२४ घण्टामा ५८ मृत्यु, २१०० बढी संक्रमित, अमेरिकाले सहयोगको साटो त्रास फैलायो : चीन

चीनबाट सुरु भएर समग्र विश्वलाई नै चुनौती दिइरहेको नोबेल कोरोना भाइरस संक्रमण फैलिने क्रम जरी छ। चीनमा पछिल्लो २४ घण्टामा भाइरस संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ भाइरसले ३ सय ६१ जनाको ज्यान लिइसकेको छ, जसमा ३ सय ५० जना हुबेई प्रान्तका छन्। चीनमा हालसम्म १७ हजार २ सय २२ संक्रमित भेटिएको अधिकारीले पुष्टि गरेका छन्।

गत डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको भाइरस विश्वका करिब दुई दर्जन देशमा फैलिसकेको छ। चीनबाहेक फिलिपिन्समा एकजनाको संक्रमणबाट मृत्यु भएको छ। विश्वभर कम्तीमा १७ हजार ४ सय ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। नेपालमा उहानबाट फर्किएका एक विद्यार्थीमा संक्रमण पुष्टि भएकोमा उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। छिमेकी भारतमा तीनजनामा संक्रमण पुष्टि भएको छ। तीनवटै केस केरल प्रान्तमा देखिएको हो। अमेरिकामा ११ जनामा संक्रमण पुष्टि भएको छ।

अमेरिकाले दुःखमा साथ दिनुको साटो त्रासमात्र फैलाइरहेको छ : चीन
चीनले अप्ठ्यारो पर्दा सहयोग गर्नुको साटो अमेरिकाले भाइरसबारे त्रासमात्र फैलाइरहेको आरोप लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले सोमबार अमेरिकाले संकट घडीमा खासै सहयोग नगरी उल्टै त्रास फैलाइरहेको जनाएको हो। अमेरिकाले सबै चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएर असहयोग गरेको र रोगको भय बाँडिरहेको चीनको भनाइ छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले प्राणघातक भाइरससित लडिरहेको अवस्थामा अमेरिकाले खासै महत्त्वपूर्ण सहयोग नगरेको बताइन्। ‘अमेरिकाले केवल भाइरसको त्रासमात्र फैलाइरहेको छ,’ उनले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘उसले खासै महत्त्वपूर्ण सहयोग भने गरेको छैन।’

अमेरिकाले पछिल्लो समय चीन भ्रमण गरेका सबै व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाएको छ। गत शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध विदेशी पर्यटकका लागि मात्र नभएर अमेरिकी नागरिकका लागि समेत लागू हुने बताइएको छ। चीन भएर आएका आफ्नै नागरिकलाई समेत देश प्रवेशमा रोक लगाउने अमेरिकी निर्णयसँगै भाइरसको भय थपिएको चीनसहित अन्य देश र आमजनको समेत बुझाइ छ।

चिनियाँ नागरिकमाथि प्रतिबन्ध लगाउनेमा अमेरिका एक्लो भने होइन। भाइरस संक्रमण २० भन्दा बढी देशमा फैलिएसँगै सबैले आफ्नो सीमानाकामा कडाइ गरेका छन्। त्यसमाथि पनि विश्वका सबैजसो देशमा देखिएका संक्रमित चीन भ्रमणबाटै फर्किएको पाइनुले पनि चिनियाँ नागरिकलाई वा चीन भ्रमण गरेर आएकालाई देशमा प्रवेश दिन सबै डराइरहेका छन्।

चीनबाहिर आइतबार भएको एकमात्र मृत्युमा पनि चीनबाट फर्किएकी चिनियाँ महिलाबाट संक्रमण आशंका गरिएको छ। संक्रमणबाट मृत्यु भएका ती चिनियाँ नागरिक भाइरस सुरु हुनु निकै अघिदेखि चीन नगएको तर भर्खरै चीन गएर आएकी साथीसित सँगै बस्दै आएको बताइएको छ। सबै घटना चीनसँग जोडिँदा नै अहिले समग्र विश्वले चिनियाँ नागरिक र चीन घुमेका पर्यटकमाथि निगरानी बढाएका छन्।

चीनले भाइरससित डटेर लडिरहेको छ। संक्रमितको उपचारकै लागि नाै दिनभित्र १ हजार बेडको अस्पताल तयार गरी १०औं दिन सोमबारदेखि सेवा सुरु गरिसकेको छ। चीनको यो कामले समग्र विश्व आश्चर्यचकित भएको छ र प्रशंसा गरिरहेको छ। तर, भाइरस माहामारी यति कडा छ कि १ करोड १० लाख जनसंख्याको उहान सहरलाई पूरै बन्द गरेर दिनरात नियन्त्रणमा खट्दा पनि संक्रमण तीव्र गतिमा बढिरहेको छ । यद्यपि, चीनले आफू भाइरससित लड्न पूर्णतः सक्षम रहेको बताइरहेको छ, जुन उच्च प्रशंसायोग्य छ।

चीनको सुदृढ विश्वास, पर्याप्त साधनस्रोत परिचालन र दृढ इच्छाशक्तिले छिटै भाइरसमाथि नियन्त्रण पाउन सफलता मिल्ने आशा गर्न सकिन्छ। तर, विश्व स्वास्थ्य संगठनले भाइरसलाई लिएर वैश्विक आपतकाल घोषणा गरिसकेको र समग्र मानव जातिकै लागि भाइरस चुनौती बनिरहेको अवस्थामा सबै राष्ट्र मिलेर सामना गर्नुपर्नेमा अमेरिकाको व्यवहारबारे चीनको खुलासाले चिन्तित बनाएको छ।

हङकङका स्वास्थ्य कर्मचारी हडतालमा, चीनसितको सीमा बन्द गर्न माग
हङकङका अस्पतालमा कार्यरत हजारौं कर्मचारी सोमबार हडतालमा उत्रिएका छन्। कोरोना भाइरसको बढ्दो खतरालाई मध्यनजर गरी चीनसितको हङकङको सीमानाका बन्द गर्नुपर्ने उनीहरूको माग छ।

हङकङले चीन जाने रेल र डुंगामाथि पहिले नै रोक लागाइसकेको छ। तर, स्वास्थ्य कर्मचारीले सीमा पूर्णतः बन्द गर्नुपर्ने माग गरिरहेका छन्। हङकङका अधिकारीले पूर्णरूपमा सीमा बन्द गर्नु डब्लुएचओको निर्देशनविपरीत हुने बताउँदै आएका छन्।

हङकङमा १५ जनामा संक्रमण पुष्टि भइसकेको छ। चीनसितको आवतजावत नरोकिँदा भाइरसले महामारी रूप लिन सक्ने डर स्वास्थ्यकर्मीमा छ ।

कहाँ कति संक्रमित?
चीन १७,२२२
हालसम्म जापान २०
थाइल्यान्ड १९
सिंगापुर १८
हङकङ र दक्षिण कोरिया १५–१५
अस्ट्रेलिया १२
अमेरिका ११
जर्मनी र ताइवान १०–१०
मकाउ र मलेसिया ८–८
फ्रान्स र भियतनाम ६–६
युएई ५
क्यानडा ४
भारत ३
इटाली, फिलिपिन्स र बेलायत २–२
नेपाल, कम्बोडिया, स्पेन, फिनल्यान्ड, स्विडेन र श्रीलंका १–१

हुबेईबाट फर्काइने नेपाली विद्यार्थी राख्ने ठाउँ मंगलबार टुंगो लगाइने
सरकारले कोरोना भाइरसको केन्द्रविन्द‌ु हुबेई प्रान्तबाट फर्काइने नेपाली विद्यार्थीलाई राख्ने ठाउँ मंगलबारसम्म टुंगो लगाउने जनाएको छ। सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राख्ने ठाउँबारे अझै छलफल भइरहेको जानकारी दियो।

आइतबार १ सय ८० नेपाली विद्यार्थीले नेपाल फर्किन फारम भरेका थिए। हुबेईमा फसेका नेपालीलाई स्वदेश फर्किन इच्छुक भए फारम भर्न चीनस्थित नेपाली दूतावासले आइतबार ९ बजेसम्मको समय दिएको थियो।

बन्द गरिएको हुबेई प्रान्तमा रहेका नेपालीका लागि मात्र फारम भर्न भनिए पनि अन्य प्रान्तकाले समेत भरेका थिए। फारम रुजु क्रममा हुबेईमा रहेका १ सय ८८ मध्ये १ सय ८० विद्यार्थी फर्किन इच्छुक देखिएको दूतावासले जनाएको छ।

नेपाल फर्किन चाहनेसित सरकारले फारम त भरायो, तर मापदण्डअनुसार ल्याएर राख्ने ठाउँ तय भएको छैन। राख्ने स्थान, उपचार गराउने स्थान र जनशक्तिको विश्वासिलो आधार नभई चीनले कुनै पनि देशका नागरिकलाई पठाउन मिल्दैन। भाइरसको उपचारसम्बन्धी मापदण्ड पूरा नगरी ल्याउने मात्र भनिँदा फर्किन चाहने नेपालीको प्रतीक्षा लम्बिएको हो। यसअघि अमेरिका, भारतलगायतले आफ्ना नागरिक फिर्ता लगिसकेका छन्।

मंगलबार राख्ने ठाउँ टुंगो लागे एयरलिफ्टिङ गरेर नेपाल ल्याउने प्रक्रिया बढ्ने छ। उनीहरूलाई नेपाल ल्याएपछि १४ दिनसम्म ‘क्वारेन्टाइन’ मा राख्नुपर्ने हुन्छ। यदि संक्रमण देखिए आइसोलेसन वार्डमा राखेर उपचार गराउनुपर्छ। यसका लागि सरकारले केही अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिसकेको छ।

नेपालमा गैरसैनिकका लागि क्वारेन्टाइनमा राखिएको यो पहिलो घटना हुनेछ। यसअघि इबोला प्रकोपका बेला नेपाली सेनालाई प्रभावित क्षेत्रबाट झिकाई क्वारेन्टाइनमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय