कोरोनाविरुद्ध सतर्कता : डा. गुणनिधि र पोखरेलको नेतृत्वमा तातोपानी र रसुवागढी नाकामा टोली पठाइँदै

सरकारले कोरोना भाइरसविरुद्ध सतर्कता अभियानअन्तर्गत विशेषज्ञको नेतृत्वमा २ टोली तातोपानी र रसुवागढी सीमानाका पठाउने भएको छ । चीनसित सडकमार्गबाट आवत–जावत हुने प्रमुख नाकाका रुपमा रहेको रसुवागढीमा स्वास्थ्य परीक्षणको उपयुक्त व्यवस्था नहुँदा भाइरस भित्रिने जोखिम बढेपछि सीमानाका नै बन्द गर्नुपरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार परीक्षण सामग्रीसहितको निरीक्षण टोली पठाउने निर्णय गरेको हो । टोली शुक्रबार नाकामा पुग्ने मन्त्रालयले जनाएको छ ।

डा. गुणनिधि शर्मा नेतृत्वको टोलीलाई सिन्धुपाल्चोकको तातोपानी नाका र डा. अमृत पोखरेल नेतृत्वको टोलीलाई रसुवागढी पठाइने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । टोलीमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, प्राविधिक तथा अन्य स्वास्थ्यकर्मी संलग्न हुने उनको भनाइ छ ।

रसुवागढी नाकामा हेल्थ डेस्क राखिए पनि परीक्षण सामग्री अभावमा चीनबाट भित्रिने व्यक्तिको चेकजाँच हुन नसकपछि १५ दिनका लागि सीमानाका बन्द गरिएको छ । शनिबार सञ्चालनमा ल्याइएको हेल्थ डेस्कमा रक्तचाप परीक्षण गर्ने सामान्य मेसिनसमेत उपलब्ध नभएपछि स्वास्थ्य परीक्षण निष्प्रभावी भएको थियो । दुवै देशका प्रहरी र अध्यागमनका प्रतिनिधि सम्मिलित बैठकले मंगलबार सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सीमानाकामा प्रभावकारी स्वास्थ्य परीक्षणको तयारीका लागि मन्त्रालयले टोली खटाएको हो ।

मन्त्रालयले हालसम्म नेपालमा ६ जनाको नमुना परीक्षण गरिएकोमा एकजनामा मात्र भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । सुरुमा चीनको उहान भएर आएका एक नेपाली विद्यार्थीको नमुना परीक्षणका लागि हङकङ पठाइएकोमा संक्रमण पुष्टि भएको थियो । त्यसपछिका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका हुन् । स्वदेशमा गरिएको परीक्षणमा हालसम्म सबै नतिजा ‘नेगेटिभ’ आएका छन् ।

मन्त्रालयमा कोरोनाबारेको नियमित पत्रकारसम्मेलनमा सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले भाइरससित आत्तिने नभई सजग रहन आग्रह गरे । कोरोना भाइरसको लक्षण २० प्रतिशत संक्रमितमा मात्र देखिने भएकाले रुघाखोकी तथा ज्वरो आएकामा मात्र संक्रमण आशंका गर्न नसकिने उनको भनाइ छ ।
‘८० प्रतिशत संक्रमितमा यसको कुनै लक्षण देखिँदैन,’ डा. बास्तोलाले भने, ‘सबैले साबधानीका उपायहरु अवलम्बन गर्नु नै संक्रमणबाट जोगिने एक मात्र विकल्प हो ।’

डिसेम्बरको अन्तिम सातादेखि उहानबाट सुरु भएको नयाँ भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ सय ७० जनाको ज्यान गएको पुष्टि भइसकेको छ । नेपालसहित विश्वका करिब डेढ दर्जन देशमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । बिहीबार भारत र फिलिपिन्समा पनि संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय