चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको विजयसँगै सबैभन्दा कम उमेरमै अध्यक्ष र बढी मतान्तरको रेकर्ड

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन् । दुई चरणमा सम्पन्न मतदानको शुक्रबारदेखि जारी मत गणनाको मंगलबार राति २ बजेसम्म चलेको मतगणनाको अन्तिम नतिजाअनुसार डा. कार्कीले निकटतम् प्रतिद्धन्दी डा. पुष्पमणि खराल भन्दा २१३२ बढी मत ल्याएर अध्यक्षमा निर्वाचित भए ।
जम्मा खसेको ६१५७ मतमध्ये डा. कार्कीले ४१११ मत प्राप्त गरे । यो कुल मतको झण्डै ६७ प्रतिशत हो । नेपाल चिकित्सक संघको इतिहासमै धेरै मतदाता, मतदान, मतअन्तरको रेकर्ड डा. कार्कीकै नाममा रहेको छ । त्यसैगरी ४१ वर्षे डा. कार्कीले सबैभन्द कम उमेरमै संघको अध्यक्ष हुने रेकर्डसमेत बनाएका छन् । २००७ मा स्थापना भएको संघको डा. कार्की २८औ अध्यक्ष बने ।

संघको अगामी फागुन १५ देखि १७ मा हुने सम्मेलनपछि वर्तमान अध्यक्षले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गर्नेछन् ।
४१ वर्षे कार्की हालको कार्यसमितिमा महासचिव छन् । उनले यसअघि संघमा सदस्य, सहसचिवको रुपमा समेत कार्यकाल पूरा गरेका छन् । भोजपुरको प्याउलीमा जन्मेका डा. कार्की विराटनगरको सेन्ट जोसेफबाट एसएलसी, काठमाडौं विश्वविद्यालयबाट आइएससी, बंगलादेशको युर्निभरसिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट एमबिबिएस र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान –न्याम्सबाट) इन्टरनल मेडिसिन विषयमा एमडी गरेका छन् । हाल न्याम्समा इन्टरनल मेडिसिन विभागमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

अध्यक्षमा निर्वाचित भएसँग डा. चिकित्सकको हकहितसँगै संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकारको रक्षा र कार्यान्वयनका लागि प्रोफेसनल संस्थाको नेतृत्वको रुपमा ठोस काम गर्ने बताए । उनले ऐतिहासिक र चिकित्सकहरुको साझा संस्थाको अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेको भन्दै यो स्थानमा पुर्याउँन सघाउँने सबैलाई धन्यवाद दिए । डा. कार्की अगामी दिनमा चुनावी प्रतिस्पर्धा र तिक्ततालाई भुलेर सबै पक्षको सहमति र विश्वास जितेरै काम गर्ने विश्वास दिए । निर्वाचन कमिटीले निर्वाचन परिणामको औपचारिक घोषणा मंगलबार मध्यान्ह गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय