सचिव बरालमाथि चिकित्सकलाई गालीगलौज गरेको आरोप, ‘डाक्टर बिक्छन्, ४–५ जना प्राध्यापक मलाई ढोग्न आए’

स्वास्थ्यसचिव खगराज बराल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई चिकित्सकमाथि गालीगलौजसहित दुर्व्यवहार गरेको आरोप लागेको छ । स्वास्थ्य बिमा बोर्डका सदस्य एवम् त्रिवि महाराजगन्ज मेडिकल कलेजका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालबाट आफू दुर्व्यवहारमा परेको जनाउँदै उचित न्याय दिलाइदिनका लागि चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)मा शुक्रबार निवेदन दिएका छन् ।

सचिव बरालले आफू तथा समग्र चिकित्सकमाथि स्वास्थ्यराज्यमन्त्रीको कार्यकक्षमा भएको बैठकमा गालीगलौज तथा दुर्व्यवहार गरेको निवेदनमा उल्लेख गरेका छन् । १ फागुनमा स्वास्थ्यराज्यमन्त्री नवराज राउतसमेतको उपस्थितिमा बिमासम्बन्धी औपचारिक छलफलका लागि राखिएको बैठकमा बरालले आफूलाई व्यक्तिगत गालीगलौज गरेको तथा समग्र चिकित्सकलाई बिकाउको संज्ञा दिएको डा. देवको आरोप छ ।

राज्यमन्त्री राउतको उपस्थितिमा भएको छलफलमा सचिव बराल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, प्रशासन समूहका सहसचिव रघुराम विष्टसमेत उपस्थित रहेको डा. देवले बताएका छन् । छलफलमा बिमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसाद, कार्यकारी निर्देशक डा. रमेश पोखरेल, सदस्यहरू डा. दीपेन्द्र यादव, डा. अनिरा वैद्य, डा. देव स्वयम् र राज्यमन्त्री राउतका दुई स्वकीय सचिव भीमराज सिंह र कर्णराज आचार्यसमेत उपस्थित रहेको उनले जानकारी दिएका छन् ।

‘चिकित्सकहरू बिक्छन्, म शिक्षासचिव हुँदा ४–५ जना प्राध्यापक मलाई ढोग्न आउँथे’
छलफल चलिरहँदा सचिव बरालले आफूलाई व्यक्तिगत गालीगलौज गरेको डा. देवको आरोप छ । त्यति मात्र नभएर बरालले समग्र चिकित्सककै अपमान गरेको उनको भनाइ छ ।
बरालले छलफलका बीच सार्वजनिक रूपमा चिकित्सकहरू बिक्ने गरेको अभिव्यक्ति दिएको डा. देवले बताएका छन् । उनका अनुसार बरालले आफू शिक्षासचिव हुँदा ४–५ जना प्राध्यापक आफूलाई ढोग्न आउने गरेको समेत बताएका थिए । यसअघि पनि बरालले अल्फा–बिटा भवन नयाँ बानेश्वरमा औषधि व्यवस्था विभागद्वारा आयोजित कार्यक्रमका बीच ‘चिकित्सकहरू सजिलै बिक्ने’ अभिव्यक्ति दिएका थिए ।

सहप्रा.डा. सतिसकुमार देव

बराल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आउनुअघि शिक्षा मन्त्रालयमा सचिव थिए । शिक्षा समूहबाट निजामती सेवा प्रवेश गरेका बराल विभिन्न कार्यालयको नेतृत्व गर्दै सचिवसम्म पुगेका हुन् । पाठ्यक्रम विकास केन्द्रको निर्देशक, परीक्षा नियन्त्रण कार्यालय (हाल राष्ट्रिय परीक्षा बोर्ड) को नियन्त्रक, शिक्षा विभागको महानिर्देशक, क्षेत्रीय प्रशासकको जिम्मेवारी सम्हालिसकेका बराल करिब ५ महिनाअघि शिक्षासचिवबाट स्वास्थ्यमा ल्याइएका थिए ।

‘निजामती सेवामा भ्रष्टाचार व्याप्त छ भनिन्छ, दुई–चारजना कर्मचारी भ्रष्टाचारी प्रमाणित पनि भएका छन्, त्यसलाई लिएर अब हामीले सबै सचिव तथा कर्मचारी भ्रष्ट हुन् भन्न मिल्छ त ? त्यस्तो कदापि गर्नुहुँदैन ।’

एनएमएका नवनिर्वाचित अध्यक्ष डा. कार्की भन्छन् : आइतबार सचिवज्यूसित भेटेर बुझ्दै छौँ, सही हो भने यो मुलककै दुर्भाग्य हो
नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले डा. देवले सचिव बरालबाट दुर्व्यवहारबारे संघका लिखित निवेदन दिएको जानकारी दिए । यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डा. कार्कीले डा. देवको आरोपबारे पहिले राम्ररी बुझ्ने र सत्य पाइएमा चिकित्सकमाथि भएको दुर्व्यवहारविरुद्ध लड्ने उनले बताए । आइतबार मन्त्रालयमा मन्त्री, सचिव तथा अन्य सम्बन्धित व्यक्तिसित भेटेर घटनाबारे बुझ्ने उनको भनाइ छ ।

‘आइतबार मन्त्रालयमा मन्त्रीज्यू र सचिवज्यूसित भेट्ने कार्यक्रम पहिले नै तय भएको थियो,’ अध्यक्ष कार्कीले भने, ‘निवेदन आइसकेपछि घटनाबारे पहिले सचिवज्यूसित बुझ्छौँ र आवश्यक परेको खण्डमा मन्त्रीज्यू र अन्य सम्बन्धित व्यक्तिहरूसित पनि छलफल गर्छौं । आरोप सही पाइएमा सचिवज्यूले माफी माग्नुपर्छ । पीडितको न्याय र पीडकलाई दण्डका लागि हामी आधिकारिक निकाय नभए पनि डा. देवले कानुनी उपचारको बाटो लिन चाहेमा हाम्रो सम्पूर्ण सहयोग हुन्छ ।’

डा. देवको आरोप सही भएमा यो ठूलो दुर्भाग्यको कुरा भएको डा. कार्कीले बताए । ‘समग्र स्वास्थ्यको अभिभावकका रूपमा उच्च पदमा बसेको व्यक्तिले समग्र चिकित्सकलाई नै अपमान गर्ने गरी गलत लाञ्छना लगाउनु अशोभनीय मात्र होइन, मुलुककै लागि दुर्भाग्य हो,’ उनले भने, ‘यसले गलत सन्देश जान्छ ।’

हरेक पेसामा केही व्यक्ति खराब हुने र त्यसलाई लिएर समग्र पेसाकर्मीलाई आरोपित गर्न नमिल्ने डा. कार्कीको भनाइ छ । उनले प्रश्न गरे, ‘निजामती सेवामा भ्रष्टाचार व्याप्त छ भनिन्छ, दुई–चारजना कर्मचारी भ्रष्टाचारी प्रमाणित पनि भएका छन्, त्यसलाई लिएर अब हामीले सबै सचिव तथा कर्मचारी भ्रष्ट हुन् भन्न मिल्छ त ? त्यस्तो कदापि गर्नुहुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय