विश्व स्वास्थ्य संगठनले भन्यो– पूरै विश्व सावधान हुनुपर्छ, ट्रम्प भन्छन्– हामीसँग संसारभरका विज्ञ तयार छन्

चीनमा फैलिइरहेको कोरोना भाइरसका कारण १ सय ७० जनाले अकालमा ज्यान गुमाइसकेको छ।

ताजा तथ्यांकअनुसार अहिले संसारभरका करिब ८ हजार मानिस यो भाइरसबाट संक्रमित भइसकेको पुष्टि भएको छ।

यसबीच विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदनोम घेब्रेयससले हालैमात्र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए।

उनीसहित संगठनको एउटा टोलीले चीनमै पुगेर कोरोना भाइरसको संक्रमण र यसलाई रोक्न चीनले गरिरहेको प्रयास बुझेको थियो।

संगठनको मुख्यालय जेनेभामा आयोजित एउटा पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसविरुद्ध लडाइँमा चीनले गरेको प्रयासको प्रशंसा गरेका थिए। र, उनले भनेका थिए– ‘यो लडाइँमा चीन सफल हुनेछ।’

चिनियाँ राष्ट्रपति सीले भनेका थिए– ‘चिनियाँ जनता अहिले एउटा धेरै गम्भीर महामारीविरुद्ध लडाइँमा छन्। जनताको स्वास्थ्य र सुरक्षा नै अहिले हाम्रो पहिलो काम भएको छ।’

चीनको मात्रै नभएर यो लडाइँ अहिले विश्वकै लागि चुनौती भइसकेको उनको भनाइ थियो।

त्यसैले पनि कोरोनासम्बन्धी कुनै पनि जानकारी निकै स्पष्ट र पारदर्शी रूपले दिइरहेको सीले बताए।

विश्व स्वास्थ्य संगठनका प्रमुखसँगको भेटमा उनले भने, ‘यो महामारी एक शैतान हो। यसलाई हामी लुक्न दिँदैनौं।’

संगठनले कोरोना भाइरस संक्रमणसँग पूरै विश्व नै सावधान हुनुपर्ने जनाएको छ।

संगठनले आज उसको बैठक पनि डाकेको छ। बैठकले यो भाइरस संक्रमणलाई विश्वमा आपतकाल घोषणा गर्ने या नगर्नेबारेमा निर्णय लिने जनाइएको छ।

चीनको अर्काे प्रान्त तिब्बतमा पनि एकजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भइसकेपछि अब सबै ३१ प्रान्तमा यो फैलिइसकेको छ।
चीनबाहेक विश्वका १६ देशमा कोरोना भाइरस फैलिइसकेको छ। नेपालमा पनि एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाविरुद्ध एकबद्ध भएर लड्न विश्व समुदायलाई आग्रह गरेका छन्।

‘हामी निरन्तर चीनसँगै छौं। हामी कोरोनाविरुद्ध चीनको लडाइँमा साथ दिन तयार छौं,’ ट्रम्पले भने, ‘हामीसँग विश्वमै कहलिएका कयौं विशेषज्ञ उपलब्ध छन् र ती चाबिसै घन्टा खटिन तत्पर छन्।’

ट्रम्पले कोरोना भाइरस संक्रमण सम्बोधनका लागि एउटा कार्यदल पनि घोषणा गरेका छन्।

स्वास्थ्य तथा मानव सेवाका सचिव एलेक्स अजरले नेतृत्व गरेको उक्त कार्यदललमा राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ बेरियनलगायत छन्।

कार्यदललले कोरोना भाइरसबारे दिनहुँजसो राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय