भरतपुर अस्पतालमा ‘सुसार’ कार्यक्रम सुरु, नवजात शिशु मृत्युदर ५०% घटाउने लक्ष्य

मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन चितवनमा ‘सुसार’ कार्यक्रम सञ्चालन गरिएको छ । गोल्डेन कम्युनिटी र भरतपुर अस्पतालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।

मातृ तथा नवजात शिशु स्याहारमा गुणस्तरीय सेवाबारे सर्वसाधारणसक्षम जानकारी पुर्याउन भरतपुर अस्पतालमा दुई वर्षसम्म सुसार कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक रेजिना गुरुङले जानकारी दिइन् ।

कार्यक्रमले गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालहरूमा विद्यमान मातृ तथा शिशु स्याहार सेवामा ज्ञान, सीप तथा प्रविधिको प्रयोगमार्फत गुणस्तर अभिवृद्धि गरी नवजात शिशु मृत्युदरमा कमी ल्याउने विश्वास गुरुङले व्यक्त गरिन् ।  ‘भरतपुर अस्पतालमा अहिले पनि नवजात शिशु मृत्युदर कमै छ । यसलाई थप प्रभावकारी बनाउन हामी सक्दो प्रायास गर्नेछौँ,’ उनले भनिन्, ‘दुई वर्षको अवधिमा नवजात शिशु मृत्युदर ५० प्रतिशत घटाउने लक्ष्य राखेका छौँ ।’

कार्यक्रमका लागि आवश्यक रकम गोल्डेन कम्युनिटीले बेहोर्नेछ छ । कार्यक्रमबाट तालिम र सुपरिवेक्षणद्वारा मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने उनले बताइन् । ‘स्वास्थ्यकर्मी र आमाले शिशुको स्याहारमा ध्यान नदिँदा संक्रमण बढ्ने गर्छ,’ उनले भनिन्, ‘त्यसलाई मध्यनजर गर्दै आवश्यक उपकरण र तालिम प्रदान गर्नेछौँ ।’ जवजात शिशुको मृत्युमध्ये १९ प्रतिशत संक्रमणका कारण हुने गर्छ ।

कार्यक्रममार्फत भ्रूणको मुटुको धडकन जाँचका लागि मोयो, नवजात शिशुको धडकन जाँचका लागि नियोबिट तथा जन्मँदा श्वास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास–प्रश्वास गराउन अपराइट ब्याग–मास्कजस्ता आधुनिक उपकरणको सेवा बढाउने लक्ष्य राखिएको छ ।

गैरसरकारी संस्था गोल्डेन कम्युनिटीले चितवनसहित देशका आठवटा सरकारी अस्पतालमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेशअन्तर्गत भरतपुर अस्पतालमा मात्र यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कोसी अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम सञ्चालन गरिएको गोल्डेन कम्युनिटी सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिइन् ।

उनका अनुसार सबैभन्दा धेरै सुत्केरी गराउने केन्द्रीय अस्पताल (केन्द्र सरकारमातहतको) बाट छनोट गरी भरतपुरमा कार्यक्रम सुरु गरिएको हो । भरतपुर अस्पतालमा कार्यक्रम सञ्चालन गर्न ४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सरकारले हालको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य राखेको छ । सरकारको योजना सफल पार्न यस्ता कार्यक्रमले महŒवपूर्ण भूमिका खेल्ने शर्माले बताइन् ।

नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणको तथ्यांकले देखाएको छ । त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मने र करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मृत्यु हुने गरेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणलाई उद्धृत गर्दै शर्माले बताइन् । महिना नपुगी जन्मनु, जन्मनासाथ श्वास फेर्न नसक्नु तथा संक्रमणका कारण नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यसमध्ये महिना नपुगी जन्मका आधारमा मत्यु हुनेको संख्या ३१ प्रतिशत छ । विभिन्न कीटाणुको संक्रमणका कारण १९ प्रतिशतको मृत्यु हुने गरेको छ ।
नवजात शिशु मृत्युमा सबैभन्दा कमजोर अवस्था प्रदेश २ को छ । प्रदेश २ मा हजार जन्ममा ३१ जनाको मृत्यु हुने गरेको छ । सबैभन्दा कम वाग्मती प्रदेशमा १८ जना प्रतिहजार छ ।

कार्यक्रमपश्चात् नवजात शिशु तथा मृत जन्मने शिशुको संख्यामा कमी ल्याउने लक्ष्य लिइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

‘सुरक्षित तरिकाले स्वस्थ बच्चा जन्माएर आमाले घर लैजाऊन् भनेरै यो कार्यक्रम सञ्चालन भएको छ,’ डा. तिवारीले भने, ‘यस कार्यक्रमले आवश्यक उपकरण पनि थप गर्ने हुँदा नवजात शिशुको मृत्युदर क्रमशः घट्ने विश्वास लिएको छु ।’  चेतनाको कमी प्रशासनिक कमजोरी र आर्थिक अभावका कारण नवजात शिशुको मृत्यु हुने गरेको उनले बताए ।

अहिले भरतपुर अस्पतालमा मातृ तथा नवजात शिशु मृत्युदर घट्दै गएको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधि बर्सौलाले जानकारी दिए । उनका अनुसार गत वर्ष १३ हजार ५ सय ४५ जनाले भरतपुर अस्पतालमा सुत्केरी गराएकोमा २ सय १८ शिशुको मृत्यु भएको थियो । त्यसमध्ये १ सय ४५ शिशु मृत जन्मिएका थिए भने ३३ को उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको ६ महिनामा १ सय ४ जना नवजात शिशुको मृत्यु भएको छ । त्यसमध्ये ९० मृत जन्मिएका थिए भने १४ को उपचारका क्रममा मृत्यु भएको थियो ।

नवजात शिशु मृत्युदर घटाउन भरतपुर अस्पतालले मायाको न्यानो अँगालो (कंगारु) सेवा र आइसियू कक्षको सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय