बाँकेमा कोरोनाविरुद्ध सतर्कता शून्यप्रायः, जिल्ला स्वास्थ्य प्रमुख भन्छन्- माथिबाट कुनै निर्देशन आएको छैन

हेल्थपोस्ट नेपाल

देश र बाँकी दुनियाँलाई घातक कोरोना भाइरसले सतर्क बनाइरहँदा बाँकेमा भने सावधानी तथा पूर्वसतर्कतालाई गम्भीर रूपमा लिइएको छैन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको कोरोना भाइरसको सम्भावित जोखिमप्रति बाँके जिल्ला उदासिन देखिएको छ।

भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सेवाले जोडिएको बाँकेमा कोरोना संक्रमितको आवत–जावत हुन सक्ने भएकाले संक्रमणको जोखिमप्रति वेलैमा सचेतता अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन्। तर, अहिलेसम्म भाइरसको सम्भावित जोखिम रोक्न जिल्लामा विशेष व्यवस्था नभएको बाँके प्रशासनले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुुर खड्काले सीमानाकामा आवतजावत गर्ने मानिसमा कुनै शंकास्पद लक्षण देखिए अस्पतालसम्म पुर्याउन सतर्कता अपनाइएको भए पनि कोरोनाकै लागि विशेष व्यवस्था नगरिएको बताए। ‘हामीले अहिले कोरोनाको संक्रमण भइहाल्ने आशंका गरेका छैनौँ। त्यसकारण विशेष व्यवस्था गर्नेभन्दा पनि सीमामा तैनाथ सुरक्षा निकायलाई सतर्क रहन भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने।

नेपालगन्ज नगरपालिकाले पनि नेपाल-भारत सीमामा निगरानीका लागि दुई स्वास्थ्यकर्मी खटाएको छ। विशेषगरी, कोरोना भाइरस संक्रमणको लक्षण देखापरेका व्यक्तिमाथि निगरानीका लागि टोली खटाइएको हो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले कोरोनाको विषयमा माथिबाट कुनै निर्देशन नआएको बताए। ‘यसबारे केही निर्देशन आएको छैन,’ शाहले भने, ‘हामीले पनि जिल्लामा कुनै कार्यक्रम तय गरिसकेका छैनौँ।’ उनले बाँकेका संक्रमण भित्रिन सक्ने नाकाहरूमा पोस्ट बनाउनुपर्ने आवश्यकता औँल्याए।

जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले कोरोनाको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सचेतनामूलक सन्देशहरू भने पाएको जानकारी दिए। ‘अहिले माथिबाट केही सन्देशमूलक सामग्री प्राप्त भएको छ। अब केही दिनमा के गर्ने भन्ने निर्देशन आएमा हामीले त्यहीअनुसार गर्नेछौं,’ शाहीले भने।

बाँकेमा संक्रमणको जोखिम छैन भनेर आवश्यक सतर्कतालाई नजरन्दाज गर्न नहुने चिकित्सकहरू बताउँछन्। भारतसँगको नाका रूपैडिहाबाट पनि संक्रमित भित्रिने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउनु आवश्यक रहेको उनीहरूको सुझाब छ। सीमामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क राखिएमा त्यसले शंकास्पद संक्रमितको पहिचान गरी उपचारमा लैजान सजिलो हुने चिकित्सकको भनाइ छ। सरकारीतवरबाट मात्रै नभई सर्वसाधारणले पनि सतर्कता अपनाउनु आवश्यक छ।

कोरोनाका सम्भावित लक्षण देखिएमा हेलचेक्य्राइँ नगर्न जिल्ला जनस्वास्थ्य प्रमुख शाहले आग्रह गरेका छन्। कोरोना प्रभावित देशबाट आएका व्यक्तिमा १००.४ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आएमा श्वास-प्रश्वासमा अत्यधिक समस्या देखिएमा र रुघाखोकीका जस्तै लक्षण देखिएमा कोरोनाको संक्रमण भएको शंका गर्नुपर्ने उनको भनाइ छ। यस्ता लक्षण देखिएमा स्वास्थ्यसंस्थामा सम्पर्क गर्न उनले आग्रह गरे।

यो भाइरसको संक्रमणबाट बच्न नियमित साबुनपानीले हात धुने, खोक्दा वा हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने, फ्लुको जस्तो लक्षण देखिएका जोकोहीबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीसँग असुरक्षित सम्पर्कबाट बच्ने, मासुजन्य खाद्यपदार्थ राम्ररी पकाएर मात्र खानेजस्ता व्यवहार अपनाउन पनि उनको सुझाव छ।

सरकारले चीनबाट फैलिएको नोवेल कोरोना भाइरस प्रकोपको नेपालमा जोखिम नरहेको स्पष्ट पारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरसको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताएका छन्।

विश्वव्यापी बन्दै गएको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ४२६ पुगेको छ। चीनबाहेक फिलिपिन्समा भाइरसका कारण एकजनाले ज्यान गुमाएका छन्। चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या २० हजार ३ सय ८३ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रूपमा यससम्बन्धी विवरण सार्वजनिक गर्ने गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *