‘हाम्रा छोराछोरी चीनमै सडाउने हो?’

बिहिबार दिउँसो स्वास्थ्य मन्त्रालयको आँगनमा एकहुल मानिस भेला भए। केही बेर नाराबाजी पनि गरे। स्वास्थ्य राज्य मन्त्रीलाई पनि भेटे।
अनि सोधे ‘हाम्रा छोराछोरी कति दिन चीनमै सडाएर राख्नुहुन्छ?’

स्वास्थ्य राज्य मन्त्री नवराज रावतले केही जवाफ दिन सकेनन्। बरु भने ‘परराष्ट्र मन्त्रालयमा जानुस्।’ चीनमा उहानमा फैलिइरहेको कोरोना भाइरसका कारण त्यहाँ नेपाली पनि थुनिएका छन्। सरकारले उनीहरुलाई फर्काउने तयारी त गरेको छ तर, कहिले फर्काउने भन्नेबारेमा केही भन्न सकेको छैन।

सरकारले नै अलमल्याएपछि चीनमा रहेका नेपाली विद्यार्थीका अभिभावक बिहीबार स्वास्थ्य मन्त्रालय पुगेका थिए। मन्त्रालयमा पुगेका उनीहरुले केही बेर नाराबाजीसमेत गरेका थिए। उनीहरुले राज्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाए।

पाटनकी सोमिला कक्षपतिकी बहिनी सलिना कक्षपति उहान विश्वविद्यालयमा एमबिबिएस पढिरहेकी छिन्। ‘घरमा बुबा–आमा बहिनीको पिरले खाना नखाई, नसुति बस्नु भएको छ, तर सरकारले किन आलटाल गरिरहेको छ?’ उनले भनिन् ‘त्यहाँ बहिनीले खाना खानै पाएनौं भनेर फोन गरिहन्छे, सरकार ल्याउँछौं ल्याउँछौं मात्रै भन्ने किन कुरा लुकाइरहेको?’

‘अहिले सम्म भाइरसबाट जोगिएर बसेका , तर कुन बेला के हुन्छ थाहा छैन’, एक बृद्ध आमाले छोरोको भनाई उद्धृत गर्दै भनिन्,‘आमा अब कति समय सम्म हो यहीँ सडेर बस्नुपर्ने भयो।’छोराले आमा बुवालाई चीनमै घुम्न पनि बोलाएका थिए। कोरोनाको संक्रमण नभइदिएको भए सायद उनीहरु बुधबार नै चीन गइसकेका हुनेथिए। ‘तर अब त छोरो नै फर्किने हो कि होइन भन्ने भो’ उनले सुनाइन्।

स्वास्थ्य मन्त्रालयले केही गर्न नसक्ने भन्दै परराष्ट्र जान भनेको अभिभावकले बताए।  ‘सरकारको जिम्मेवार निकायले नै या जानुस् र उता जानुस् भनिरहेको छ’ एक अभिभावक सागर खड्काले भने ‘अब यस्तै ताल हो भने हमी प्रधानमन्त्री निवासमै धर्ना बस्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय