चितवनमा कोरोनाविरुद्ध सतर्कता, भरतपुर अस्पतालमा दुई कन्सल्टेन्ट फिजिसियनसहित आइसोलेसन वार्ड

चितवनमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइने भएको छ । विश्वभर संक्रमण फैलिरहँदा भरतपुर अस्पतालले उच्च सतर्कता र उपचारका लागि पूर्वतयारी थालेको छ । अस्पतालले शंकास्पद बिरामीको उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेको जानकारी दिएको छ ।

केन्द्र सरकारको निर्देशनअनुसार दुईजना चिकित्सकलाई उपचारका लागि खटाइएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।  ‘कोरोना भाइरसको संक्रमण रोक्न र सम्भावित संक्रमणको व्यवस्थापनका लागि हामी सचेत छौँ,’ तिवारीले भनेका छन्, ‘अस्पतालमा शुक्रबार बसेको विशेषज्ञसहितको बैठकले उपचारका लागि दुईजना विशेषज्ञ चिकित्सकलाई खटाउने निर्णय गरेको छ ।’

अस्पतालको ए ब्लकको तेस्रो तलामा ५ बेडको आइसोलेसन वार्ड शुक्रबार नै स्थापना गरिसकेको छ ।

कोराना भाइरसका शंकास्पद बिरामीको चेकजाँचका लागि अस्पतालको मेडिसिन विभागमा कार्यरत कन्सल्टेन्ट फिजिसियनद्वय डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकिएको छ । कुनै बिरामीमा कोरोना भाइरस संक्रमणको आशंका लागेमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने निर्णय भएको मेसु तिवारीले जानकारी दिए ।

उपचारका लागि आउने बिरामी तथा अन्य सर्वसाधारणका लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन तथा प्रसारण गर्ने तयारी गरेको उनले बताए । ‘संक्रमणबाट बच्न हामीले नियमित साबुनपानीले हात धुने, फ्लुजस्तो लक्ष्ण देखिएमा चिकित्सकसँग परामर्श लिने, जंगली तथा घरपालुवा पशुपक्षीसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, खोक्दा र हाछ्यूँ गर्दा नाक र मुख छोप्ने गर्नुपर्छ,’ उनले भने, ‘यस्ता चेतनामूलक सामग्री अस्पतालमा आउने सर्वसाधारणलाई उपलब्ध गराउँछौँ ।’

अस्पतालले यहाँका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आगामी सोमबार रोगसम्बन्धी प्रशिक्षण दिने भएको छ । चिकित्सकलाई पनि भाइसरबाट बच्न हरसम्भव सुरक्षात्मक विधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरिएको तिवारीले बताए ।

डिसेम्बर अन्तिम सातादेखि चीनको उहानबाट देखापरेको नयाँ भाइरस अहिले विश्वका दुई दर्जन देशमा फैलिसकेको छ । नोवल कोरोना भाइरस नाम दिइएको यो भाइरसले चीनको हुबेई प्रान्तलाई नराम्ररी आक्रान्त बनाएको छ । संक्रमणका कारण चीनमा हालसम्म ३०४ जनाको मृत्यु पुष्टि भइसकेको छ भने चीनबाहिर पनि फिलिपिन्समा एक चिनियाँ नागरिकले ज्यान गुमाएका छन् । करिब १५ हजार मानिस संक्रमित भइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले ३१ जनवरीमा कोरोनालाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ । नेपालमा हालसम्म एकजनामा मात्र संक्रमण पुष्टि भएको छ । उनी उहानबाट फर्किएका थिए र उपचारपछि डिस्चार्ज भइसकेका छन् । भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले सीमानाकामा निगरानी बढाएको छ भने उपचारका लागि आवश्यक तयारीसमेत थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय