स्वास्थ्य बिमा बोर्डको सदस्यबाट डा. सतिसले दिए राजीनामा, सचिव बरालसित चुलिएको थियो विवाद

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन ५ गते १४:५८

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका सदस्य सहप्रा.डा. सतिसकुमार देवले पदबाट राजीनामा दिएका छन् । डा. देवले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष इमेलमार्फत राजीनामा पठाएका हुन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गत महाराजगन्ज मेडिकल कलेजका क्लिनिकल फर्माकोलोजी विभाग प्रमुख डा. देव २० मंसिर ०७५ मा बोर्डको सदस्यमा नियुक्त भएका थिए । पछिल्लो समय स्वास्थ्यसचिव खगराज बरालसित बढेको कटुताका कारण नै उनले बोर्ड सदस्यबाट राजीनामा दिएको बुझिएको छ । यद्यपि, उनले मन्त्रीसमक्ष बुझाएको राजीनामापत्रमा आफ्नो वैयक्तिक कारण तथा स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन् ।

१ फागुनमा स्वास्थ्य बिमाबारे छलफलका लागि स्वास्थ्यराज्यमन्त्री नवराज राउतको कार्यकक्षमा डाकिएको बैठकमा सचिव बरालले आफूलाई व्यक्तिगत रूपमा गालीगलौज गर्नुका साथै समग्र चिकित्सकलाई दुर्व्यवहार गरेको भन्दै उनले शुक्रबार नेपाल चिकित्सक संघ (एनएमए)मा निवेदन दिएका थिए । राज्यमन्त्रीसमेतको उपस्थिति रहेको बैठकमा बरालले आफ्नो मात्र नभएर समग्र चिकित्सकीय पेसाकै अपमान गरेको आरोप उनको थियो । सचिव बरालले छलफलका क्रममा ‘चिकित्सकहरू बिक्छन्, म शिक्षासचिव हुँदा ४–५ जना प्राध्यापक मलाई ढोग्न आउँथे’ जस्ता अशोभनीय टीप्पणीसहित आफूलाई व्यक्तिगत रूपमा समेत गालीगलौज र अपमान गरेको भन्दै उनले चिकित्सकको छाता संगठन एनएमएसमक्ष न्यायका लागि निवेदन गरेका थिए ।

एनएमए डा. देवको आरोपबारे बुझ्न पहिले आरोपी सचिव बराल र आवश्यक परेमा मन्त्री तथा सम्बन्धित अन्य व्यक्तिसित भेट्ने योजनामा छ । आइतबार नै भेट गर्ने कार्यक्रम रहेकोमा सचिव बराल घरायसी कामका कारण बिदामा रहेकाले केही दिन कुर्नुपर्ने भएको एनएमएका एक पदाधिकारीले हेल्थपोस्टलाई जानकारी दिए ।

प्रशासनको उच्चपदस्थ व्यक्तिसितको विवाद बाहिर ल्याएका कारण प्रशासनिक तथा राजनीतिक दबाब परेसँगै डा. देवले राजीनामा दिएको स्रोतको भनाइ छ । सचिवको दुर्व्यवहारबाट न्याय माग गर्दै पेसागत संगठन गुहारेसँगै उनीमाथि चर्को प्रशासनिक तथा राजनीतिक दबाब परेको स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय