कोरोना भाइरस : चीनमा एकै दिन २४२ को मृत्यु, हुबेईमा मात्र २४ घण्टामा थपिए १४,८४० संक्रमित

चीनमा फैलिरहेको कोरोना महामारीले थप उग्र रूप लिएको छ । डेढ महिनादेखि फैलिरहेको कोरोना भाइरस डिजिज २०१९ (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ६५ पुगेको छ जब कि करिब ६० हजारमा संक्रमण पुष्टि भइसकेको छ ।

बुधबार मात्र चीनमा कोभिडको संक्रमणका कारण २४२ जनाले ज्यान गुमाएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यो कोरोना संक्रमणबाट एकै दिनमा भएको अहिलेसम्मकै ठूलो संख्याको मृत्यु हो । चीनको हेल्थ कमिसनका अनुसार बुधबार हुबेई प्रान्तमा मात्र १४ हजार ८ सय ४० नयाँ संक्रमित फेला गरेका छन् ।

बुधबार (हिजो) हेल्थ कमिसनले सार्वजनिक गरेको मंगलबारको रिपोर्टमा संक्रमितको संख्या घटेको पाइएको थियो । यसले पहिले संक्रमित भएकाको उपचारका क्रममा मृत्यु भए पनि थप संक्रमण नियन्त्रणउन्मुख भएको आकलन गरिएको थियो । तर, बिहीबार सार्वजनिक रिपोर्टमा बुधबार सबैभन्दा बढी संक्रमण पाइएपछि भाइरस नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।

हुबेईको स्वास्थ्य निकायले पहिलेभन्दा बृहत् तरिकाले संक्रमितको पहिचान गरेकाले संक्रमितको एकैपटक ठूलो संख्यामा संक्रमित फेला परेको अधिकारीको अनुमान छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनलले अझै पनि कोभिड–१९ को संक्रमण जहाँ पनि फैलिन सक्नेतर्फ सचेत गराएको छ । मुख्यतः चीनलाई आक्रान्त बनाएको यो भाइरस विश्वका करिब ३० देशमा फैलिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय