जापानमा पनि कोरोना भाइरस संक्रमितको मृत्यु, डायमन्ड प्रिन्सेज क्रुजमा सवार २१८ मा संक्रमण

जापानमा कोरोना भाइरस संक्रमणले एक व्यक्तिको मृत्यु भएको छ । संक्रमितको उपचारका क्रममा बिहीबार मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानमा हालसम्म २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना डिजिज (कोभेड–१९)बाट संक्रमितको मृत्यु हुनेमा जापान चौथो देश हो । यसअघि चीन, फिलिपिन्स र हङकङमा संक्रमितको मृत्यु भएको थियो । हालसम्म चीनबाहेक फिलिपिन्स, हङकङ र जापानमा एक–एक जनाको मृत्यु भएको छ भने करिब ३० देशमा संक्रमण फैलिसकेको छ ।

कोरोना भाइरसले प्रमुख संक्रमण क्षेत्र चीनमा बुधबारसम्म १ हजार ३ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ६० हजार पुगिसकेको छ । चीनमा बुधबार मात्र २४२ संक्रमितको मृत्यु भएको थियो, जुन कोरोनाले २४ घण्टाको बीचमा पुर्याएको सबैभन्दा ठूलो क्षति हो । बिहीबारको विवरण शुक्रबार बिहान सार्वजनिक हुनेछ । भाइरसको केन्द्रविन्दु हुबेई प्रान्तमा मात्र बुधबार १४ हजार ८ सय ४० नयाँ संक्रमित फेला परेको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् ।

डायमन्ड प्रिन्सेज क्रुजमा सवार २१८ मा संक्रमण
जापानको सामुद्रिक तटीय क्षेत्रमा दुई सातादेखि रोकिएको डायमन्ड प्रिन्सेज क्रुजमा फसेका २१८ जनामा कोरोना संक्रमण फैलिएको छ । जापानका लागि गएको पानीजहाजमा सुरुमा केही व्यक्तिमा संक्रमण देखिएपछि जापान सरकारले यात्रु तथा कर्मचारीलाई बाहिर निस्किन दिएको छैन ।

जापानमा भाइरसको संक्रमण फैलिन नदिन उक्त जहाजलाई १९ फेब्रुअरीसम्म त्यहीँ रोकिने बताइएको छ । क्रुजमा कुल ३७११ जना थुनिएका छन्, जसमा १६० भारतीय छन् । सुरुमा ८–१० जनामा संक्रमण देखिएकोमा हाल २१८ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय