कसरी भयो ‘कोरोना’ को खबर फैलाउने डाक्टरको मृत्यु?

चीनको उहानबाट फैलिरहेको कोरोना भाइरसबारे पहिलो जानकारी दिने एक डाक्टरको मृत्यु भएको छ।

डा. ली वेनलियाङले उक्त भाइरसबारे सबैलाई सचेत रहन भन्दै पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

केही दिनदेखि उनको स्वास्थ्य स्थिति खराब रहेको जानकारी दिइएको थियो। तर, पछि चीनको एउटा सरकारी सञ्चारमाध्यम र त्यसपछि विश्व स्वास्थ्य संगठनले उनको मृत्युको खबर पुष्टि गरेका छन्।

उनको अवस्थाबारे धेरै दिनसम्म गोप्य राखिएको थियो।

डा. वेनलियाङले पहिलोपटक ‘वि च्याट’ बाट कोरोना भाइरसबारे जानकारी सेयर गरेका थिए।

उनले त्यसमा लेखेका थिए– ‘सहर नजिकै रहेको एउटा माछा बजारमा सार्सजस्तै एक भाइरस भेटिएको छ। यसको संक्रमण भएपछि करिब सातजना बिरामीलाई अस्पतालको अलग वार्डमा राखिएको छ।’

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार त्यो खबर पोस्ट गर्नासाथ उनलाई उहान प्रहरीले गिरफ्तार गरेको थियो।
सुरुमा चीनले कोरोना संक्रमणबारे त्यत्ति धेरै खबर बाहिर आउन दिएको थिएन। विश्व स्वास्थ्य संगठनको पटक–पटकको आग्रहपछि चीनले उक्त भाइरसबारे कुनै पनि कुरा नलुकाउने प्रतिबद्धता गरेको थियो।

चिनियाँ सामाजिक सञ्जालमा डा. ली ‘हिरो’ भइसकेका थिए। उनको अवस्थाबारे जान्न सर्वसाधारणले सामाजिक सञ्जालमा पनि अभियान चलाएका थिए।

शुक्रबार उहानको केन्द्रीय अस्पतालले डा. लीको अवस्था निकै गम्भीर भएको जानकारी दिएको थियो। र, भनेको थियो– ‘उनलाई बचाउन हरसम्भव प्रयास भइरहेको छ।’
तर, त्यसको केही बेरपछि उनको मृत्युको खबर पुष्टि भयो।

उहानको सेन्ट्रल अस्पतालमा कार्यरत ३४ वर्षीय डा. ली एक नेत्र विशेषज्ञ थिए।

गत जनवरीे सुरुतिरै उहानमा कोरोना भाइरस संक्रमण सुरु भइसकेको थियो। तर, धेरै समयसम्म यो खबर बाहिर आउन सकेन। स्थानीय अधिकारीले यो खबर लुकाइरहेका थिए।
त्यो बेलै डा. लीले आफ्ना डाक्टर साथीहरूलाई नयाँ भाइरसबारे चेतावनी दिइसकेका थिए।

प्रहरीले त्यसबेला उनलाई आफ्नो मुख बन्द गर्न भनेको थियो।

तर, डा. लीले केही दिनपछि एउटा भिडियोमार्फत् कोरोना भाइरसबारे जानकारी दिए। त्यसपछि उनलाई आममानिसले ‘हिरो’ भनेका थिए।

उहान नजिकै एउटा सामुद्रिक खाद्य बजारबाट फैलिएको यो भाइरसका सुरुवाती बिरामीलाई डा. ली कार्यरत अस्पतालमै राखिएको थियो।

चीनमा फैलिएको यो भाइरसका कारण अहिलेसम्म ६ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ भने ३१ हजार ४ सय ५१ मानिस संक्रमित छन्।

(एजेन्सीहरुकाे सहयाेगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय