डब्लुएचओद्वारा नोवेल कोरोना भाइरसको नामकरण, अब ‘कोभिड–१९’ नामले चिनिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा डेढ महिनादेखि महामारीको रुपमा फैलिरहेको भाइरसको नामकरण गरेको छ । यसअघि अस्थायी रुपमा कोरोना भाइरस वा नोवेल कोरोना भाइरस निमोनिया नामले चिनिँदै आएको नायाँ भाइरसलाई डब्लुएचओले मंगलबार ‘कोभिड–१९’ नाम दिएको हो । कोभिड–१९ ‘कोरोना भाइरस डिजिज २०१९’ को संक्षेपीकृत रुप हो, जहाँ ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज, ‘१९’ ले २०१९ बुझाउँछन् ।

यसअघि चीनको हेल्थ कमिसनले ८ फेब्रुअरीमा कोरोना भाइरसलाई अस्थायी रुपमा ‘नोवेल कोरोना भाइरस निमोनिया (एनसिपी)’ नाम दिएको थियो । कमिसनले स्थायी नामकरण नभएसम्मका लागि महामारी फैलाइरहेको कोरोनाभाइरसलाई चीनका सरकारी विभाग तथा संगठनहरूमा एनसिपी नामले व्यवहार गरिने बताएको थियो ।

चीनमा महामारी फैलाइरहेको भाइरस कोनोनाकै एक प्रजाति भएको यसअघि नै पुष्टि भइसकेको थियो । कोरोनाका विभिन्न प्रजातिमध्ये मानिसमा संक्रमण गर्ने ६ प्रजाति यसअघि देखिएका थिए । कोभिड–१९ मानिसलाई असर पुर्याउने कोरोनाको सातौँ प्रजाति हो ।

कोभिड–१९ को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र ९४ संक्रमितको मृत्यु भएको चिनियाँ अधिकारीले जनाएका छन् । हालसम्म ४४ हजार २ सयमा संक्रमण पुुष्टि भइसकेको छ ।

चीनको हेल्थ कमिसनका अनुसार मंगलबार १ हजार ६ सय ३८ जना नयाँ संक्रमित फेलापरेका छन् । सोमबारको तुलनामा मंगलबार कम संक्रमित देखिनुले संक्रमण घट्ने संकेत देखिएको चिनियाँ अधिकारीले बताएका छन् ।

हालसम्म चीनबाहेक विश्वका २८ देशमा संक्रमित फेला परेका छन् भने फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय