चीनमा उद्योग नचल्दा भारतमा औषधिको मूल्य ७० प्रतिशतसम्म वृद्धि, नेपालमा के छ अवस्था ?

डेढ महिनाभन्दा लामो समयदेखि चीनमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) का कारण उद्योगहरू बन्द हुँदा औषधिको अन्तर्राष्ट्रिय बजार प्रभावित भएको छ । चीनमा उद्योग नचल्नुको असर छिमेकी देश भारतमा प्रत्यक्ष देखिएको छ । विश्वकै ठूलो बजारमध्ये रहेको भारतमा यतिवेला अत्यावश्यक प्यारासिटामोलको मूल्य करिब डेढगुणा पुगेको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार चीनबाट आपूर्ति बन्दा भएका कारण भारतमा अत्यावश्यक प्यारासिटामोलको मूल्य ४० प्रतिशतले बढेको छ । भारतीय अधिकारीका अनुसार ब्याक्टेरिलय इन्फेक्सनमा प्रयोग हुने एन्टिबायोटिक ‘एजिथ्रोमाइसिन’को मूल्य ७० प्रतिशतले वृद्धि भएको छ । मार्चको पहिलो सातासम्म चीनमा उद्योग सञ्चालनमा आई आपूर्ति सुरु नभएमा भारतीय फर्मा इन्डस्ट्री (औषधि उद्योग) ‘इन्ग्रिडिएन्ट्स’ (कच्चापदार्थ)को कमी हुने अधिकारीले जनाएका छन् ।

एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडिएन्ट्स (एपिआई)को आयातमा भारतको चीनमाथिको निर्भरता अत्यधिक छ । कुनै औषधि बनाउन एपिआई सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसको आयातमा भारतको चीनमाथिको निर्भरता प्रतिवर्ष बढ्दै आएको छ ।

भारतको कमर्सियल इन्टेलिजेन्स एन्ड स्ट्याटिस्टिक्स महानिर्देशनालयका अनुसार सन् २०१६–१७ मा भारतले एपिआई सेग्मेन्टमा १ अर्ब ९६ करोड ५३ लाख २५ हजार भारतीय रूपैयाँको आयात गरेको थियो, जसमा ६६.६९ प्रतिशत चीनबाट मात्र भित्र्याएको थियो । २०१७–१८ मा भारतको आयात २ अर्ब १४ करोड ८१ लाख पुग्यो, जसमा चीनको हिस्सेदारी ६८.३६ प्रतिशत थियो ।

भारतले २०१८–१९ मा एपिआई र थोक औषधिको आयातमा २ खर्ब ५५ करोड ५२ लाख भारतीय रूपैयाँ खर्च गरेकोमा आधिकांश आयात चीनबाटै भएको छ । पछिल्लो ३ वर्षको अवधिमा औषधिको क्षेत्रमा भारतको चीनमाथिको निर्भरता २३ प्रतिशतले भारतको तथ्यांकले देखाएको छ ।

किन छ भारत चीनमा निर्भर ?
भारत एपिआई र बल्क ड्रग्स (थोक औषधि)मा चीनमाथि निर्भर हुनुमा उत्पादन लागत र मूल्य नै प्रमुख कारण हो । भारतको रसायन एवम् उर्वरक मन्त्रालयअन्तर्गतको डिपार्टमेन्ट अफ फर्मास्युटिकल्सका अनुसार उत्पादन लागतका हिसाबले चीनबाट आउने एपिआई र बल्क ड्रग्स भारतीय औषधि कम्पनीका लागि निकै फाइदाजनक हुन्छ ।

चीनमा एपिआई उत्पादनको लागत भारतमा भन्दा २० देखि ३० प्रतिशत सस्तो पर्छ । भारतमा एपिआई उत्पादन एकाइले आफ्नो क्षमताको ३० प्रतिशत मात्र काम गरिरहेको छ भने चीनमा क्षमताको ७० प्रतिशत उत्पादन भइरहेको छ । भारतमै उत्पादित एपिआईको प्रयोग गरेर औषधि उत्पादन गर्दा नाफा ज्यादै कम हुने भएकाले भारतीय कम्पनीले चीनबाट एपिआई आयात गरी औषधि उत्पादन गरेर अन्य देशमा निर्यात गर्दै आएका छन् ।

– नेपाली औषधि उद्योगले सबैजसो कच्चापदार्थ आयात गर्छन्
– नेपाली औषधि बजारमा स्वदेशी उत्पादनको हिस्सा ४५ प्रतिशत
– औषधिमा नेपालको भारतमाथिको निर्भरता ५२ प्रतिशत
– कोरोनाले चीनमा उद्योग नचल्दा अन्तर्राष्ट्रिय बजार प्रभावित
– भारतमा प्यारासिटामोलको ४०, एजिथ्रोमाइसिनको ७० प्रतिशत मूल्यवृद्धि
– ३–४ महिनालाई ‘स्टक’ले धान्ने औषधि व्यवस्था विभागको आकलन

विश्वबजारमै प्रभाव
चीनमा उद्योग नचल्दा भारत मात्र नभएर विश्वभर नै औषधिको आपूर्ति प्रभावित भएको छ । भारतीय अधिकारीका अनुसार आउँदा दिनमा एपिआईको मूल्य अत्यधिक बढ्न सक्छ ।

विश्वमा जेनेरिक औषधिको आपूर्तिमा भारत सबैभन्दा अगाडि छ । अमेरिकी बजारमा औषधि आपूर्ति गर्नेमध्ये १२ प्रतिशत ‘म्यानुफ्याक्चरिङ साइट्स’ भारतमा छन् । भारतले ८० प्रतिशतसम्म फर्मा इन्ग्रिडिएन्ट्स चीनबाट आयात गर्छ ।

नेपालमा सोझो असर, तर ‘स्टक’ले करिब ३ महिनालाई राहत दिने आकलन छ : महानिर्देशक ढकाल
चीनमा उद्योग नचल्दा भारत र बाँकी दुनियाँसँगै नेपाली औषधि बजारमा पनि सोझो असर पुग्ने देखिएको छ । स्वदेशी कम्पनीको उत्पादनले नेपाली औषधि बजारको ४५ प्रतिशत मात्र माग धानिरहेको छ । त्यसमा पनि नेपालमा उत्पादन हुने सबैजसो औषधिको कच्चापदार्थ आयात हुने गरेको छ । नेपालले मूलतः भारत, चीन र बंगलादेशबाट कच्चापदार्थ आयात गर्दै आएको छ ।

भारतमा अत्यावश्य औषधिको मूल्य अकासिरहँदा नेपालमा प्रत्यक्ष प्रभाव पर्ने भए पनि तत्कालका लागि भने समस्या नदेखिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए ।
‘चीन र भारतको प्रभाव नेपाली औषधि बजारमा नपर्ने त कुरै भएन,’ महानिर्देशक ढकालले हेल्थपोस्टसित भने, ‘तर, तत्काल भने असर देखिसकेको छैन ।’

चीनमा उद्योग नचल्नुले र भारतीय बजार प्रभावित हुनुले आयात औषधिमा मात्र नभई नेपाली उत्पादनमा समेत प्रत्यक्ष प्रभाव पर्ने उनले बताए । ‘नेपाली उत्पादनमा पनि सबैजसो कच्चापदार्थ आयात हुने गरेको छ,’ ढकालले भने, ‘यसले नेपाली उत्पादनले कच्चापदार्थको अभाव झेल्ने र आयात औषधि पनि मूल्य बढेर आउने देखिएको छ ।’

विभागका अनुसार नेपालले चीनबाटै पनि ठूलो परिमाणमा कच्चापदार्थ आयात गर्दै आएको छ । चीनमा उद्योग नचल्दा भारत, बंगलादेशलगायत अन्य मुलुकमा समेत औषधि बजार प्रभावित बन्ने भएकाले नेपाललाई कच्चापदार्थको संकट आइपर्न सक्ने वा उच्च मूल्य खर्चिएर आयात गर्नुपर्ने अवस्था आउन सक्ने महानिर्देशक ढकाल बताउँछन् ।

‘बदलिँदो अवस्थालाई मध्यनजर गरेरै हामीले उत्पादक र व्यवसायीहरूलाई बोलाएर बैठक राखिसकेका छौँ,’ महानिर्देशक ढकालले भने, ‘उहाँहरूले उपलब्ध गराएको स्कटको विवरणअनुसार ३–४ महिनालाई समस्या देखिएको छैन ।’ यद्यपि, एक–दुईवटा औषधिमा भने आकस्मिक रूपमा समस्या आउन सक्ने उनको भनाइ छ ।

‘यसबीचमा पनि एक–दुईवटा आइटममा भने ‘सर्टेज’को असर पर्न सक्छ,’ उनले भने, ‘चीनले १५–१५ दिनमा अवस्थाको अद्यावधिक गर्ने भएकाले अघिल्लो अवस्थालाई (मार्चको) हेरेर रणनीति बनाउँदै छौँ ।’

नेपाली औषधि उद्योगले सबैजसो कच्चापदार्थ विदेशबाट आयात गर्दै आएका छन् । यसरी स्वदेशमै उत्पादित औषधिले नेपाली बजारको आधा माग पनि सम्बोधन गर्न सकेको छैन । पछिल्लो तथ्यांकअनुसार नेपाली बजारमा ४५ प्रतिशत औषधि मात्र स्वदेशी कम्पनीका विक्री हुँदै आएका छन् ।

औषधिमा नेपालको भारतमाथिको निर्भरता ५२ प्रतिशत छ । बाँकी ३ प्रतिशत नेपालले बंगलादेशलगायत अन्य मुलुकबाट आयात गर्दै आएको छ । त्यसैले भारतमा औषधि तथा कच्चापदार्थको मूल्य अकासिँदा तथा कच्चापदार्थको अभाव हुँदा त्यसको सोझो प्रभाव नेपालमा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय