छ । प्रतिरक्षात्मक क्षमता कम भएका व्यक्तिमा यसको मृत्युदर बढी छ ।

नेपालमा कोभिड–१९ को एउटा केस प्रमाणित भएको थियो । उपचारपछि ‘रिकभर’ भएर संक्रमण ‘नेगेटिभ’ आएको छ । तर, फेरि कुनै च्यानलबाट आयो भने भाइरसलाई नियन्त्रण गर्न गाह्रो छ । हालको अवस्था नियन्त्रणकै हो, तर भाइरस भित्रिँदैन भन्न सकिने अवस्था भने छैन । नियन्त्रणका लागि अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ ।

पहिले देखिएका सार्स, मर्सजस्ता भाइरसभन्दा अहिलेको कोभिड–१९ बढी खतरनाक पाइएको छ । सन् २००२ मा सार्स लामो समयसम्म फैलिँदा पनि यति मानिसको मृत्यु भएको थिएन । कोभिड–१९ कोरोनाका पहिलेका प्रजातिभन्दा बढी नै कडा छ । यति छोटो अवधिमा धेरै मानिसको मृत्यु भएको छ । यो भाइरस बढी सर्नेखालको छ । लक्षण देखिनुअघि नै पनि यसले संक्रमण गराइसकेको हुन सक्छ । यसमा एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना उच्च छ । यसैका कारण नै धेरै मानिस संक्रमित भई बढी मृत्यु भइरहेको छ ।

कोभिड–१९ ले तुरुन्तै मानिसलाई सिकिस्त बनाउन सक्छ । विभिन्न अंगहरू फेल (मल्टी अर्गान फेल्युअर) गराउन सक्छ, जुन पहिलेका संक्रमणमा भन्दा निकै चाँडै भइरहेको छ ।

कोभिड–१९ मा सुरुको अवस्थामा रुघाखोकी लाग्ने, १०४ डिग्रीसम्म ज्वरो आउने हुन्छ । संक्रमण भएपछि यसले छिटो निमोनियाको फेजमा पुर्याउँछ । आज लक्षण देखिएको अवस्थामा एक–दुई दिनमै ‘सिभियर’ अवस्थामा पुर्याउन सक्छ । यसले खोकी, श्वास–प्रश्वासमा समस्या, अंगहरूमा समस्या निम्त्याउँछ ।

भाइरसबाट बच्न
– बिरामी तथा रुघाखोकी लागेका मानिसको सम्पर्कमा नआउने,
– मास्क लगाएर मात्र हिँड्ने,
– सकभर भिडभाडमा नजाने,
– साबुनपानीले बारम्बार हात धुने, साबुनपानी उपलब्ध नभएमा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने,
– जीवित वा मृत जनावर तथा खासगरी नपकाएको मासुको सम्पर्कबाट टाढा रहने,
– अण्डालगायत पशुजन्य पदार्थको राम्ररी पकाएर मात्र सेवन गर्ने,
– संक्रमित क्षेत्रको सकेसम्म भ्रमण नगर्ने,
– रुघाखोकी र ज्वरोको लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्यसंस्थामा जाने,

 

लेखक विराट मेडिकल कलेजका फिजिसियन हुन्।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय