हुबेईबाट ल्याइने नेपालीलाई ६ बुँदे सर्तनामा, कम्तीमा १४ दिनको क्वारेन्टाइनमा आफन्तसित भेट्न प्रतिबन्ध

सरकारले चीनको हुबेई प्रान्तबाट फर्काइने नेपालीका लागि ६ बुँदे सर्तनामा गराएको छ । चीनस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुबेईबाट स्वदेश फर्किन इच्छुक नेपाली विद्यार्थीलाई बुधबार सर्तनामामा हस्ताक्षर गराएको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य मन्त्रालयको निर्देशनमा सर्तनामा गराइएको दूतावासले जनाएको छ । सर्तनामामा विशेषतः नेपाल फर्किएपछि क्वारेन्टाइनका क्रममा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ ।

सर्तनामाअनुसार हुबेईबाट फर्काइएकालाई १४ देखि १७ दिन वा आवश्यक परेमा त्योभन्दा पनि बढी दिन क्वारेन्टाइनमा राखिनेछ । क्वारेन्टाइनमा खाना, पानी, शौचालय, स्वास्थ्योपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणका सबै व्यवस्था सरकारले गर्नेछ ।

क्वारेन्टाइनमा रहँदासम्म आफन्तसँग भेटघाट गर्न नदिइने सर्तनामा छ । क्वारेन्टाइनमा हुबेईबाट फर्काइएका सबैलाई करिब ६० कोठामा सामूहिक वसोवास गराइनेछ, जहाँ ६ जनाका लागि एउटाका दरले शौचालय उपलब्ध गराइनेछ ।

क्वारेन्टाइनमा रहँदा त्यहाँ निर्धारित सम्पूर्ण नियमको पूर्णतः पालना गर्नुपर्ने सर्तनामामा उल्लेख छ । सर्तनामामा उल्लेखित सबै ६ बुँदाको पालना नगरेमा कानुनबमोजिम सहन तयार भएको कबुलियतनामामा हस्ताक्षर गराइएको छ ।

महामारीको रूप लिइरहेको कोरोना भाइरसबाट हुबेईको उहान सहर नराम्ररी प्रभावित भएपछि अमेरिका भारतलगायत देशले दुई साताअघि नै आफ्ना नागरिकलाई स्वदेश लगिसकेका छन् । बन्द गरिएको सहरमा फसेका नेपालीले पनि नेपाल सरकारसित एयरलिफ्टमार्फत उद्धार गर्न आग्रह गरेपछि नेपाली दूतावासले नेपाल फर्किन चाहने नागरिकलाई निवेदन गर्न लगाएको थियो । यसक्रममा हुबेईका १८० नेपालीले स्वदेश फर्किनका लागि निवेदन दिएका थिए । तर, डब्लुएचओको मापदण्डअनुसार क्वारेन्टाइनमा राख्ने तथा उपचार गर्ने ठाउँ निर्क्योल गर्न नसक्दा सरकारले आफ्ना नागरिक फर्काउन ढिलाइ गर्दै आएको हो । यद्यपि, ३ फागुनसम्म नेपालीको उद्धार गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ, जसमध्ये अधिकांश हुबेई प्रान्तका छन् । मंगलबार मात्र ९४ संक्रमितको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । हालसम्म ४४ हजार २ सयमा संक्रमण पुुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार नयाँ कोरोना भाइरसलाई ‘कोभिड–१९’ नाम दिएको छ ।

हुबेईबाट फर्किने नेपालीले पालना गर्नुपर्ने ६ नियम र सर्तनामा
हुबेई प्रन्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरीकले पालना गर्नु पर्ने बुँदाहरु
१. इभ्याक्युसन पश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियमा १४ देखि १७ दिन वा सो चन्दा बढी राखिनेछ।
२. क्वारेन्टाइनमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ।
३. क्वारेन्टाइनमा रहँदा आफ्न्तहरुसँग भेटघाट गर्न दिइने छैन।
४. क्वारेन्टाइनमा लगभग ६० कोठाहरुमा उचित दुरीको फरकमा सामुहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ।
५. करेन्टाइनमा रहँदा तपाईंहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ।
६. करेन्टाइनमा रहँदा तपाईंहरुलाई त्यहाँ दिइएको रहेक नियम ९रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्ने छ।
हुबेई प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले गर्ने शर्तनामा
म नेपाली नागरीक हुँ । चीनको हुबेइ प्रन्तबाट स्वेदश फिर्ता जाने नेपाली नागरिकहरुले पालाना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु । म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानुन बमोजिन सहुँला, बुझाउँला ।
नाम
हस्ताक्षर
राहदानी नं
मिती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय