चीनबाट नेपाली ल्याउँदै सरकार, तर कहाँ राख्ने, कसरी ल्याउने ?

नेपाल सरकारले चीनको हुबेईबाट नेपाली फर्काउने तयारी गरेको छ। तर, उनीहरुलाई नेपाल ल्याएर कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकार आफैँ स्पष्ट छैन।

कोरोना भाइरसग्रस्त हुबेई प्रान्तमा रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन् । दूतावासले शनिबार बिहान ९ बजेसम्मको समय दिएर फर्कन चाहनेलाई फारम भर्न आह्वान गरेको थियो । फारम भर्नेमा सबैभन्दा बढी उहान सहरका ६३ जना छन् ।

दुई साताअघिदेखि नै उहानमा रहेका नेपाली विद्यार्थीले स्वदेश फर्काउन नेपाल सरकारसमक्ष माग गर्दै आएकोमा शनिबार दूतावासले फारम भर्न सूचना जारी गरेको थियो ।

बन्द गरिएको हुबेई प्रान्तमा रहेका नेपालीका लागि मात्र फारम भर्न भनिए पनि अन्य प्रान्तकाले समेत भरेका थिए । फारम रुजुका क्रममा हुबेईका १८० विद्यार्थी फर्किन इच्छुक देखिएको दूतावासले जनाएको छ ।

हुबेईमा कुल १८८ नेपाली सम्पर्कमा आएकोमा ८ जनाले भने फारम भरेका छैनन् । उनीहरू कुनै कम्पनीमा काम गरिरहेको र पासपोर्ट रोजगारदातासित भएकाले उनीहरूले फारम नभरेको हुन सक्ने दूतावासको बुझाइ छ । उनीहरूको स्वास्थ्योपचारको जिम्मा कम्पनीले नै लिएको बताइएको छ ।

यसअघि चीनबाट फर्किएका एकजना नेपालीलाई यो भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।

कहाँ राख्ने?

नेपाल फर्किन चाहनेसित सरकारले फारम त भरायो, तर मापदण्डअनुसार ल्याएर राख्ने ठाउँको तय भएको छैन । राख्ने स्थान, उपचार गराउने स्थान र जनशक्तिको विश्वासिलो आधार नभई चीनले कुनै पनि देशका नागरिकलाई पठाउन मिल्दैन । भाइरसको उपचारसम्बन्धी मापदण्ड पूरा नगरी ल्याउने मात्र भनिँदा फारम भरेकाले अझै केही दिन कुर्नुपर्ने देखिएको छ ।

फर्किएकाहरु सीधै घरपरिवारमा जान मिल्दैन। उनीहरुलाई दुई साता निरन्तर स्वास्थ्य परीक्षण र चिकित्सकको निगरानीमा राख्नुपर्ने हुन्छ।

एक व्यक्तिबाट चाँडै नै अर्काे व्यक्तिमा सरिहाल्ने यो भाइरसका कारण उनीहरुलाई अस्पतालमा राख्न पनि निकै जोखिम हुन्छ।

‘हामीसँग जोखिमहरु छन्। चुनौती छन्। राम्रो पनि छ, नराम्रो पनि छ,’ आइतबार दिउँसो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘तर, अहिलेसम्म हामीले उहाँहरुलाई राख्न अझै ठाउँ यकिन गरिसकेका छैनौँ।’

उनका अनुसार चीनबाट फर्काइएकालाई कहाँ राख्ने भनेर मन्त्रालयका कर्मचारीहरुले विभिन्न ठाउँ हेरिरहेका छन्।

‘अहिलेसम्म राख्ने ठाउँ निश्चित भइसकेको छैन, खोजिरहेका छौं। केही प्रस्ताव आएका छन्, त्यसमा निर्णय भएको छैन,’ उनले भने।

मन्त्रालयले विभिन्न सरकारी तालिम केन्द्रहरुमा उनीहरुलाई राख्न सकिन्छ कि भनेर अध्ययन गरिरहेको छ।

मन्त्रालयका अनुसार नेपालीलाई फर्काउन चीनस्थित नेपाली दूतावासले सबै व्यवस्था गरिसकेको छ। अहिले उहानमा नेपालीलगायत सबै नागरिकलाई निगरानीमा राखिएको प्रवक्ता श्रेष्ठले बताए।

‘अहिलेसम्म नेपालमा सर्वसाधारण मानिसको ‘क्वारेन्टाइन’ भएको छैन,’ उनले भने, ‘चीनमा सबैलाई बन्द गरिएको छ। बाहिर हिँडडुल गर्न दिइएको छैन। त्यहाँ नै क्वारेन्टाइनजस्तै छ।’

सरकारले अफ्रिकी देशमा इबोला भाइरस फैलिएका वेला नेपाली सेनाको क्वारेन्टाइन भने गरेको थियो।
‘त्यहीँ पनि परीक्षण गरिन्छ। शंकास्पदलाई चीन आफैँले पनि एयरपोर्टबाट पठाउँदैन। यहाँ हामीसँग पनि परीक्षण किट र सामग्री पनि छन्। नभए हामीले किन्न पनि सक्छौँ। सरकारले त्यसको तयारी गरिसकेको छ,’ उनले भने, ‘हामी यसमा निकै सचेत छौँ।’

चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण चीनबाहिर संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।

योसँगै कोरोना भाइरसको संक्रमणले ३ सय ५ जनाको मृत्यु भएको छ भने चीनसहित विश्वका कैयौँ देशमा १४ हजार ४ सयभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

हुबेईबाहेक अन्य प्रान्तका नेपाली भने स्वास्थ्यपरीक्षण गराएर आफैँ नेपाल फर्किन सक्छन् । राजधानी बेइजिङबाट यसरी फर्किन खोजेका केही नेपाली विमानस्थलमा रोकिएका छन् । स्वास्थ्यजाँच (स्क्रिनिङ) का क्रममा ज्वरो देखिएपछि उनीहरूलाई रोकिएको हो । यद्यपि, अर्को दिन पुनः स्वास्थ्यपरीक्षणका क्रममा समस्या नदेखिएमा उनीहरूलाई आउन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय