चिकित्सक संघका नवनिर्वाचित अध्यक्ष भन्छन् : अब प्रतिस्पर्धी लोचन कार्की होइन, सबैको लोचन डाक्टर

नेपाल चिकित्सक संघ (एनएमए)का नवनिर्वाचित अध्यक्ष डा. लोचन कार्कीले आफ्नो टिमले निर्वाचनका वेला गरेको प्रतिबद्धता पूरा गरेर देखाउने बताएका छन् । मंगलबार निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई बधाई दिन राखेको कार्यक्रममा डा. कार्कीले सम्पूर्ण चिकित्सकसामु गरेकोे प्रतिबद्धता कार्यान्वयनमा लान आजकै दिनदेखि सुरु गर्ने बताए ।

‘यो खुसीको क्षणसँगै जिम्मेवारी थपिएको छ,’ कार्कीले भने, ‘सबै चिकित्सकलाई साथमा लिएर ३ वर्षसम्म चिकित्सा क्षेत्रका समस्या समाधानमा लाग्नेछु ।’
अध्यक्ष कार्कीले अमूल्य मत दिएर भारी मतान्तरका साथ जिताउने सम्पूर्ण मतदातालाई धन्यवाद दिए ।

डा. कार्कीले नेपाल मेडिकल काउन्सिलले गर्ने गरेको सिपिडी प्रोग्रामलाई पुनः संघमा फर्काउने प्रतिबद्धतासमेत व्यक्त गरे । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघमा बढीभन्दा बढी गैरसरकारी तथा सरकारी चिकित्सकलाई आबद्ध गराउन प्रयत्न गर्ने डा. कार्कीको भनाइ छ ।

‘हिजोको दिनसम्म प्रतिस्पर्धामा उत्रिए पनि आजबाट पेसागत हकहितका लागि सबैसित मिलेर अघि बढ्नेछु,’ कार्कीले भने, ‘चिकित्सा क्षेत्र र नेपाली जनताको सेवामा समर्पित हुन्छु ।’

डा. कार्कीले अध्यक्षमा निर्वाचित भएसँगै आफू कुनै प्यानल र जातविशेषको नरहेको स्पष्ट पारे । ‘आजबाट म लोचन कार्की होइन, सबैको लोचन डाक्टर हुँ,’ उनले भने, ‘कुनै जात, गुट वा प्यानलभन्दा माथि उठेर समग्र पेसाकर्मी र चिकित्सा क्षेत्रको हकहितका लागि काम गर्नेछु ।’

कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै मार्गनिर्देशसमेत गरेका छन् । पूर्वअध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले नयाँ कार्यसमितिलाई चिकित्सकको सुरक्षाको ग्यारेन्टीका लागि काम गर्न सुझाब दिए । त्यसगरी, पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले सम्पूर्ण चिकित्सकको समस्या हल गर्न नयाँ समितिलाई अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय