बेलायती अध्ययन : कोरोना भाइरसको उच्च जोखिमयुक्त ३० देशभित्र छैन नेपाल, यी हुन् ‘हाई रिस्क’ देश र सहर

नेपाल कोरोना भाइरसको उच्च जोखिमयुक्त देशमा नरहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । बेलायतको युनिभर्सिटी अफ साउथयाम्प्टनले जारी गरेको उच्च जोखिम भएका ३० देशको सूचीमा नेपाल परेको छैन । यद्यपि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा फैलिरहेको महामारी सम्पूर्ण विश्वकै लागि चुनौती भएकाले सबैले सावधानी अपनाउनुपर्ने बताइसकेको छ ।
साउथयाम्प्टन युनिभर्सिटीको वर्ल्डपप टिमले प्रभावित क्षेत्रबाट दोस्रो मुलुक जाने यात्रुका आधारमा कोरोना भाइरसको उच्च जोखिम रहेका देश तथा सहरहरूको सूची सार्वजनिक गरेको हो । अध्ययनमा विगत वर्षहरू उहानलगायत प्रभावित क्षेत्रमा भएका भ्रमण तथा हवाई यात्राको सूक्ष्म विश्लेषण गरिएको छ ।

अध्ययनअनुसार चीनपछि कोरोना भाइरसको उच्च जोखिम भएको देश थाइल्यान्ड हो । यहाँ भाइरसको जोखिम १५ प्रतिशत रहेको देखाइएको छ । उच्च जोखिमका सहरमध्ये थाइल्यान्डको ब्यांकक पहिलो नम्बरमा छ, जहाँ जोखिम प्रतिशत ७.८६ प्रतिशत छ ।

त्यसैगरी, दोस्रो जोखिम बढी भएको देशमा जापानलाई लिइएको छ । जापानमा कोरोना भाइरसको ११.५७ प्रतिशत जोखिम रहेको अध्ययनले देखाएको छ । दोस्रो जोखिमयुक्त सहरमा भने हङकङ रहेको छ, जहाँ जोखिम प्रतिशत ७.४१ रहेको देखाइएको छ ।

त्यसपछि हङकङ (७.४१%), ताइवान (७.२५%), दक्षिण कोरिया (६.९३%), संयुक्तराज्य अमेरिका (५.७२%) जोखिमयुक्त देशमा परेका छन् । सहरतर्फ ताइवानको ताइपेई (६.३४%), दक्षिण कोरियाको सोल (५.६१%), जापानको टोकियो (५.२८%), सिंगापुर (४.२०%) उच्च जोखिम क्षेत्रअन्तर्गत परेका छन् । थाइल्यान्डका ४ सहर उच्च जोखिमका सहरमा परेका छन् ।
छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको उच्च जोखिम भएका ३० देशभित्र परेको छ । भारत (०.७९%)लाई २३औँ जोखिमपूर्ण देशमा राखिएको छ । ३.३७ प्रतिशत जोखिमका साथ अस्ट्रेलिया १०औँ स्थानमा छ । क्यानडा १६औँ र बेलायत १७औँ स्थानमा छन् । रुस र फ्रान्स पनि उच्च जोखिम भएका देशको २०औँ र २१औँ नम्बरमा परेका छन् । सर्क क्षेत्रका श्रीलंका र माल्दिभ्स २७औँ र २८औँ स्थानमा छन् । उच्च जोखयुक्त देशको ३० औँ स्थानमा म्यानमार (०.३२%) छ ।

डिसेम्बर अन्तिम सातादेखि चीनको उहानबाट सुरु भएको नयाँ भाइरसले चीनलाई आक्रान्त बनाइरहेको छ । मुख्यतः हुबेई प्रान्तअन्तर्गतको उहान राज्य नोवेल कोरोना भाइरसको चपेटामा आएको हो । करिब १ करोड १० लाख जनसंख्याको उहान सहर १ सातादेखि पूर्णतः ‘सिल’ गरिएको छ ।
हालसम्म भाइरसको संक्रमणबाट १ सय ७० जनाले ज्यान गुमाइसकेका छन् भने ७ हजार ७ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपालसहित विश्वका करिब डेढ दर्जन देशमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । बिहीबार भारत र फिलिपिन्समा पनि संक्रमण पुष्टि भएको छ ।

उच्च जोखिमका ३० देश (चीनबाहेक)

देश र जोखिम प्रतिशत

१. थाइल्यान्ड १५.०३
२. जापान ११.५७
३. हङकङ ७.४१
४. ताइवान ७.२५
५. दक्षिण कोरिया ६.९३
६. संयुक्तराज्य अमेरिका ५.७२
७. मलेसिया ४.६९
८. सिंगापुर ४.२०
९. भियतनाम ३.४७
१०. अस्ट्रेलिया ३.३७
११. इन्डोनेसिया ३.०५
१२. कम्बोडिया १.९५
१३. मकाउ १.९३
१४. फिलिपिन्स १.८५
१५. जर्मनी १.७४
१६. क्यानडा १.५४
१७. संयुक्त अधिराज्य (बेलायत) १.४१
१८. युनाइटेड अरब इमिरेट्स १.२०
१९. इटली १.१३
२०. रसिया १.१२
२१. फ्रान्स १.०२
२२. न्युजिल्यान्ड ०.८९
२३. भारत ०.७९
२४. स्पेन ०.७८
२५. टर्की ०.४९
२६. इजिप्ट ०.४३
२७. श्रीलंका ०.४१
२८. माल्दिभ्स ०.३७
२९. नेदरल्यान्ड्स ०.३३
३०. म्यानमार ०.३२
अन्य ७.५९

उच्च जोखिमका ३० सहर (चीनबाहेक)

सहर र जोखिम प्रतिशत

१. ब्याङकक, थाइल्यान्ड ७.८६
२. हङकङ, हङकङ ७.४१
३. ताइपेई, ताइवान ६.३४
४. सोल, दक्षिण कोरिया ५.६१
५. टोकियो, जापान ५.२८
६. सिंगापुर, सिंगापुर ४.२०
७. फुकेट, थाइल्यान्ड ३.६५
८. ओसाका, जापान ३.२१
९. क्वालालम्पुर, मलेसिया २.८३
१०. मकाउ, मकाउ १.९३
११. डेनपसार बाली, इन्डोनेसिया १.६४
१२. सिड्नी, अस्ट्रेलिया १.५३
१३. सियाङ मे, थाइल्यान्ड १.१६
१४. मेलबर्न, अस्ट्रेलिया १.१४
१५. लस एन्जलस, संयुक्तराज्य अमेरिका १.१४
१६. न्युयोर्क, संयुक्तराज्य अमेरिका १.०८
१७. दुबई, युनाइटेड अरब इमिरेट्स १.०७
१८. नहा ट्राङ, भियतनाम १.०६
१९. लन्डन, संयुक्त अधिराज्य (बेलायत) १.०५
२०. हो ची मिन्ह सिटी, भियतनाम १.०५
२१. नागोया, जापान १.०४
२२. कोटा किनाबलु, मलेसिया ०.९६
२३. फ्नोम पेन्ह, कम्बोडिया ०.९४
२४. क्राबी, थाइल्यान्ड ०.९३
२५. मनिला, फिलिपिन्स ०.९०
२६. सिएम रिप, कम्बोडिया ०.९०
२७. पेरिस, फ्रान्स ०.८८
२८. जकार्ता, इन्डोनेसिया ०.८४
२९. काओहसियुङ, ताइवान ०.८०
३०. फ्य्रांक फर्ट, जर्मनी ०.७६
अन्य ३०.७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय