के राज्य अभिभावक होइन?

चीनको उहानबाट फैलिएको नोबेल कोरोना भाइरसले अहिले विश्वभरि नै एक प्रकारको ‘त्रास–तरंग’ पैदा गरेको छ। अहिले पूरै चाइना लगभग ‘लक–डाउन’कै अवस्थामा छ। कोरोनाको ‘इपिसेन्टर’ उहान सहर त झन् पूरै सुनसान, सन्नाटा छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म ९ सय १० भन्दा बढी मानिसको मृत्यु भइसकेको अवस्था छ। ४० हजार ६ सय भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने हज्जारौं मानिसलाई भाइरसले छोइसकेको अनुमान गरिएको छ।  उहान विश्वकै एउटा ठूलो सहर पनि हो। जहाँ चिनियाँमात्रै होइन, विश्वभरका मानिस पुगेका छन्। व्यापार गर्न होस् वा रोजगारका लागि वा पढ्नका लागि। संसारभरका मानिस उहानमा छन्।

तर कोरोनाको कहर यस्तो भइदियो कि, अहिले विश्वका सबै देशले आफ्ना नागरिक फर्काइसकेको स्थिति छ।  मल्टिनेशनल कम्पनीहरु बन्द गरिएका छन्। कर्मचारीहरुलाई लामो विदा दिइएको छ। व्यापार, व्यवसाय लगभग बन्द नै छन्।  र, नेपाली पनि त्यो सहरमा छन्। नेपाल, पाकिस्तानसहित केही देशले आफ्ना नागरिक उहानबाट अझैं झिकाएका छैनन्।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।नेपाली नागरिक उहानमै अड्किइरहेका छन्। यता अभिभावकको रोदन उस्तै छ। न राज्य यो विषयमा छरितो निर्णय लिइरहेको छ, न अभिभावकलाई आश्वस्त पार्न सकेको छ।  यस्तो अवस्थामा पनि चिनियाँ पर्यटकलाई राज्यले सजिलै भित्र्याइरहेको स्थिति छ। तर आफ्नै नागरिकलाई ल्याउनका लागि राज्यले यो ‘ल्याङ–ल्याङ’ पारा देखाइरहेको छ।

देशलाई परेको अवस्थामा कुनै पनि दैवीप्रकोप, स्वास्थ्य आकस्मिकताजस्तो समयमा साथ दिने र चाहिने चिकित्सा, इञ्जिनयरिङ जस्ता विद्यार्थीलाई सुरक्षित रुपले देश फर्काउन आलटाल गरिरहनु आफैंमा दुखद् विषय हो।  यद्यपि उहानमा अड्किइरहेका नेपालीलाई स्वदेश ल्याउने कि नल्याउने भन्ने विषयमा केही विवाद वा बहस नभएका होइनन्।

उनीहरुलाई यहाँ ल्याएर राख्ने ठाउँ राज्यले तय गरिसकेको छ। सरकारले व्यवस्था गरेका ती ठाउँहरुमा पनि चीनबाट आएका नेपाली राख्न दिन्नौं भन्ने खालका अभिव्यक्ति आइरहेका छन्। यो एउटा महामारी हो। त्यसमा हामी सबै सचेत हुन जरुरी छ। तर, मानवियतालाई भुलेर यो विपद्का बेला यस्ता अभिव्यक्ति दिनुहुन्न।

यो काममा हामी सबैको हातेमालोको जरुरी छ। चीन सरकारले त्यहाँ रहेका नेपालीलाई ‘तीन छाक खान दिइरहेकै छ नि!’ भन्ने सरकारी अभिव्यक्ति मानवीय संवेदनभित्रको एउटा ‘उपट्याङ’बाहेक केही हुन सक्दैन।  एकछिन त्यो ठाउँमा आफैंलाई राखेर हेरौं न। कोठाभित्र थुनिएर क्षण क्षणमा आइरहेका लासका समाचार हेरिरहेका, सँगै भएर पनि टाढाजस्तो भएर एक्लै पिरोलिइरहेका नेपाली।  सुनसान सडकमा ‘कोरोना भाइरस’ बोकेर पलपल कुदिरहेका एम्बुलेन्सको साइरनले त्यो भयभित मनलाई कति झस्काउँदो होला?

हरेक नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व हुन आउँछ।  त्यसमा पनि अभिभावकलाई आश्वस्त पार्न राज्यले सकिरहेका छैन।
चीनले नेपालका नागरिकलाई केही भएको छैन, उनीहरु सुरक्षित छन् भनेर नेपाल सरकारलाई आश्वस्त पारेपनि आफन्तको मन न हो, त्यो मान्दैन।

त्यसमा पनि संक्रमण दिन का दिन तीव्र गतिमा फैलिइरहेको छ। मृत्यु दर क्षण क्षणमा बढिरहेको छ।  अनि सँगै विदेशी नागरिको मृत्यु क्रम पनि सुरु भइसकेको छ। केही दिनअघि कोरोना संक्रमणले उहानमै एकजना अमेरिकी र जापानी नागरिको मृत्यु भइसकेको खबर सेलाएको छैन।

कसरी व्यवस्थापन गर्ने?

– राज्यले ‘डिप्लोम्याटिक च्यानल’ आफ्ना नागरिक सुरक्षित ल्याउने व्यवस्था मिलाउने।
– ‘क्वारेन्टटाइन’का लागि नेपाल चिकित्सक संघजस्ता संघ संस्थाहरुसँग मिलेर प्रभावकारी ‘हेल्थ डेस्क’ बनाउने।
– आइसोलेसनका लागि भुकम्पपछि निर्माण भएका र, अझैं प्रयोगमा आइसकेका अस्थायी आवास, पर्यटक नभएर खालि भएका होटलहरु भाडमा लिएर व्यवस्थापन गर्ने।
– नियमित चेकजाँच तथा उपचारका लागि सरकारी ठूला अस्पतालहरु जस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, टिचिङ, पाटन तथा अन्य मेडिकल कलेजसँग पनि समन्वय गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय