विराट मेडिकल कलेजमा ‘युरोगाइनोकोलोजी’को अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

साउथ एसियन फेडरेसन अफ युरोगाइनोकोलोजी (सेफग)को अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । मोरङस्थित विराट मेडिकल कलेजमा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो ।

विराट मेडिकल कलेज, साउथ एसियन फेडरेसन युरोगाइनोकोलोजीको पूर्वक्षेत्रीय शाखा र नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग)को संयुक्त आयोजना बिहीबारदेखि सुरु हुने सम्मेलनमा महिलाको तल्लो पेट, प्रजनन तथा पिसाबसम्बन्धी अंगहरूको पुनःसंरचनाबारे छलफल हुनेछ ।

आयोजनका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्ने सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत अन्य मन्त्रीको समेत सहभागिता रहनेछ । सम्मेलनको उद्घाटन शुक्रबार बेलुकी साढे ५ बजे हुने आयोजक समितिले जनाएको छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन शनिबार प्रतिबद्धतासहितको श्वेतपत्रसमेत जारी गर्ने कार्यक्रम छ ।

को–को हुँदै छन् सहभागी ?
नेपालमा पहिलोपटक हुन लागेको सेफगको अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बन्धि विधाका १५० भन्दा बढी वरिष्ठ चिकित्सक सहभागी हुँदै छन् । पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अस्ट्रेलिया, बेलायतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञको सहभागिता रहनेछ ।

सम्मेलनमा विराट मेडिकल कलेजले निःशुल्क शल्यक्रियाको समेत व्यवस्था गरेको छ । हालसम्म प्रदेश १ र प्रदेश २ बाट ४० जनाभन्दा बढीले निःशुल्क शल्यक्रिया सेवा लिन नाम दर्ता गराएको विराट मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ ।

चिकित्सक टोलीले यौनांग नभएका तथा अविकसित भएकामा यौनांग बनाइदिने तथा गम्भीर प्रकृतिका समस्या भएका महिलामा मूत्ररोगलगायतको सामाधानका शल्यक्रियालगायत आवश्यक सेवा दिनेछ । साथै, सम्मेलनमा चिकित्सकबीच ज्ञानको आदान–प्रदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय