कोरोनाको उपचारमा संलग्न १७१६ स्वास्थ्यकर्मी संक्रमित, नेपालसितको सीमानाकामा भारतले बढायो सतर्कता

चीनमा महामारी फैलाइरहेको कोरोना भाइरस डिजिज (कोभिड–१९) ले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई नराम्ररी आक्रमण गरेको छ । हालसम्म संक्रमितको उपचारमा संलग्न १ हजार ७ सय १६ स्वास्थ्यकर्मी स्वयंमा भाइरसको संक्रमण भइसकेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । तीमध्ये अहिलेसम्म ६ चिकित्सकको मृत्यु पुष्टि भएको छ ।

संक्रमित १७१६ स्वास्थ्यकर्मीमध्ये १५०२ हुबेई प्रान्तका मात्र छन् । त्यसमा पनि भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित क्षेत्र उहान सहरमा मात्र ११०२ स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण भएको छ ।

चीनमा डेढ महिनादेखि फैलिएको नयाँ भाइरस कोभिड–१९ को संक्रमणबाट बिहीबारसम्म १४९१ ज्यान गुमाइसकेका छन् भने ६३ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबारको आँकडा शनिबार बिहान सार्वजनिक हुनेछ । करिब ३० देशमा संक्रमण फैलिँदा चीनबाहिर हालसम्म फिलिपिन्स, हङकङ र जापानमा एक–एकजनाको भाइरसका कारण मृत्यु भएको छ ।

चीनले शुक्रबार पहिलोपटक कोभिड–१९ भाइरसबाट संक्रमित स्वास्थ्यकर्मीको आँकडा सार्वजनिक गरेको छ । सतर्कताका यथासम्भव उपाय अपनाएर उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी स्वयम् यति ठूलो संख्यामा भाइरसको सिकार बनेसँगै भाइरसको परीक्षण गर्ने र गराउने दुवैमा भय बढ्ने बताइएको छ ।
युनिभर्सिटी अफ हङकङका प्राध्यापक बेन्जमिन काउलिङले उपचार गर्ने चिकित्सकहरु नै भाइरसको चपेटामा आउनु आश्चर्यजनक भएको बताएका छन् । सतर्कता अपनाउनुका बाबजुद पनि मानिसबाट मानिसमा तीव्र गतिमा भाइरस संक्रमण हुनु निकै चिन्ताको विषय बनेको विशेषज्ञहरुको भनाइ छ ।

चीनले यो आँकडा सार्वजनिक गरेसँगै विश्वका अधिकांश देशले कोरोनाविरुद्ध सतर्कता बढाएका छन् ।

भारतले नेपालसितको सीमानाकामा बढायो सतर्कता, विमानस्थलबराबर सुरक्षा तथा सतर्कता अपनाउन निर्देशन
चीनले शुक्रबार कोरोना संक्रमित स्वास्थ्यकर्मीको चिन्ताजनक आँकडा सार्वजनिक गरेसँगै छिमेकी देश भारतले आफ्ना सीमानाकाहरुमा सुरक्षा सतर्कता बढाएको छ । भारतले नेपालसहित चीन र भुटानसितको सीमानाकामा तैनाथ आइटिबिपी र एसएसबी जवानलाई उच्च सावधानी अपनाउन निर्देशन दिएको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले शुक्रबार नोटिफिकेसन जारी गर्दै बोर्डर चेकप्वाइन्टमा सन्दिग्ध व्यक्तिहरुको जाँचका लागि विमानस्थलबराबरको सुरक्षा व्यवस्था गर्न भनेको छ । यससँगै नेपाल–भारत आवत–जावत गर्ने व्यक्तिमा कडा निगरानी राखिनेछ ।

भारत सरकारले सीमानाकासँगै विमानस्थलहरुमा समेत भाइरसविरुद्धको सतर्कता बढाएको छ । डिजिसिएले विमानस्थल प्रशासनलाई चीनका अलावा जापान र दक्षिण कोरियाबाट आउने यात्रुको पनि जाँच सुरु गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय