‘चीनका नेपाली आत्तिनुपर्ने केही छैन’

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपाली र उनीहरूका अभिभावकलाई नआत्तिन आग्रह गरेका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले धैर्य गरेर बस्नुस्, हामी तयारीमै जुटिरहेका छौं।’

उनले चीनबाट फर्काइएकालाई क्वारेन्टाइनमा राख्न केही ठाउँ पनि तय गरिसकेको र अरु आवश्यक तयारीमा जुटेको बताए।
बाँस्कोटाले सरकार चीनसँग नियमित सम्पर्कमा रहेको र त्यहाँ रहेका कुनै पनि नेपालीलाई केही नभएको दाबी गरे।

‘चीनसँग नियमित सम्पर्कमा छौं। त्यहाँ हाम्रो दूतावासले पनि नेपालीसँग सम्पर्क गरिरहेको छ। उहाँहरू अहिले त्यहाँको संक्रमण सन्त्रासले अत्तालिनुभएको हो। हामीलाई पनि चिन्ता छ। हाम्रा नागरिकसँग हाम्रो सरकार सँगै छ,’ बाँस्कोटाले भने, ‘चीनले पनि त्यहाँ सकेजति सबै गरेको छ। हामीले पनि गर्दैछौं। चीनले हामीलाई आश्वस्त पारेको छ।’

उनले नेपालीलाई यहाँ ल्याएर राख्ने, उनीहरूको नियमित परीक्षण र अन्य सबै तयारी भइसक्नासाथ ल्याउने बताए। ‘उहाँहरूलाई ल्याउन हाम्रो दूतावासले पनि सबै प्रबन्ध गरिसकेको छ। उहाँहरू यहाँ आउनासाथ सटक्क परिवारमा जान मिल्दैन। त्यसैले त्यो सबैको प्रबन्ध हामीले गरिरहेका छौं, अब हामी सक्छौं भन्ने हुनासाथ उहाँहरूलाई ल्याइहाल्छौं। जहाज वा पैसाको कुनै समस्या होइन।’

 

प्रधानमन्त्रीले पनि उहानमा रहेका नेपालीलाई ल्याउन जतिसक्दो चाँडै तयारी गर्न मातहतका सबै निकायलाई निर्देशन दिइसकेको उनले बताए। ‘सम्बन्धित सबै मन्त्रालय तथा मातहतका सबैलाई प्रधानमन्त्रीले पनि स्पष्ट निर्देशन दिइसक्नुभएको छ,’ बाँस्कोटाले भने, ‘हामीले केही नगरेको भन्ने होइन। हामी पीडामा रहेका हाम्रा नागरिककै साथमा छौं। सरकार उहाँहरूसँगै छ।’

उनका अनुसार अहिले सरकारले सरकारी तथा अन्य अस्पतालमा पनि जाँचको प्रबन्ध मिलाएको छ। करिब ३ सय बेड जगेडामा राखिराखेको उनले बताए।
सञ्चारमन्त्री बाँस्कोटाले यस्तो अवस्थामा नआत्तिन र धैर्य गर्न आग्रह गरे।

‘यो कुनै अपेक्षित घटना होइन। यो संक्रमण अहिले सबैका लागि दुर्भाग्य हो। तर, दुर्भाग्यभित्र पनि हाम्रो सौभाग्य भनौं चीनमा रहेका कुनै पनि नेपालीलाई केही भएको छैन,’ उनले भने, ‘त्यसैले कोही पनि अत्तालिनु आवश्यक छैन। चिन्ता सरकारलाई पनि छ, त्यहाँका १ सय ८० जनालाई नेपाल ल्याउनासाथ यहाँका ३ करोड जनतालाई नै जोखिममा पार्छन् भन्नेजस्ता अफवाह फैलाउनु भएन।’

सरकारले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक तथा खरिपाटीमा क्वारेन्टाइन स्थापना गरेर चीनबाट फर्काइएकालाई राख्ने व्यवस्था गरेको छ।
चीनको उहानबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ सय ६५ जनाको मृत्यु भइसकेको छ भने २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय