एनएमए निर्वाचन : प्रगतिशील समूहको ढिपीले रोकियो मतगणना, कति ठाउँमा गन्ने भन्नेमा विवाद

नेपाल चिकित्सक संघको मतगणना अझै सुरु हुन सकेको छैन । उम्मेदवारबीच मत कति ठाउँमा गन्ने भन्नेमा सहमति हुन नसक्दा बुधबार बिहानै सुरु हुनुपर्ने मतगणना सुरु हुन नसकेको हो । सत्तारुढ नेकपानिकट मानिएको पेसागत समावेशी समूहका एक उम्मेदवारले विवाद झिकेर सहमतिमा नआएपछि गणना प्रभावित भएको हो ।

डा. पुष्पमणि खरालको नेतृत्वमा पेसागत समावेशी समूहबाट महासचिव पदका लागि उम्मेदवार बनेका डा. मधुर बस्नेतले एक ठाउँमा मात्र मतगणना हुनुपर्ने अडान राखेका छन् । एक ठाउँमा मात्र गणना गरेर सबै मत मतपत्र प्रोजेक्टरमार्फत देखाइनुपर्ने उनको अडान छ । प्रत्यक्ष रूपमा महासचिवका उम्मेदवार डा. मधुरले मात्र एकपछि अर्को विवाद झिकेर गणना प्रभावित पार्न खोजेको देखिए पनि उनको पूरै प्यानलकै यसमा साथ रहेको बुझिएको छ ।

सुरुमा डा. मधुरले मतगणनास्थलमा क्यामेरा जडान गनुपर्ने माग राखेका थिए । त्यसपछि निर्वाचन समितिले क्यामेरा जडान गरिदियो । तर, त्यसपछि उनले अर्को विवाद झिके । क्यामेरामा मतपत्र नदेखिने भन्दै प्रोजेक्टरको माग गरे । हुँदाहुँदै उनले एक ठाउँमा मात्र मत गन्नुपर्ने र सबै मत प्रोजेक्टरमा देखाइनुपर्ने माग अघि सारे, जुन सम्भव नरहेको निर्वाचन समितिको भनाइ छ ।

विवाद झिकेर मतगणना प्रभावित पार्ने योजना डा. मधुर एक्लैको नभएर सत्तानिकट प्रगतिशील प्यानलकै भएको त्यतिवेला खुल्यो जब सुरुमा गणनाका लागि हस्ताक्षर गरेका उम्मेदवार नै पछि हटे । डा. खराल नेतृत्वको समूहका उम्मेदवारहरूले पछि डा. मधुरको अडानको बहाना बनाएर मतगणना नगर्न दबाब दिएको निर्वाचन समितिका एक सदस्यले हेल्थपोस्टलाई बताए । यसले डा. मधुरले डा. खराल नेतृत्वको सत्तानिकट समूहले खटाएको प्रतिनिधिका रूपमा विवाद झिकिरहेको पुष्टि भएको छ । प्रगतिशील समूह मतगणना नगर्न दबाब दिएर बाहिरिएको छ ।

तर, निर्वाचन समितिले भने पाँच ठाउँमा मत गन्ने तालिका बनाएको छ । डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहका उम्मेदवार पनि एकभन्दा बढी ठाउँमा एकैपटक मत गनेर छिटो नतिजामा पुग्ने पक्षमा छन् । एक ठाउँमा मात्र गणना गर्दा लामो ६ हजारभन्दा बढी मत गनिसक्न धेरै दिन समय लाग्ने भएकाले निर्वाचन समिति र अधिकांश उम्मेदवार धेरै ठाउँमा गन्ने पक्षमा उभिएका हुन् ।

३० जना उम्मेदवार भएकाले एउटा मतपत्रमा १३ जनालाई प्राप्त मत गन्न केही मिनेट समय लाग्छ । त्यस हिसाबले सबै मत गणना गरिसक्दा निकै समय लाग्नेछ ।

३० मध्ये २९ उम्मेदवारले निर्वाचन समितिले तय गरेको विधिबाट मतगणना सुरु गर्न सही गरिसकेकोमा डा. मधुरको ढिपीकै कारण अड्किएको छ । निर्वाचन समितिले सबैको सहमतिमा छिटै गणना सुरु गर्ने जानकारी दिएको छ ।

नेपालको पहिलो पेसातग संगठन नेपल चिकित्सक संघको २८औँ कार्यकारिणी समितिका लागि उपत्यकाबाहिर ४ र ५ माघमा मतदान भएको थियो । १७ माघदेखि सुरु भएको उपत्यकाको मतदान मंगलबार सकिएको थियो । निर्वाचनमा कुल ६ हजार १ सय ५२ मत खसेको छ, जुन कुल मतदाताको ६२ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय