उपत्यकामा पहिलो दिन खस्यो ३२६ मत, अध्यक्षका दुवै प्रत्याशीले गरे मतदान (फोटोफिचर)

नेपाल चिकित्सक संघ (एनएमए) को २८औँ कार्यकारिणी समितिका लागि जारी निर्वाचनमा उपत्यकामा शुक्रबार पहिलो दिन ३२६ मत खसेको छ । मंगलबार (२१ माघ) सम्म मतदान जारी रहने निर्वाचन कार्यतालिका छ । उपत्यकाका लागि प्रदर्शनीमार्गस्थित संघको केन्द्रीय कार्यालयमा एक मात्र निर्वाचन केन्द्र तोकिएको छ ।

उपत्यकाभित्र एनएमएका कुल ६ हजार ३ सय ५१ मतदाता छन् । शुक्रबार ५.१५ प्रतिशत मात्र मतदान भएको हो । अध्यक्षका दुवै प्रत्याशीले पहिलो दिन नै मतदान गरेका छन् ।

यसअघि उपत्यकाबाहिरका १६ वटा शाखामा मतदान सम्पन्न भइसकेको छ । ४ र ५ माघमा १८ वटा मतदान केन्द्रमार्फत मोफसलका चिकित्सकले मतदान गरेका थिए । उपत्यकाबाहिर कुल २ हजार ८ सय ५० मत खसेको थियो, जुन कुल मतदाताको ८० प्रतिशत हो ।

नेपालको पहिलो पेसागत संगठनको आगामी नेतृत्वका लागि चिकित्सकका दुई प्यानल मैदानमा छन् । कुल १३ पदका लागि दुई प्यानलका २६ र ४ स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ । निवर्तमान कार्यकारिणी समितिका महासचिव डा. लोचन कार्कीको नेतृत्वमा लोकतान्त्रिक तथा पेसागत समूह मैदानमा छ । सत्तारुढ नेकपानिकट मानिने पेसागत तथा समावेशी समूहको नेतृत्व डा. पुष्पमणि खरालले गरिरहेका छन् । महासचिवमा २ र सदस्यमा २ चिकित्सकले कुनै प्यानलमा आबद्ध नभई उम्मेदवारी दिएका छन् ।

मतदानस्थलमै भड्किलो प्रचार
देशको बौद्धिक वर्ग चिकित्सकको पेसागत छाता संगठनको निर्वाचनमा निर्वाचन आचारसंहिताको पालना शून्यप्रायः देखिएको छ । मतदानस्थलमै चिकित्सकहरू ठूला–ठूला ब्यानर, पर्चा–पम्प्लेटसहित मत मागिरहेका देखिए ।

विशेषगरी डा. खराल नेतृत्वको समावेशी समूहले मतदानस्थलमा भड्किलो र खर्चिलो व्यवहार देखाएको छ । समावेशी समूहको प्रचारमा उम्मेदवार र मतदाता मात्र नभई गैरमतदाता र गैरचिकित्सकसमेत देखिए । नेकपानिकट केही नेता–कार्यकर्ताले समेत मतदानस्थलमै पुगेर डा. खराल नेतृत्वको समूहलाई भोट मागेका थिए । उनीहरू प्रगतिशील समूहको पहिचान झल्किने निलो रङको टोपीमा प्रस्तुत भएका थिए ।

तत्कालीन नेकपा एमालेकी स्वास्थ्य विभाग प्रमुख नेकपा नेत्री सुजिता शाक्य मतदानस्थलभित्रै प्रवेश गरेपछि चिकित्सकहरूले आपत्तिसमेत जनाएका थिए । दुवै पक्षको प्रचारशैली निर्वाचन आचारसंहिताविपरीत देखिन्थ्यो ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय