चीनमा ६ दिनभित्र मास्क फ्याक्ट्री निर्माण सम्पन्न गर्न काम सुरु, प्रतिदिन साढे २ लाख थान उत्पादन हुने

डेढ महिनादेखि कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहँदा चीनमा मास्कको अभाव चुलिएको छ । मास्को बढ्दो मागलाई सम्बोधन गर्न चीनले ६ दिनभित्र नयाँ मास्क फ्याक्ट्री निर्माण गर्ने भएको छ । दैनिक २ लाख ५० हजार थान उत्पादन क्षमताको सो फ्याक्ट्री निर्माणको काम सोमबारबाट सुरु भएको चिनियाँ अधिकारीले जनाएका छन् ।

चीनले एक औद्योगिक भवनमा मास्क फ्याक्ट्री बनाउन लागेको हो । फ्याक्ट्रीको निर्माण चाइना फर्स्ट कन्स्ट्रक्सन ग्रुपले थालेको छ । सोमबार निर्माण सुरु गरिएको फ्याक्ट्री शनिबारसम्म सम्पन्न हुने र आइतबारदेखि उत्पादन सुरु गर्ने योजना छ । यसैबीच, नेपाल सरकारले गत साता चीन सरकारलाई एक लाख थान मास्क सहयोग गरेको थियो ।

यसअघि चीन सरकारले कोरोना संक्रमितको उपचारका लागि १० दिनको बीचमा हजार बेडको अस्पताल निर्माण सम्पन्न गरेर दुनियाँलाई चकित बनाइदिएको थियो । हाल चीनले कोरोना संक्रमितको उपचारका लागि विभिन्न स्थानमा गरी करिब ६ हजार बेडको अस्थायी अस्पतालहरू सञ्चालनमा ल्याएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति आफ्नो देशमा स्वास्थ्य प्रणाली निकै कमजोर साबित भएकाले कानुनमा परिवर्तनको आवश्यकता औँल्याइरहेका छन् ।

छिमेकी देश चीन भाइरसले आक्रान्त भइरहँदा नेपालमा पनि सावधानी र बचाउका उपाय अवलम्बन गर्न थालिएको छ । यसक्रममा नेपालमा पनि मास्कको माग ह्वात्तै बढेको छ । बढ्दो माग र भारत र चीनले मास्क निर्यातमा लगाएको रोकका कारण नेपाली बजारमा मास्क न्यून भएको हो ।

बढ्दो मागको फाइदा उठाउँदै मास्कको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ । केही साताअघिदेखि नै बजारमा कृत्रिम अभाव सिर्जना गरेर चर्को मूल्यमा मास्क विक्री गर्न व्यापारीहरू सक्रिय गरेको पाइएको छ । यद्यपि, नेपाल सरकारले यसअघि नै मास्को कारोबजारी नगर्न उत्पादक तथा व्यापारीलाई सचेत गराइसकेको छ ।

नेपाली खुद्रा बजारमा प्रतिथान ५ रुपैयाँमा विक्री हुँदै आएको साधारण मास्क १५ देखि २५ रुपैयाँसम्म विक्री गरिँदै छ । हेलसेल मूल्य ९० देखि १०० रुपैयाँ रहेको एक बट्टा साधारण मास्क ५०० रुपैयाँआसपासमा विक्री भइरहेको र त्यो पनि सबैको पहुँचमा नभई लुकी–छिपी कारोबार भइरहेको क्षेत्रपाटीस्थित एक एक होलसेलर बताउँछन् । भाइरसबाट प्रतिरक्षाका मापदण्ड तोकिएका गुणस्तरीय मास्कको हकमा भने अभावकै अवस्था रहेको उनको भनाइ छ ।

चीनमा कोभिड–१९ संक्रमणबाट मृत्यु संख्या १७७० पुग्यो, ७०,५१९ मा संक्रमण पुष्टि
चीनमा कोरोना भाइरस डिजिजको संक्रमणबाट मृत्यु हुनेको संख्या १७७० पुगेको छ । आइतबार (२४ घण्टाभित्र) १०० संक्रमितको मृत्यु भएको र १६९६ नयाँ संक्रमित फेलापरेको चीनको हेल्थ कमिसनले पुष्टि गरेको छ । यससँगै चीनमा कोरोना संक्रमितको संख्या ७० हजार ५ सय १९ पुगेको छ ।

कोभिड–१९ को उद्गमस्थल तथा सबैभन्दा बढी प्रभावित क्षेत्र हुबेई प्रान्तमा मात्र ५८ हजार १ सय ८० जनामा संक्रमण पुष्टि भइसकेको छ, जसमा ६ हजार ६ सय ३० जनाले स्वास्थ्यलाभ गरेका छन् । गत डिसेम्बरको अन्तिम साता हुबेई प्रान्तको उहान सहरमा पहिलो संक्रमित भेटिएका थिए । महामारीका कारण उहानलगायत चीनका ३० भन्दा बढी सहर करिब ४ सातादेखि बन्द छन् ।

चीनबाहिर हालसम्म कोरोना संक्रमणले ४ जनाको ज्यान गएको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एकजना संक्रमितको मृत्यु भएको हो ।

छिमेकी देश भारतमा भने ३ जनामा कोरोना संक्रमण देखिएकोमा सबैको स्वास्थ्मा सुधार आइरहेको बताइएको छ । केरल प्रान्तमा संक्रमण पुष्टि भएका ३ मध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएको भारतीय अधिकारीले जनाएका छन् । अर्का एक संक्रमितको पनि स्वास्थ्यमा सुधार आइरहेको अधिकारीको भनाइ छ ।

हुबेईबाट उद्धार गरेर भारत लगिएका भारतीय कसैमा पनि संक्रमण नरहेको भारतीय अधिकारीले जनाएका छन् । १४ दिनको क्वारेन्टाइनको अन्तमा गरिएको रगतको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई सोमबारदेखि क्रमिक रूपमा घर पठाउने तयारी गरिएको छ । हुबेईबाट एयरलिफ्ट गरिएका ४०६ जनामा संक्रमण नपाइएको आइतबार सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय