दुईमहिने दादुरा-रुबेला खोप अभियान सुरु, ९-५९ महिनाका सबै बालबालिकालाई दुई चरणमा खोप दिइँदै

सरकारले देशभर दुईमहिने दादुरा-रुबेला खोप अभियान सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री नवराज रावतले पाँचौँ दादुरा-रुबेला खोप अभियानको शुभारम्भ गरेका हुन् । अभियानअन्तर्गत दुई चरणमा गरी देशभरका ९ देखि ५९ महिना उमेरका बालबालिकालाई खोप दिइँदै छ । यस उमेर समूहका करिब ३० लाख बालबालिका रहेको सरकारी अनुमान छ ।

नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी क्लब र खोपका लागि अन्तर्राष्ट्रिय एलाइन्स (गाभी)को सहकार्यमा अभियान सञ्चालन गरिएको हो । अभियान सम्पन्न गर्न करिब ५६ करोड रूपैयाँ खर्च लाग्ने अनुमान छ । ५० हजार खोप केन्द्रमार्फत मुलुकभरका बालबालिकालाई खोप दिलाउन एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालित हुने परिवार कल्याण महाशाखाले जनाएको छ ।

फागुन महिनाभर चल्ने पहिलो चरणअन्तर्गत ३ वटा प्रदेशका ३५ जिल्लामा खोप अभियान ३५ जिल्लामा खोप अभियान चलाइँदै छ । यस चरणमा प्रदेश १, प्रदेश २ र प्रदेश ५ का करिब १८ लाख २५ हजार बालबालिकालाई खोप लगाइने परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

दोस्रो चरण चैन महिनाभर चल्नेछ, जसअन्तर्गत बाँकी ४ प्रदेशका ४२ जिल्लामा अभियान चलाइनेछ । यसअन्तर्गत वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ११ लाख ५८ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिने कार्यक्रम छ ।

अभियानअन्तर्गत दादुरा रुबेलाविरुद्धको खोपसँगै १८ जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने खोप शाखाले जानकारी दिएको छ । तराईका २१ जिल्लामध्ये चितवन र नवलपरासीबाहेकका १९ जिल्लामा दादुरा रुबेलाविरुद्धको खोपसँगै पोलियो थोपा खुवाइन लागेको हो । यद्यपि, पोलियो रोग नेपालबाट १० वर्षअघि नै उन्मूलन भइसकेको छ । सन् २०१० यता नेपालमा पोलियोका नयाँ बिरामी नभेटिए पनि जोखिम मानिएका तराईका जिल्लामा पोलियो थोपा खुवाउन लागिएको मन्त्रालयको भनाइ छ ।

२०१९ को निवारण लक्ष्यमा सरकार विफल, डब्लुएचओको नयाँ लक्ष्य २०२३
नेपाल सरकारले सन् २०१९ भित्र नेपालबाट दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो । तर, तोकिएको समयसीमा सकिँदा निर्धारित लक्ष्य हासिल गर्न सकेन । केही समयअघि मात्र कपिलवस्तु, मोरङ, दाङलगायत जिल्लामा दादुराका नयाँ बिरामी फेलापरेपछि सरकारी लक्ष्यमा ठूलो धक्का लागेको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२३ सम्म दक्षिणपूर्वी एसियाबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य तय गरेको छ । डब्लुएचओको दक्षिणपूर्वी कमिटीले २०१९ को सेप्टेम्बरमा यो क्षेत्रबाट दादुरा रुबेला निवारण गर्ने निर्णय गरेको थियो । निर्धारित समयसीमाभित्र रोग निवारणका लागि नेपाललगायत दक्षिणपूर्वी एसियाली देशमा खोप अभियान चलाइँदै छ ।

डब्लुएचओको सन् २०१८ को तथ्यांकअनुसार नेपालमा २ सय ५३ जनामा दादुरा भएको पुष्टि भएको छ । पछिल्ला वर्षहरूमा दादुराको संक्रमणदर बढ्दै गएको तथ्यांकले देखाएका छन् । प्रति १० लाख जनसंख्यामा ५ जनाभन्दा कममा रोग भएमा निवारण मानिन्छ ।

नेपालले लिएको दादुरा निवारणको लक्ष्य निर्धारित समयमा हासिल हुन नसक्नुका पछाडि देशभर खोपको पहुँच विस्तार गर्न नसक्नु रहेको परिवारकल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा बताउँछन् । ‘निवारणका लागि मुलुकभर दादुराको खोपको क्याम्पियन चलाएर खोपको पहुँजको कभरेज बढाउनुपर्छ,’ डा. शर्मा भन्छन्, ‘अहिलेको अभियान त्यसैका लागि हो ।’

खोप खरिदका लागि वार्षिक २ अर्ब
सम्पूर्ण खोप कार्यक्रमका लागि वार्षिक २ अर्ब खर्च हुने गरेको खोप शाखाले जनाएको छ । खोप खरिदमा ८० प्रतिशत दातृनिकायको सहयोग रहँदै आएको छ भने २० प्रतिशत नेपाल सरकारले बेहोर्दै आएको छ ।

जारी अभियानका लागि ३ लाख २२ हजार भाइल दादुरा रुबेला ७ हजार भाइल पोलियो खरिद गरिएको महाशाखाले जनाएको छ ।

खोप अभियानको १६ वर्ष पूरा, तर अझै करिब २२ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचबाहिर
दादुराविरुद्धको जारी खोप अभियान पाँचौँ हो । नेपालमा दादुराको खोप अभियान सन् २००४ सालदेखि सुरु भएको हो । प्रत्येक ४ वर्षको फरकमा मुलुकभर दादुराविरुद्धको खोप दिइँदै आएको छ । यसका अतिरिक्त स्वास्थ्यसंस्थामार्फत नियमित रूपमा दादुराको खोप दिइँदै आएको छ । यसअन्तर्गत पहिलोपटक बच्चा जन्मिएको ९ महिनामा खोप दिने गरिन्छ भने दोस्रो डोज १५ महिनामा दिइन्छ । तर, धेरै मानिसमा पहिलो डोजको प्रयोग भइपछि दोस्रो डोजबारे कम जानकारी हुनुले वा दोस्रो डोजको कभरेज कम हुनुले निवारणमा थप चुनौती आइपरेको विज्ञहरूको भनाइ छ ।

तर, खोप अभियानका बाबजुद स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०१६ ले ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको देखाएको थियो । दादुरा निवारण गर्न ९० प्रतिशत बालबालिका खोपको पहुँजमा हुनु आवश्यक हुन्छ ।

कतिपय बालबालिकाले दादुराविरुद्धको खोप नपाएका कारण नयाँ बिरामी फेला परिरहेका छन् । समयमै बालबालिकाले दादुराविरुद्धको खोप पाएको खण्डमा रोगबाट बच्न सक्छन् । तर, अझै पनि देशका कुनाकाप्चामा रहेका बालबालिकाले खोप पाउन सकेका छैनन् ।

एमएमआर खोप दादुरा, हाँडे तथा रुबेला रोगका लागि साना बालबालिकालाई दिइन्छ । गर्भवती महिलालाई रुबेला भएको खण्डमा गर्भको बच्चा तुहिन सक्ने, कान नसुन्ने, आँखा नदेख्ने, मुटुका भल्भ बिग्रने तथा अपांगता हुन सक्ने चिकित्सकको भनाइ छ ।

सबै बालबालिकालाई खोप अभियानमा सामेल गराउन विद्यालयहरूमा प्रचार–प्रसारका लागि मन्त्रालयको आग्रह, चालू आवमै सबै वडालाई पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्य


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा रुबेलाविरुद्धको खोप अभियानको सम्पूर्ण विद्यालयमा व्यापक प्रचार–प्रसार गर्न सूचना जारी गरेको छ । मन्त्रालयले सबै बालबालिकालाई खोप दिलाउन र विगतमा छुटेकाको समेत खोजी गर्न प्रचार–प्रसारको खाँचो औँल्याएको हो ।

डब्लुएओको २०२३ सम्म दक्षिणपूर्वी एसियाबाट दादुरा रुबेला निवारण गर्ने निर्णयअनुसार सरकारले दुईमहिने खोप अभियान चलाएको मन्त्रालयले जनाएको छ । यसबाट सबै बालबालिकामा खोप पूरा गराई चालू आवमै सम्पूर्ण तह (वडा, पालिका, जिल्ला, प्रदेश)मा पूर्ण खोप सुनिश्चित गर्ने अभियान रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले खोप अभियानअन्तर्गत सम्पूर्ण टोल, बस्ती, वडाका कुनै पनि बालबालिकालाई नछुटाई शतप्रतिशत खोप दिलाउनुपर्ने बताएको छ । यसका लागि बालबालिका धेरै हुने सरकारी, गैरसरकारी तथा निजी विद्यालयहरूमा खोप अभियानबारे व्यापक प्रचार–प्रसार गराउन मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइहरू र गैरसरकारी तथा निजी विद्यालय सञ्चालकका संघ–संस्थाहरूलाई आग्रह गरेको छ ।

के हो दादुरा ?
दादुरा एउटा भाइरसका कारण लाग्ने रोग हो । यो प्रायः बालबालिकामा लाग्छ । ‘दादुरा आउँदा छालामा रातो फोका देखिने र ज्वरो आउने हुन्छ,’ डा. शर्मा भन्छन्, ‘कहिलेकाहीँ फोक्सो र मस्तिष्कमा संक्रमण भएर जटिलता उत्पन्न गराइदिन सक्छ ।’

यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो । डब्लुएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिऊँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका स–साना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने काम गर्छन् ।

दादुराको लक्षण
दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो आउनु । ज्वरोको सुरुवातमा दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहने हुन्छ ।
दादुरा आउँदा बालबालिकालाई थकान महसुस हुने तथा रुघा–खोकी लाग्ने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यतया अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात–खुट्टामा समेत देखिन थाल्छ र ५–६ दिनपछि आफैँ फोस्रिँदै जान्छ ।

दादुराको संक्रमण धेरै भएको अवस्थामा फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या देखिन्छ । दादुराको उपचार नभएको खण्डमा रोगीको मृत्युसमेत हुन सक्छ ।

उपचार
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरलपदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल ओरल रिहाइड्रेसन साल्टका माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र बान्ताका कारण शरीरबाट निस्किएको तरलपदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय