मास्क कालोबजारी नगर्न सरकारको चेतावनी, तिब्बतलाई १२ हजार थान सहयोग

हेल्थपोस्ट नेपाल

कोराना भाइरस संक्रमणबाट बच्न मास्क प्रयोग बढेपछि बजारमा अभाव सुरु भएको छ। भारत र चीनले मास्क निर्यात रोकेसँगै अभाव बढेको हो।कोरोना महामारी चुलिँदै गएपछि सावधानी आपनाउने क्रममा मास्क प्रयोग आम बनेसँगै एक सातादेखि माग ह्वात्तै बढेको छ।

नेपालले पनि मास्क निर्यात रोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। भन्सार विभाग र अध्यागमन विभागमा मास्क निर्यात नगर्न निर्देशन दिइसकेको श्रेष्ठले बताए।

‘नेपालमा उत्पादन भइरहेका सबै मास्कले भाइरसबाट सुरक्षित राख्न सक्दैनन्,’ उनले भने, ‘थ्री फोल्ड’ को उत्पादन बढाउन औषधि विभागले निर्देशन दिइसकेको छ।’

मास्कको माग बढ्न थालेपछि कालोबजारी गर्न औषधि पसलहरूले लुकाएको हुनसक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ। लुकाएको शंका लागे पसलहरूमा छापा मारिने प्रवक्ता श्रेष्ठले बताए। कालोबजारी नियन्त्रण गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्देशन दिइसकेका छन्।

९० रुपैयाँ बट्टाको मास्क ४५० सम्म बिक्री हुँदै
मस्कको माग बढेपछि सप्लायर्सदेखि खुद्रा व्यापारीसम्मले कालोबजारी गर्न थालेका छन् । कृत्रिम अभाव सिर्जना गरेर पाँचगुणासम्म बढी मूल्यमा विक्री–वितरण भइरहेको पाइएको छ। एक बट्टाको ९० रुपैयाँ पर्ने साधारण मास्कको ५ सयसम्म लिएर विक्री भइरहेको छ।

‘९० देखि १०० रुपैयाँमा विक्री गर्दै आएको मास्क अहिले ४५०–५०० मा विक्री भइरहेको छ,’ क्षेत्रपाटीस्थित एक होलसेलर हेल्थपोस्टसित भने, ‘त्यही पनि अहिले त सीमित व्यक्तिसित मात्र छ, आम रूपमा जति तिरे पनि पाइँदैन।’

१२ हजार मास्क तिब्बत पठाइयो
कोरोना भाइरसले आक्रान्त चीनमा यतिबेला मास्कको माग अत्यधिक छ। यसैबीच ‘नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’ चीनको स्वशासित क्षेत्र तिब्बतमा १२ हजार थान मास्क पठाएको छ।

नेपालसँग सीमा जोडिएको क्षेत्र भएकाले तिब्बतमा भाइरस फैलिएमा नेपालमा पनि जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै तिब्बत चेम्बर अफ बोर्डर ट्रेडलाई मास्क सहयोग पठाइएको इन्डस्ट्रीले जनाएको छ।

नेपाल र चीनका चेम्बर संघबीच ६ वर्षअघि नै समझदारीपत्रमा हस्ताक्षर भई आर्थिक, व्यापारिक, पर्यटनलगायत क्षेत्रमा लगानी प्रवर्द्धन आदि सहयोग आदान–प्रदान हुँदै आएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *