आफू एक वर्ष बुढो हुँदा मिर्गौला कति बुढो भयो होला? अवश्य जाँच गराउनुहोस्!

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्, जसको प्रमुख काम शरीरबाट फोहोर फाल्नु हो । हामीले जुनसुकै खानेकुरा खाएपश्चात् शरीरले त्यसलाई ३–४ भागमा छुट्याउँछ । खाएको चिजलाई कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्स आदिमा छुट्याएर शरीरले लिने गर्छ । काम नलाग्ने चिज दिसामार्फत बाहिरिन्छ ।

शरीरले आफूलाई चाहिने तत्त्व लिएपछि पनि फोहोर बाँकी रहन्छ । त्यस्ता फोहोर तत्त्वलाई फाल्ने काम मिर्गौलाले गर्छ । मिर्गौलाभित्र १० लाख यन्त्र हुन्छन् । शरीरलाई आवश्यक चिज माथि नै बस्छ र अनावश्यक चिज पिसाबबाट जान्छ ।

हाम्रो शरीरमा मुटुले एक समयमा जति रगत निकाल्छ, त्यसको २५ प्रतिशत मिर्गौलामा जान्छ । दिनभरिमा १ सय ८० लिटर ब्लड छानिन्छ । त्यसमध्ये पिसाब जम्मा २ लिटर बन्छ । मिर्गौलाले १ सय ८० लिटरमध्ये चाहिने चिज निकाल्दै जान्छ र नचाहिने चिजलाई पहेँलो पिसाब बनाएर निकाल्छ । पहेँलो पिसाबमा पानी पनि रहेको हुन्छ भने फोहोर चिज पनि हुन्छ । बिहानको पिसाब जहिले पनि पहेँलो हुन्छ ।

यसबाहेक पनि मिर्गौलाले शरीरको एसिड बेस ब्यालेन्स मिलाउने, भिटामिन डीको याक्टिभेसन तथा ब्लड प्रेसर कन्ट्रोल गर्ने काम गर्छ ।

८० प्रतिशत मिर्गौला बिग्रएपछि मात्र रोगका जटिल लक्षण देखापर्छन्
ब्लड प्रेसर बढाउने वा घटाउने दुवै काम गराउन सक्छ । ब्लड प्रेसर बढेका वेला मिर्गौलाले पिसाबमा धेरै नुन र पानी पठाउँछ जसले पे्रसर घटाउने काम गर्छ । त्यसैगरी, कम भएका वेला यसले रेनिन नामक हर्मोन सेक्रेसन गर्छ जसले ब्लड प्रेसर बढाउँछ । मिर्गौलाले नै ब्लड प्रेसर नियन्त्रण तथा सन्तुलनमा राख्ने काम गर्छ । त्यसैले दुवै मिर्गौला फेल भएको व्यक्तिमा प्रायः ब्लड प्रेसर बढेको हुन्छ ।

मिर्गौला बिग्रन थाल्यो भने फोहोर जम्मा हुँदै जान्छ । मिर्गौलाले पानी नफाल्दा शरीर सुन्निन थाल्छ । शरीरभित्र फोहोर जम्मा हुँदै जाँदा शरीरको रङ बदलिने, चिलाउने हुन्छ । फोहोर तत्त्वले शरीरका अन्य अंगमा समेत खराबी ल्याउन थाल्छन् । यसले मुटु, ब्रेनलगायत अंगलाई बिगार्छ ।

प्रमुख रूपमा दुईवटा कारणले मिर्गौला बिग्रिन्छ । पहिलो मिर्गौलाको आफ्नै रोग हो, जसमा मिर्गौलामा सोझै लाग्ने रोगका कारण बिग्रिन्छ । दोस्रो कारण अप्रत्यक्ष हुन्छ । यसमा शरीरको अन्य भागमा रोग भयो वा असन्तुलन आयो भने मिर्गौलालाई असर पुग्छ र बिग्रिन्छ ।

अनावश्यक औषधि सेवन तथा अत्यधिक विषादी प्रयोग भएका तरकारी तथा फलफूलको सेवनले मिर्गौला बिगार्न महत्त्वपूर्ण भूमिका खेल्छ । शरीर दुख्यो भनेर अधिक मात्रामा आफूखुसी पेनकिलर सेवन गर्नाले पनि मिर्गौला बिग्रिन्छ । एन्टिबायोटिक्सको जथाभावी प्रयोगले पनि मिर्गौला बिगार्न सहयोग गर्छ ।

त्यसैगरी, शरीरका अन्य विभिन्न रोगले पनि मिर्गौला बिगार्न भूमिका खेलिरहेका हुन्छन् । त्यसमध्ये डायबिटिज पहिलो नम्बरमा आउँछ । डायलाइसिसमा रहेका धेरैजसो बिरामीमा डायबिटिज पाइन्छ । त्यस्तै, रक्तचाप उच्च भयो भने रगत छान्ने स–साना कण फुट्दै जान्छन् र मिर्गौला बिग्रिन्छ ।

एकपटक बिग्रन सुरु भएपछि मिर्गौला थप बिग्रिँदै जान्छ । त्यसकारण मिर्गौलालाई असर गर्ने रोगबाट बच्नु नै मिर्गौला जोगाउने उत्तम उपाय हो । यस्ता रोग लाग्न नदिन आवश्यक सजगता अपनाउनुपर्छ ।

मिर्गौलाको आफ्नै रोग हुन्छ, जसलाई गोमेरु नेफ्रोलाइटिस भनिन्छ । मिर्गौलामा लाग्ने रोगबारे पहिले नै थाहा पाउनुपर्छ । मिर्गौला बिग्रँदा दुख्दैन । मिर्गौला ८० प्रतिशतभन्दा बढी बिग्रिएपछि मात्र बल्ल शरीर सुन्निने, चिलाउने, छालाको रङ फेरिने, खान मन नलाग्ने, तौल घट्ने हुन थाल्छ । ८० प्रतिशत बिग्रिएपछि मिर्गौला जोगाउन सकिँदैन । त्यसकारण सुरुदेखि नै रोग थाहा पाउनु जरुरी छ ।

मिर्गौलाको रोगबारे थाहा पाउने उपाय एउटा मात्र छ, प्रतिवर्ष मिर्गौलाको जाँच गराउने । मिर्गौला परीक्षणमा पिसाब र क्रियाटिनको जाँच गरे पुग्छ ।

प्रत्येक जन्मोत्सवमा मिर्गौला परीक्षण गराउनुहोस्

प्रत्येक जन्मदिनमा तपाईं एक वर्ष बुढो हुनुहुन्छ । आफू एक वर्ष बुढो हुँदा मेरा कुन–कुन अंग बुढा भएछन्, कुन–कुन अंगले के काम गर्छन् भन्नेबारे थाहा पाउनु जरुरी छ । एक वर्ष पुराना भएका मेरा अंगहरू कहाँ कति खराब भएछन् भनेर जाँच गराउनुपर्छ ।

उदाहरणका लागि हामीलाई सडकको छेउबाट हिँड्नुपर्छ भन्ने थाहा छ । तर, छेउबाट हिड्ँदा पनि गाडीले ठक्कर दिँदैन भन्ने निश्चित त छैन नि ! त्यसरी नै गोमेरु नेफ्रोलाइटिस रोग मिर्गौलामा आफैँ सुरु हुन्छ, जुन हामीलाई थाहै हुँदैन । एक वर्षअघिको परीक्षणमा स्वस्थ देखिएको अंग आज ठिक नहुन पनि सक्छ ।

हामीले खानेकुरामा थाहै नपाई केमिकल खाइरहेका छौँ । कतिपय अवस्थामा हामीले नदेखिनेकिसिमले थुप्रै चिजहरू शरीरभित्र प्रवेश गराइरहेका हुन्छौँ, जसले हाम्रा अंगहरूमा खराबी ल्याइरहेका हुन्छन् ।

नेपालमा मिर्गौलाको समस्या भएका यति नै छन् भन्न सकिँदैन । केही अनुसन्धानले ३ लाखमा मिर्गौलाको केही न केही समस्या रहेको देखाएका छन् । त्यसमध्ये करिब ३० हजारलाई मिर्गौलारोग लागेको र ३ हजार डायलाइसिसमा रहेको अनुमान छ ।

उपचारको अवस्था
मिर्गौलाको उपचार धेरैजसो ठूला सहरमै केन्द्रित छ । नेफ्रोलोजिस्ट पनि सहरकेन्द्रित छन् । यस्तो किन पनि भइरहेको छ भने उपचारका लागि हामीलाई डायलाइसिस मेसिन चाहिन्छ, मिर्गौला परीक्षणका प्रविधि तथा उपकरण उच्च गुणस्तरीय हुनुपर्छ । रोग पत्ता लगाउन जहाँ पनि सकिएला, तर उपचारका क्रममा ठूला जाँच आवश्यक हुन्छन् । त्यसैले मिर्गौलाको उपचार सहरकेन्द्रित भएको हो । सहरबाहिर परीक्षण तथा उपचारका लागि अवाश्यक प्रविधि उपलब्ध छैनन् ।

नेपालमा हाल ५० जनाको हाराहारीमा नेफ्रोलोजिस्ट (मिर्गौलारोग विशेषज्ञ) उपलब्ध छन् । प्रतिदिन बिरामी संख्या बढ्दै गएको छ । यसले चिकित्सकमाथि पनि चाप थपिँदै गएको छ ।

प्रारम्भिक लक्षण वा संकेत
मिर्गौला बिग्रिएको पूर्ण जानकारी ८० प्रतिशत बिग्रिएपछि मात्र हुन्छ । तर, कहिलेकाहीँ त्यसअघि नै पनि केही लक्षण देखापर्छन् । पिसाबमा रगत वा फिँज आएको छ भने मिर्गौला बिग्रिन सुरु गरेको हुन सक्छ ।

मुख्यतया ढाडको पछाडि दुख्छ भने मिर्गौलामा इन्फेक्सन वा ढुंगा हुन सक्छ । यसलाई बेवास्ता गर्नुहुँदैन । बेवास्ताले भोलि ठूलो दुर्घटना निम्त्याउन सक्छ । पिसाब गरिरहँदा पहिलेभन्दा फरक किसिमको देखिन्छ, गन्ध आउँछ, पिसाब धेरैपटक लाग्छ, पिसाब पूर्ण रूपमा आउँदैन भने यी मिर्गौला बिग्रन सुरु गरेका प्रारम्भिक लक्षण हुन् ।

त्यसपछि, मिर्गौलाले पिसाबमा भएको फोहोर फाल्न नसकेको अवस्थामा शरीर सुन्निन थाल्ने, थकान बढ्दै जाने, शरीरको रङ परिवर्तन हुँदै जाने, चिलाउन थाल्ने, खानामा अरुचि हुने, श्वास–प्रश्वासमा समस्या, मुटुको चालमा गडबडी आउनेजस्ता समस्या देखिन्छन् ।

हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको मिर्गौलालाई खराब हुन नदिने अथवा खराबी सुरु हुँदै वा कम बिग्रिँदै कसरी पत्ता लगाउने भन्ने नै हो । यो यति धेरै चुनौतीपूर्ण छ कि पूरै मिर्गौला नबिग्रिएसम्म केही थाहै नहुन सक्छ ।

समाधानको पाटो
मिर्गौला बिग्रन नदिन सुगर, बाथ तथा उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । मिर्गौलामा खराबी आइसकेपछि पिसाबमा प्रोटिन देखियो वा अन्य लक्षणबाट पत्ता लगाइन्छ । तर, के मिर्गौलामा कुन रोग छ भन्ने पत्ता लगाएर मात्र उपचार सुरु गर्नुपर्छ । मिर्गौलारोग फरक प्रकृतिका हुन्छन् । उपचारमा प्रयोग गरिने औषधि जति धेरै कडा हुन्छ त्यति नै बढी इन्फेक्सन हुन्छ । त्यसैले रोगको प्रकृति यकिन गरेर मात्र उपचार सुरु गर्नुपर्छ ।

रोग यकिन गर्न धेरैजसोमा मिर्गौलाबाट मासुको टुक्रा निकालिन्छ र परीक्षण गरिन्छ । यो प्रक्रियाबाट मिर्गौलाको खास समस्या पत्ता लगाएपछि मात्र उपचार सुरु गरिन्छ । यो परीक्षणबाट आजको दिनसम्म मिर्गौला कति बिग्रिएको छ भन्ने अन्दाज गर्न सकिन्छ । मिर्गौलाको क्षमताको अन्दाज भएपछि उपचारमार्फत मिर्गौला कति राम्रो हुन सक्छ भन्ने पनि अनुमान गर्न सकिन्छ । यसले कस्तो उपचार विधि अपनाउने, कत्तिको कडा औषधिको प्रयोग गर्ने निर्णय गर्न सहयोग गर्छ ।

उपचार सुरु गरेपछि बिचमा छोड्नुहुँदैन । औषधि सेवनपछि बिचमा ठिक हुन्छ । त्यसपछि बेवास्ता गर्न थाल्ने वा अरुको अनावश्यक सल्लाहमा आउने बानीले समस्या निम्त्याएको छ । हामी चिकित्सक यत्रो वर्ष पढेर, अभ्यास गरेर मिर्गौलाको उपचार गरेर पढाउँछौँ । तर, बिरामी घर गएपछि छिमेकीलाई सोधेर बहकाउमा आउँछन् । कहाँ यत्रो औाषधि खान हुन्छ, योभन्दा आयुर्वेदिकले राम्रो गर्छ, यो औषधिले साइडइफेक्ट गर्छ जस्ता सल्लाहमा आएर औषधि बिचैमा छोड्ने प्रवृत्ति छ ।

साइडइन्फेक्ट प्रत्येक चिजको हुन्छ, धेरै वा थोरै मात्र हो । जसले काम गर्छ, उसले नराम्रो काम पनि गर्छ । औषधि खानेलाई साइडइफेक्ट पनि हुन्छ । औषधि किन खाइरहेको छु, जरुरी छ कि छैन, त्यो मनन गर्नुपर्छ । चिकित्सकको सल्लाहबेगर औषधि प्रयोग गर्नुहुँदैन । जथाभावी प्रयोग गरिने औषधिले मिर्गौलालाई असर गर्छ ।

सुगर, उच्च रक्तचाप, बाथलाई नियन्त्रणमा नहुँदा मिर्गौलामा असर पर्छ । हाम्रो अव्यवस्थित खानेकुराले पनि मिर्गौलामा प्रत्यक्ष असर पुर्याइरहेको हुन्छ । त्यसैले स्वस्थ खानेकुरा खानुपर्छ, जीवनशैली स्वस्थ अपनाउनुपर्छ ।

दैनिक २ लिटर पिसाब बन्ने गरी पानी पिउने
शरीरमा फोहोर जम्मा भइरहेको हुन्छ, त्यसलाई बगाउन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । स्वास्थ्य सामान्य भएको व्यक्तिमा दैनिक २ लिटर पिसाब हुनु जरुरी छ । त्यसैले २ लिटर पिसाब बनाउने गरी पानी खानुपर्छ । जाडो महिनामा २ लिटर पिसाब बनाउन खाना तथा चियामा बाहेक थप १.५ लिटर पानी खानुपर्छ । गर्मी महिना तराईमा २ लिटर पिसाब बनाउन समग्रमा ७–८ लिटरसम्म पानी खानुपर्छ । पानी कति खानेभन्दा पनि २ लिटर पिसाब बनाउनुले अर्थ राख्छ । पानी त खायौँ तर पसिना बनेर निस्कियो, पिसाबमा जान सकेन भने त्यसले मिर्गौलालाई काम गर्दैन ।

स्वस्थ मानिसको बिहान उठ्नेबित्तिकैको पिसाब पहेँलो हुनुपर्छ । किनभने, मिर्गौलालाई प्रकृतिले यसरी बनाइएको छ कि राति सुतिसकेपछि मिर्गौलामा चाहिनेजति मात्र पानी जान्छ । रातिमा धेरैपटक पिसाब लाग्छ भने मिर्गौला बिग्रिएको संकेत हुन सक्छ ।

मिर्गौलारोगबाट बच्ने एक मात्र उपाय भनेको रोग लाग्नै नदिनु हो । एकपटक मिर्गौलामा खराबी आइसकेपछि निको गराउने उपाय निकै कम छन् । पूर्ण रूपमा निको गराउने औषधि छैन, केही न केही तुस बाँकी रहिरहन्छ ।

(हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंसितको कुराकानीमा आधारित)

विश्व मिर्गौला दिवसको सन्दर्भमा केहि समय अघि प्रकाशन गरेको साम्रागीलाई पुन प्रकाशन गरेका हौँ ।

One thought on “आफू एक वर्ष बुढो हुँदा मिर्गौला कति बुढो भयो होला? अवश्य जाँच गराउनुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय