खरीपाटी ‘क्वारेन्टाइन’ र तर्सिएको बस्ती

भक्तपुरको खरीपाटी अहिले चर्चामा छ, कारण अरु होइन, चीनको उहानबाट फर्काइएका नेपालीलाई त्यहाँ राखिएको छ।

बाँसघारी टोल। त्यही टोलमा नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र छ, जहाँ उहानबाट ल्याइएका नेपालीलाई ‘क्वारेन्टाइन’मा राखिएको छ।

चीनको उहान सहरबाट तीब्रगतिमा फैलिइरहेको कोरोना भाइरस(कोभिड–१९)का कारण थुनिएका नेपालीलाई आइतबार बिहान यहाँ ल्याइएको हो।

तर, सरकारले स्थानीयलाई राम्रोसँग बुझाउन सकेन। उनीहरुलाई त्यहाँ राख्ने कि नराख्ने भन्नेबारेमा विवादहरु नभएका होइनन् तर, ‘मानवीय संवेदना’ जोडिएको यो विषय त्यत्तिधेरै विवादित भएन।
अहिले टोल दिनदिनै जसो सुनसान हुँदैछ।

उहानबाट फर्किएका १ सय ७५ जना नेपाली अहिले त्यही ‘क्वारेन्टाइन’मा छन्।

वरिपरिका अधिकांश घरहरुमा भने मंगलबार पनि ताला लगेको देखियो।

छेउछाउका चिया पसलहरुमा मानिसको भीड लगभग छैन। वरिपरिका केही घरहरुमा वृद्धवृृद्धामात्रै भेटिए।

हेल्थपोस्ट नेपालको टीम मंगलबार त्यहाँ पुग्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनको ‘निरीक्षण’ गरेर फर्किँदै थिए।

उनीहरुलाई त्यहाँ ल्याउनासाथ टोलका मानिसले घर छोड्न थालेपछि मंगलबार बिहानै भक्तपुरकी प्रमुख जिल्लाअधिकारी हुमकला पाण्डे स्थानीयलाई सम्झाउन पुगेकी थिइन्।

‘यहाँका मान्छे त सबै हिँड्न थाले, धेरै घरमा ताला लागिसकेको छ’ पसल कुरिरहेका एक युवकले भने ‘खै रोग सर्छ भन्ने डरले हो कि?’

यद्यपि यहाँ राखिएका १ सय ७५ नेपालीमध्ये अहिलेसम्म कसैलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको छैन।

उनीहरुलाई चीनमै पनि परीक्षण गरेर यहाँ ल्याइएको हो।

नजिकै एक घरमा भेटिएकी ७० वर्षीया महिला भन्दै थिइन् ‘तपाइँहरु पनि भित्रै गएर आउनुभाको, टोलका मान्छे त ताला लगाएर हिँडे त?’
हामीले सोध्यौँ, ‘तपाई त घरमै हुनुहुँदोरहेछ नि?’

‘हामी त डुब्न लागेको घाम । आज हो कि भोलि’ उनी भन्दैथिइन् ‘छोरा– नातिलाई केहि नभए हुन्थ्यो।’

उनीहरुलाई रोग लागेरै त्यहाँ राखिएको होइन। आम टोलवासीलाई भने लागेको छ ‘यो पक्कै हामीलाई पनि सर्छ।’ ति महिला पनि भन्दै थिइन् ‘विदेशतिर त यो रोगले धेरै मान्छे मरेका छन् रे!’

क्वारेन्टाइन वरिपरि सुरक्षाकर्मी राखिएको छ। कसैलाई पनि भित्रबाहिर गर्न दिइएको छैन।

त्यत्तिकैमा एक जना मानिस केही सामान लिएर आए। उनलाई सुरक्षाकर्मीले रोके।

ती व्यक्तिले क्वारेन्टाइनमा भएका आफन्तका लागि केही सामानहरु ल्याइदिएका थिए।

सुरक्षाकर्मीले चेकजाँच गरेपछि ‘हामी पुर्‌याइदिन्छौं’ भन्दै सामान राखेर उनलाई फर्काइदिए।

स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइन पुगे
केहीबेरपछि साइरन बजाउँदै केही एक हुल गाडीको लश्कर तालिम केन्द्रभित्र छिर्यो।

त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको टोली थियो।

मन्त्रीले क्वारेन्टाइनको अनुगमन गरे।

बाहिर निस्किएर उनले वस्तीका मानिसलाई पनि नआत्तिन भने।

‘चीनमा हुँदा किन नेपाल ल्याइनस् भनेर विरोध गर्छन्, यहाँ ल्याउँदा हाम्रो घर अगाडीको बाटो ल्याउलास्! भन्छन् मन्त्री ढकालले भने, ‘हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको छ ।’
यहाँ आउने थप समस्यालाई राज्यको तर्फबाट सहकार्य गर्ने प्रतिबद्ध रहेको मन्त्री ढकालले बताए ।

चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुयाँलले क्वारेन्टाइनमा रहेका सबै नेपाली हालसम्म पुर्णरुपले स्वस्थ रहेको बताए ।
डा. फुयाँलका अनुसार उनीहरुको २४ घण्टामा दुई पटक बिहान र बेलुका शरीरको तापक्रम नाप्नुका साथै सबै निगरानी गरिएको छ ।

तालिक केन्द्रको दक्षिणतर्फ रहेको क्यारेन्टाइनमा ब्लक, ए,बी र सी गरि विभाजन गरिएको छ ।

ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टरको भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मि राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय