कोरोना भाइरससित लड्न केन्द्र र सातवटै प्रदेश सरकारको यस्तो छ तयारी

विश्व स्वास्थ्यका लागि चुनौती बनिरहेको कोरोना भाइरसबाट देशलाई बचाउन नेपाल सरकार र सातवटै प्रदेश सरकारले सावधानी र उपचारका लागि पूर्वतयारी गरेका छन् । सीमानाका र विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ भने संक्रमणको जोखिमलाई मध्यनजर गरी उपचारका लागि विभिन्न अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएका छन् । सावधानीका उपायहरू अवलम्बन गर्न केन्द्र र प्रदेश सरकारहरूले आमजनमा आह्वान गरेका छन् । यद्यपि, रोगको गम्भीरता र जोखिमअनुसार सरकारहरूको तयारी सन्तोषजनक भने पाइएको छैन ।

भाइरस संक्रमणले चीनमा ३६२ र फिलिपिन्समा १ जनाको मृत्यु पुष्टि भएको छ भने करिब १७ हजार ५ सय संक्रमित भइसकेका छन् । विश्वका करिब २ दर्जन देशमा संक्रमण फैलिसकेको छ भने विश्व स्वास्थ्य संगठनले वैश्विक जनस्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ । चीनमा दिनहुँ ४०–५० जनाले ज्यान गुमाइरहेका छन् । नेपालमा उहानबाट फर्केका विद्यार्थीमा संक्रमण पुष्टि भएकोमा अरू केस भने हालसम्म देखिएको छैन ।

दिनहुँ ठूलो संख्यामा आवत–जावत हुने छिमेकी देशलाई भाइरसले आक्रान्त बनाइरहँदा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोनासित लड्न देशमा कस्तो तयारी गरेका छन् त ?

केन्द्र सरकार
– २०७६ माघ १८ गते कोरोना भाइरससम्बन्धी प्राविधिक समितिले नेसनल क्यापासिटिज रिभ्यु टुल्स फर अ नोवेल कोरोना भाइरस (एलसिओभी) को मूल्यांकनअनुरूप समितिका सदस्यहरूका बीचमा कार्य विभाजन ।
– नोबेल कोरोना भाइरसबाट हुन सक्ने स्वास्थ्य आपत्काल तथा यसको जोखिम न्यूनीकरणका लागि मेडिकल डाक्टरसहितको टोली पोखरा, लुम्बिनी र चितवनमा खटाइएको ।
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कको अनुगमन
– चीनमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याउने सन्दर्भमा अन्तरमन्त्रालय समन्वयमा आवश्यक तयारी भइरहेको ।
– कोरोनाभाइरस सम्बन्धित सूचनामूलक सामग्रीहरू मुख्य स्थानहरूमा वितरण गरिनुका साथै रेडियो तथा टेलिभजिनमार्फत सन्देशमूलक सूचनाहरू प्रसारण ।

प्रदेश सरकारहरूबाट 2019–ncov सम्बन्धी गरिएका तयारी तथा प्रतिकार्य
प्रदेश १
मुख्य स्थानहरूमा सन्देशमूलक सूचनाप्रवाह तथा चेतनाविस्तारको काम स्वास्थ्यकर्मीद्वारा भइरहेको ।
इलामको पशुपतिनगरमा हेल्थ डेस्क सञ्चालन ।

प्रदेश २
रेडियोमार्फत सन्देशमूलक सूचना प्रसारण ।
तीनवटा विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने तयारी ।

बागमती प्रदेश
सबै अस्पताललाई सतर्क एवम् तयारी अवस्थामा रहन निर्देशन
2019–ncov  सम्बन्धी सूचनामूलक सामग्रीको वितरण ।
तातोपानी, केरुङ नाका र भक्तपुरमा हेल्थ डेस्क सञ्चालन ।
थर्मल स्क्यानर खरिद प्रक्रिया सुरु ।
विद्यालय नर्समार्फत विद्यालयमा सन्देशप्रवाह गरिएको ।

गण्डकी प्रदेश
विमानस्थलमा हेल्थ डेस्क सन्चालन ।
प्रादेशिक स्वास्थ्य निर्देशकको अध्यक्षतामा टास्क फोर्स कमिटी गठन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था ।

कर्णाली प्रदेश
टास्क फोर्स कमिटी गठन ।
नाकाहरूमा हेल्थ डेस्क स्थापना ।

सुदूरपश्चिम प्रदेश
सबै सरोकारवालालाई तयारी एवम् सतर्क अवस्थामा रहन निर्देशन ।
जिल्ला तथा स्थानीय तहसँगको समन्वयमा जनमानसमा सन्देशमूलक सूचनाप्रवाहका लागि समिति गठन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय