कोरोनाविरुद्धको लडाइँमा नेपालको सहकार्य : चीनलाई १ लाख थान मास्क सहयोग

करिब डेढ महिनादेखि नोवेल कोरोना भाइरससित लडिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान मास्क सहयोग गरेको छ । वैश्विक स्वास्थ्य आपत्काल घोषित कोरोनाविरुद्धको लडाइँमा सहकार्य गर्दै नेपालले छिमेकी मुलुकलाई डिडेक्टिभ मास्क सहयोग गरेको हो । यसअघि नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले चीनको स्वशासित क्षेत्र तिब्बतमा १२ हजार थान मास्क पठाएको थियो ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले नेपाल सरकारको सहयोग ग्रहण गरिन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मास्क हस्तान्तरण गरेका थिए । मास्क हस्तान्तरण कार्यक्रममा स्वास्थ्यसचिव खगराज बरालसमेत उपस्थित थिए ।

तस्बिर : परराष्ट्र मन्त्रालय

नेपालको सहयोग ग्रहण गर्दै राजदूत यांकीले भाइरसविरुद्धको लडाइँमा नेपालले चीनलाई देखाएको साथको प्रशंसा गरिन् । संकटको सबैले मिलेर सामना गर्नुपर्ने उनको भनाइ थियो ।

कोरोनाको महामारी फैलिरहँदा चीनमा मास्कको अभाव भएको छ । भाइरसविरुद्धको पूर्वसतर्कताका क्रममा सबैले मास्क प्रयोग गर्नुपर्ने भएकाले अभाव भएको हो । नेपाली बजारमा पनि यतिखेर मास्कको अभाव भइरहेको छ । चीन, भारत र नेपालले पनि मास्क निर्यातमा यसअघि नै रोक लगाइसकेका छन् ।

डिसेम्बर अन्तिम सातादेखि चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको नयाँ कोरोना भाइरस विश्वका कम्तीमा २५ देशमा देखपरिसकेको छ । चीनमा मात्र यो भाइरसको संक्रमणबाट ६३६ जनाको मृत्यु भइसकेको अधिकारीहरूले पुष्टि गरेका छन् । चिनियाँ अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७३ जना संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ हजार १ सय ६१ पुगेको छ । यद्यपि, केही पश्चिमा मुलुक र चीनकै केही एजेन्सीले पनि चीनमा कोरोनाको संक्रमण र मृत्युको संख्या देखाइएको भन्दा कैयौँ गुण बढी भएको दाबी गरिरहेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा ‘लिक’ भएको तथ्यांकले चीनमा कोरोनाका कारण हालसम्म २५ हजारले ज्यान गुमाइसकेको दाबी गरेको छ । चीनको एक टेक्नोलोजी कम्पनी टेनसेन्टबाट चुहिएको यो रिपोर्टअनुसार हालसम्म १ लाख ५४ हजार संक्रमित भइसकेका छन् । टेनसेन्टका संस्थापक मा हुआतेङ राष्ट्रपति सी जिनपिङनिकटस्थ भएको एजेन्सीको दाबी छ ।

चीनबाहिर हालसम्म फिलिपिन्स र हङकङमा एक–एकजनाको मृत्यु भएको छ । चीनबाहिर करिब २०० मा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय