१३ जिल्लाका ७५ लाखलाई २५ माघदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै, कसले खान हुँदैन ?

हेल्थपोस्ट
प्रकाशित
२०७६ माघ २० गते १७:०५

अपांगता निम्त्याउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले निवारणका लागि सरकारले २५ माघदेखि औषधि सेवन गराउने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार पत्रकारसम्मेलन गर्दै हात्तीपाइलेको जोखिम रहेका १३ जिल्लामा औषधि सेवन कार्यक्रम सुरु गर्ने जानकारी दिएको हो ।

सरकारले विगत वर्षहरूमा पनि हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउँदै आएको छ । यस वर्ष १३ जिल्लामा ७४ लाख ६१ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए ।

१७ वर्ष अभियान चलाएको सरकार रोगीको संख्याबारे समेत अनभिज्ञ छ भने निवारण कसरी ?
नेपालमा सन् २००३ देखि नै हात्तीपाइले रोग निवारण अभियान सुरु गरिएको थियो । सुरुमा हात्तीपाइलेको जोखिम पहिचान भएका ६३ जिल्लामा औषधि खुवाइएकोमा हाल १३ जिल्लामा आइपुगेको छ । तर, सन् २०२० का लागि राखिएको निवारण लक्ष्यमा भने सरकार विफल भएको छ ।

१७ वर्षदेखि हात्तीपाइलेविरुद्धको अभियान चलाइरहेको सरकारसँग रोगबाट पीडित बिरामीको संख्या र अवस्थाबारे भने कुनै तथ्यांक छैन । बिरामीको संख्या नै थाहा नभएपछि अभियानले रोग बढ्न दियो वा दिएन, औषधिको कस्तो प्रभाव पर्यो लगायत अत्यावश्यक विश्लेषण तथा परिमार्जनमा असर पुगेको छ । यसले कार्यक्रम प्रभावकारी बन्न नसक्दा नै निवारण लक्ष्य हासिल नभएको विज्ञहरुको विश्लेषण छ ।

१५ हजार स्वास्थ्यकर्मी परिचालित हुने, लागत साढे २१ करोड
कार्यक्रमअन्तर्गत औषधि सेवन गराउन १३ जिल्लामा ५ हजार ८ सय ८५ स्वास्थ्यकर्मी तथा १० हजार ८ सय ३८ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने महाशाखाले जनाएको छ । औषधि खरिद तथा परिचालनमा करिब २१ करोड ५३ लाख ७८ हजार खर्च लाग्ने महाशाखाको भनाइ छ ।

यी जिल्लामा खुवाइँदै छ औषधि
झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, र कञ्चनपुरमा हात्तीपाइलेको औषधि खुवाउन लागिएको हो ।

कसले र कस्तो अवस्थामा खान हुँदैन ?
हात्तीपाइले रोगको औषधि २ वर्ष नपुगेका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्केरी महिला, सिकिस्त बिरामीले खानुहुँदैन । क्यान्सर, मुटु, फोक्सो, मिर्गौलाको रोग भएका व्यक्ति र छारोरोग भएकाले पनि हात्तीपाइलेको औषधि सेवन गर्न हुँदैन ।

२४ घण्टाभित्र कडा ज्वरो आएका बिरामी र कडा कुपोषण भएका ५ वर्षमुनिका बालबालिकाले पनि यो औषधि सेवन गर्न नहुने महाशाखाको भनाइ छ । साथै, खालीपेटमा यो औषधि सेवन नगर्नसमेत चिकित्सकको सल्लाह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय