‘मेरा बाबा सैनिक होइनन्, तर रणमैदानमा छन्’

सुन सिनजोङ एक चिनियाँ डाक्टर हुन्।

विगत १० दिनदेखि उनी चीनको उहान विश्वविद्यालयको रेनमिन अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारका लागि खटिइरहेका छन्।

केही दिन अघि डा.सिनजोङले आफ्नी श्रीमतीले पठाएको एउटा भिडियो सन्देश पाए।

त्यो भिडियोमा उनकी ८ वर्षीया छोरीले लेखेको एउटा निबन्ध थियो। शीर्षक थियो ‘मेरो बुबाको आँखा।’

जाडो बिदाको समयमा ३ कक्षामा पढ्ने उनकी छोरीलाई विद्यालयले गृहकार्य दिएको थियो। त्यसमा आफ्नो बुबाको बारेमा लेख्न भनिएको थियो।
यही बीचमा उहानमा कोरोनाको संक्रमण फैलियो।

श्रीमतीले पठाएको भिडियोमा छोरीले लेखेका निबन्धको ‘स्क्रिन सट’हरु थिए।

छोरीले डाक्टर बुबाको बारेमा लेखेको निबन्ध : मेरो बुबाको आँखा

लेखक : सुन सियाओसुई

८ वर्ष, कक्षा ३

म र मेरो बुबाको भेट केही दिनदेखि भएको छैन। यसको कारण त्यो भयानक नोबेल कोरोना भाइरस हो।

र, हामी भिडियो कलमा मात्रै एक‍अर्कालाई हेर्न पाउँछौं।

मेरो बुबा सैनिक होइन, उहाँ सेतो लुगा लगाएर कोरोना भाइरसविरुद्ध लडिरहेका एक योद्धा हुनुहुन्छ।

मेरो बुबाले मलाई भन्नुभएको छ कि, मेडिकलको त्यो वार्ड नै उहाँको युद्ध मैदान हो।

र, सम्भव भएसम्म भाइरसलाई पराजित गरेर धेरै भन्दा धेरै बिरामीको जीवन बचाउनु नै उहाँको ड्युटी हो।
आज मैले फेरि उहाँसँग भिडियोमा च्याट गरें।

र मैले देखें, उहाँले एउटा नीलो क्याप र सेतो चस्मा लगाउनुभएको थियो। उहाँको नाक र मुख बाक्लो सेतो मास्कले छोपिएको थियो।
मैले उहाँको आँखा मात्रै देख्न पाएँ त्यो पनि सेतो चस्माभित्र।

ती आँखा प्रेमले भरिएका थिए। बलियो आत्मबल, आँसु अनि शक्ति र साहसले भरिएका थिए।

मलाई थाहा छ, उहाँ निकै खतरनाक अवस्थामा हुनुहुथ्यो तर उहाँको आँखा भनिरहेका थिए, ‘म ठिक छु।’

छोरीको निबन्ध पढिसके पछि डा. सिनजोङले छोरीलाई भनेका थिए, ‘म जस्तै मेरा धेरै साथी पनि यो कोरोना भाइरसविरुद्ध लडाइँको अग्रपंक्तिमै छन्। उनी पनि निकै मिहिनेतका साथ काम गरिरहेका छन् र मभन्दा पनि अझै धेरै खतरापूर्ण स्थितिमा छन्। तिनीहरु धेरै प्रशंसनीय छन्।’

उनी मात्रै होइन, यतिवेला चीनका अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाको उपचारार्थ खटाइएको छ।

कसैले पनि आफन्त, परिवार भेट्न पाएका छैनन्।

(पिपुल्स डेलीबाट भावानुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय