बिपी प्रतिष्ठानका सबै पदाधिकारी ‘कम्युनिस्ट राजनीति गरेका’बाट नियुक्त गर्न नेकपाको लिखित सिफारिस, अब होला कि डा. केसी सत्याग्रहको महत्त्वबोध !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलगायत पदाधिकारीमा पार्टी राजनीतिमा क्रियाशील व्यक्तिमध्येबाट नियुक्त गर्न लिखित सिफारिस गरेको छ । नेकपा धरान उपमहानगरपालिकाले प्रतिष्ठानको नेतृत्वमा दीर्घकालीन कब्जाका लागि पार्टीमा आबद्ध व्यक्तिहरूलाई पदाधिकारीमा नियुक्त गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिस गरेको हो ।

नेकपाले प्रतिष्ठानको उपकुलपतिमा हालका शिक्षाध्यक्ष तथा कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनाललाई नियुक्त गर्न भनेको छ । डा. खनाल विद्यार्थी जीवनदेखि नै अनवरत कम्युनिस्ट पार्टी राजनीतिमा संलग्न रहेको उल्लेख नेकपाले मन्त्री ढकाललाई पठाएको सिफारिसपत्रमा गरेको छ ।

शिक्षाध्यक्ष (रेक्टर) पदमा ‘प्रतिष्ठानमा कार्यरत पार्टीसम्बद्ध सिनियर प्रोफेसरहरूमध्येबाट’ नियुक्ति गर्न नेकपा धरान उपमहानगर कमिटीको सिफारिस छ । त्यस्तै, कुलसचिव (रजिस्ट्रार)मा पनि ‘पार्टीबाट उपयुक्त विज्ञ प्रशासक’ नियुक्त गर्न नेकपाले सिफरिस गरेको छ ।

पार्टी राजनीतिमा सक्रिय भूमिका खेलिसकेका र हालसम्म पनि पार्टीनिकट रही काम गर्दै आएकालाई पदाधिकारीमा ल्याउँदा ‘प्रतिष्ठानको दीर्घकालीन नेतृत्व आफूअनुकूल बनाउन सकिने’ नेकपा धरानको ठहर छ । यस विषयमा धरान उपमहानगर कमिटी, धरानस्थित जिल्ला तथा प्रदेश कमिटीका नेताहरूको साझा धारणा रहेकाले यस्तो सिफारिस गरिएको उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठद्वारा हस्ताक्षरित सिफारिसपत्रमा उल्लेख छ ।

स्वास्थ्यको जिम्मेवारीमा आएदेखि नै मन्त्रालयको काम तथा नियुक्तिमा कुनै दबाब वा निकटताका आधारमा निर्णय नलिने बताउँदै आएका मन्त्री ढकालले आफ्नो पार्टीको स्थानीय कमिटीको सिफारिसलाई कसरी लिन्छन्, त्यसले उनको कथनी र करणीबीचको भिन्नतालाई उजागर गर्नेछ ।

पार्टी राजनीतिमा सक्रिय भूमिका निभाएका व्यक्तिमध्येबाट मात्र प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्नुपर्ने नेकपाको सिफारिसले विश्वविद्यालय तथा प्रतिष्ठान राजनीतिक अखाडा बनिरहेको स्पष्ट देखाएको छ । चिकित्साजस्तो संवेदनशील क्षेत्रको विशेषज्ञ तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानलाई यसरी राजनीतिक दाउपेचको थलो बनाइएमा समग्र स्वास्थ्यक्षेत्रकै लागि दुर्भाग्य हुनेछ ।

नेकपाको नांगो सिफारिससँगै अब सुरुदेखि नै नीतिगत निर्णयको वकालत गर्दै आएका मन्त्री ढकालको परीक्षा सुरु भएको छ । स्वास्थ्यको जिम्मेवारीमा आएदेखि नै मन्त्रालयको काम तथा नियुक्तिमा कुनै दबाब वा निकटताका आधारमा निर्णय नलिने बताउँदै आएका मन्त्री ढकालले आफ्नो पार्टीको स्थानीय कमिटीको सिफारिसलाई कसरी लिन्छन्, त्यसले उनको कथनी र करणीबीचको भिन्नतालाई उजागर गर्नेछ ।

चिकित्साशिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना डेढ दर्जन सत्याग्रहका क्रममा विश्वविद्यालय तथा प्रतिष्ठानमा राजनीतिक भागबण्डामा पदाधिकारी नियुक्तिको अन्त गर्न ठूलो संघर्ष गरे । उनले कैयौँपटक यस विषयमा सरकारलाई सम्झौतासमेत गराए । तर, नेकपा सधैँ आफ्नै पार्टीको सरकारले गरेको सम्झौताविपरीत डा. केसीको अभियानविरुद्ध उत्रिने गरेको छ । प्रतिष्ठानलाई पार्टीकरण गर्न नांगो सिफारिस भइरहँदा यतिवेला तत्कालीन समयमा डा. केसीलाई उपेक्षा गर्नेहरूमा समेत सत्याग्रहको महत्त्वबोध भइरहेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय