चीनबाट नेपाली फर्काउने तयारी सुस्त

स्वास्थ्य मन्त्रालयले राख्ने ठाउँको निधो नगर्दा चीनबाट नेपाली ल्याउन अझैं ढिलाई हुने भएको छ। उनीहरुलाई ल्याएर कहाँ राख्ने भन्ने अझै यकिन छैन।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मंगलबारसम्म पनि स्थानको टुंगो हुन नसकेको बताए। यद्यपि केही ठाउँ सिफारिस गरिएको उनले बताए। ती ठाउँहरुको बारेमा भने खुलाएका छैनन्।

स्वास्थ्य मन्त्रालयको यो काम(चीनबाट फर्किएकालाई राख्ने ठाउँको टुङ्गो)बाहेक पर्यटन, परराष्ट्र तथा गृहमन्त्रालयले चीनबाट नेपाली ल्याउने आफ्नो तयारी भने लगभग सकिसकेका छन्।  पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले चीनबाट ल्याइने विद्यार्थीका लागि विमानस्थलमा छुट्टै पार्किङ गरिने, छुट्टै राखेर अध्यागमन र लगेजको प्रक्रिया पूरा गरिने बताए। उनीहरुलाई छुट्टै गेटबाट क्वारेन्टाइन एरियासम्म लैजाने व्यवस्था मिलाइएको छ।

तर अहिलेसम्म स्वास्थ्य मन्त्रालयबाट हुनुपर्ने तयारी नभएका कारण कहिले ल्याइन्छ भन्ने समेत नै टुंगो नभएको उनले बताए। ‘उनीहरुलाई फर्काउन कार्यविधि तयार गरिसकेका छौं, नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्ससँग बसेर तयारी गरिसकेका छौं,’ आचार्यले भने।

गृह मन्त्रालयले पनि चीनबाट फर्काएका विद्यार्थी राखेको स्थानमा सिसी क्यामेरा जडान गर्ने र आवश्यकता अनुसार सुरक्षाकर्मी खटाउने तयारी गरेको छ। उनीहरुलाई कहिले फर्काउने भन्ने स्वास्थ्यको तयारीमा निर्भर रहने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए।
उहानबाहेक विभिन्न सहरमा नेपाली रहेकाले उनीहरुलाई एकठाउँमा भेला गर्न समय लाग्ने पौडेलले बताए।

नेपालमा क्वारेन्टाइन सेन्टर नभएका कारण पनि कहाँ राख्ने भनेर समस्या भइरहेको छ।  नेपालमा १४ जनामा परीक्षण गरिएको भएपनि एक जनामा मात्रै कोरोना फेला परेको थियो। उनलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाको परीक्षण तथा उपचारका लागि तीन वटा अस्पतालमा ४३ वटा बेड छुट्याइएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन र बीर अस्पतालमा आइसोलेसन ४३ वटा वेडहरु छुट्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले जानकरी दिए।

विश्वभर २० हजार ६ सय ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ती मध्ये २० हजार ४ सय ६७ जना चीनमा मात्रै छन्।
यो भाइरसका कारण अहिलेसम्म ४ सय २७ जना मानिसको मृत्यु भइसकेको छ भने ६सय ६४ जना मानिस निको भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय