लुम्बिनी प्रादेशिक अस्पतालको सटरमा डोजर चलेपछि…

हेल्थपाेस्ट/बुटवल
प्रकाशित
२०७६ माघ २३ गते १०:०२

लुम्बिनी अस्पताल विकास समितिले सटरका सामान सार्न दिएको अल्टिमेट बुधबार राति १२ बजे सकिएसँगै अस्पताल प्रशासनले डोजर लगाएर सटर भत्काएको छ। बाक्लो सुरक्षाकर्मी तैनाथ गरी अस्पताल प्रशासनले आज बिहानैबाट डोजर चलाएको हो।

सटर व्यवसायीले खाली गर्न मानेपछि अस्पतालले डोजर लगाएर हटाउन सुरु गरेको हो। अस्पतालका नाममा केहि व्यवसायीले सम्झौताअनुसारै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा हालेका थिए।

अदालतले व्यवसायीकाे मुद्दाको अन्तरकालीन आदेश खारेज गरिदिएसँगै अस्पतालले ४८ घन्टे सूचना प्रकाशन गरी सटर खाली गराउन भनेको थियो।

लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको आयोजनामा राखी प्रदेश ५ सरकारले गुरुयोजना बनाइ काम गर्न बजेट व्यवस्था गरेको छ। बुधबार सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई मन्त्रालय बोलाइ यसको तयारीबारे सल्लाह गरेका थिए।

जिल्ला अदालत रुपन्देहीले माघ १७ गते यस्तो आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घन्टाभित्र सटर खाली गर्न चेतावनी दिएको थियो।

 

सूचना पटक-पटक अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए। सटर खाली गर्ने कुरा प्रदेश सरकारको निर्णय भएको हुँदा सरकारको निर्देशनलाई पालना गराउनुपर्ने कर्तव्य भएको उनले बताए।

अदालतले अन्तरकालीन आदेश जारी गरेपछि आइतबार अस्पताल प्रशासनलाई सामाजिक विकासमन्त्री बरालले सटर भत्काउने सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए। यो खबर पाएपछि सटर व्यवसायी केही समय हेरिदिनपर्यो भन्ने अनुरोध गर्दै मन्त्रालय पुगेका थिए।
मन्त्री बरालले ४८ घन्टाभित्र डोजर चल्छ, सामानको जिम्मा हामी लिँदैनौं, व्यवस्था गर्नुहोला भन्दै कडा जवाफ दिएका थिए।

‘सरकारविरुद्ध अदालत गएपछि यो इस्यु हाम्रो प्रेस्टिज बनेको छ,’ उनले व्यवसायीलाई भनेका थिए, ‘अब काम सुरु नगर्ने हो भने एकातिर बजेट खेर जाने र अर्कोतिर व्यवसायीसँग सरकार डराएको अर्थ लाग्छ।’

लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि गर्ने कार्यक्रम प्रदेश ५ सरकारको गौरवको आयोजनामध्ये एक हो। अस्पतालका १ सय ७३ वटा सटर छन्।

अस्पतालका सटर काण्ड 

– २०७६ असार १५ गते अस्पतालद्वारा पाँच वर्षका लागि सम्झौता।

– २०७६ साउन ३० गते कात्तिक मसान्तसम्म सटर खाली गर्न सूचना।

– २०७६ कार्तिक २७ गते अस्पतालमा व्यवसायीद्वारा ज्ञापनपत्र पेस।

– २०७६ कात्तिक २९ गते जिल्ला अदालत, रुपन्देहीमा करार सम्झौता परिपालना गरिपाउँ भनी मुद्दा दायर।

– २०७६ मंसिर १३ गते जिल्ला अदालत, रुपन्देहीबाट अन्तरकालीन आदेश।

– २०७६ माघ १७ गते जिल्ला अदालत, रुपन्देहीबाट अन्तरकालीन आदेश खारेज।

– २०७६ माघ २७ गतेका लागि अदालतद्वारा तारेख मिति।

– २०७६ माघ २१ गते पुनः सटर खाली गराउन सूचना।

– २०७६ माघ २३ गते डोजर चलाउन सुरु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय