सकियो चिकित्सक संघ निर्वाचन, उपत्यकामा ३३०२ मत खस्यो, कुल मत ६१५२, मतगणना बुधबारदेखि

नेपालको सबैभन्दा पुरानो पेसागत संगठन नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिको निर्वाचन सकिएको छ । उपत्यकामा १७ माघमा सुरु भएको मतदान मंगलबार ४ बजे सकिएको हो । निर्वाचन समितिले उपत्यकाका लागि ५ दिनसम्म मतदानको कार्यतालिका तय गरेको थियो । उपत्यकाका लागि बागबजारस्थित संघको केन्द्रीय कार्यालय भवनलाई एक मात्र निर्वाचन केन्द्र तोकिएको थियो ।

उपत्यकाबाहिरका १६ वटा शाखामा ४ र ५ माघमै मतदान भइसकेको छ । मोफसलका चिकित्सकले १८ वटा निर्वाचन केन्द्रमार्फत मतदान गरेका थिए ।

मतगणना बुधबारदेखि हुने निर्वाचन समितिले जनाएको छ । करिब २ महिनादेखि उम्मेदवारहरु निर्वाचन प्रचार तथा मतदान प्रक्रियामा खटिएकाले आज (मंगलबार) बेलुकी आराम गरेर बुधबार बिहानदेखि मात्र गणना सुरु गर्ने बताइएको छ ।

कुल ६१५२ मत खस्यो, उपत्यकामा ३३०१ मत
छाता संगठनको आगामी नेतृत्व चयनका लागि ६ हजार १ सय ५२ चिकित्सक मतदान प्रक्रियामा सहभागी भएका छन् । उपत्यकामा कुल ३ हजार ३ सय १ र उपत्यकाबाहिर २ हजार ८ सय ५१ मत खसेको छ । संघका देशभरका ९ हजार ९ सय १६ मतदातामध्ये ६ हजार १ सय ५२ ले मात्र मतदान गरेका हुन् ।

उपत्यकामा मतदानको अन्तिम दिन मंगलबार ५८१ मत खसेको छ । यसअघि शुक्रबार ३२६, शनिबार ८२८, आइतबार ८०७ र सोमबार ७५९ चिकित्सकले मतदान गरेका थिए ।

कुल ६२% मतदान, उपत्यकामा ५२%, मोफसलमा ८०%
उपत्याकाबाहिरका १६ शाखामा यसपटक संघका ३ हजार ५ सय ६५ मतदाता थिए । उनीहरुमध्ये २ हजार ८ सय ५१ जनाले मतदान गरे, जुन कुल मतदाताको करिब ८० प्रतिशत हो ।

उपत्यकामा कुल ६ हजार ३ सय ५१ मतदातामध्ये ३ हजार ३ सय १ ले मात्र मतदान गरेका छन् । यो कुल मतदाताको ५१.९ प्रतिशत हो ।
कतिपय मतदाता अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशमा भएकाले पनि केही कम मत खसेको हो । यद्यपि, उम्मेदवारहरुले यो संख्याको मतदानलाई चिकित्सकको उत्साहपूर्ण सहभागिता मानेका छन् ।

गत निर्वाचनभन्दा यसपटक संघका मतदाता उल्लेख्य संख्यामा बढेका थिए । पछिल्लो ३ वर्षमा मात्र संघको सदस्य संख्या करिब ६ हजार बढेको छ । त्यसैअनुसार नयाँ मतदाता पनि थपिएकाले यसपटकको निर्वाचनमा उनीहरु नै निर्णायक हुने अनुमान छ ।

नेपालको पहिलो पेसागत संगठनको आगामी नेतृत्वका लागि चिकित्सकका दुई प्यानल मैदानमा छन् । कुल १३ पदका लागि दुई प्यानलका २६ र ४ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । निवर्तमान कार्यकारिणी समितिका महासचिव डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह मैदानमा छ । सत्तारुढ नेकपानिकट मानिने पेसागत तथा समावेशी समूहको नेतृत्व डा. पुष्पमणि खरालले गरिरहेका छन् । महासचिवमा २ र सदस्यमा २ चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई उम्मेदवारी दिएका छन् ।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा छन्। खासगरी चिकित्सकहरु लोकतान्त्रिक र प्रगतीशील समूहका छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा छन् । जसअनुसार लोकान्त्रिक समूह वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा र प्रगतीशील समूह डा. पुष्पमणि खरालको नेतृत्वमा चुनावी मैदानमा छ । दुई प्यानलबाहेक महासचिवमा प्रगतीशील समूहबाट टिकट नपाएपछि असन्तुष्ट बनेका थप दुई जनाले उमेदवारी दिएका छन् ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहकोषाध्यक्षमा डा. विश्वाराज दवाडी र सहसचिवमा डा. निरजकुमार सिंह मैदानमा छन् । सदस्यहरुमा लोकतान्त्रिक समूहबाट डा. विक्रान्त ढकाल, डा. विपेश आचार्य, डा. नन्दकुमारी गुरुङ, डा. प्रमोद जोशी, डा. रितेश थापा र डा. सञ्जिव तिवारी रहेका छन्।

प्रगतीशील समूहले अध्यक्षमा डा. खराल, बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा, महासचिवमा डा. मधुर बस्नेत, कोषाध्यक्षमा सुरुमा स्वतन्त्र उमेदवारी दिएका डा. सञ्जितकुमार साहलाई नै पछि प्यानलमा राखेर मैदानमा उतारेको छ । प्रगतीशील समूहबाट सहसचिवमा डा. सैलेन्द्र झा, सहकोषाध्यक्षमा डा. उदयनारायण सिंह मैदानमा छन् ।

महासचिवमा बस्नेतसहित डा. अजय कुमार मिश्र, डा. दीपेन्द्र पाण्डेले उमेदवारी दिएका छन् । दुबै प्रगतीशीलबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका उमेदवार हुन्। प्रगतीशीलबाट सदस्यका लागि डा. दिपकप्रसाद कोइराला, डा. जगदिशचन्द्र विष्ट, डा. लिजन महर्जन, डा. राकेश कुमार साह, डा. सुमान काफ्ले र डा. त्रिभुवन चन्द्र झा रहेका छन्। तीबाहेक स्वतन्त्र रुपमा सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय