साठी केटा नर्सका अनेक कथा

त्यो केही पनि होइन कि, हामीले कति गर्यौं। अर्थ त्यहाँ हुन्छ, हामीले त्यसलाई कति प्रेमले गर्यौं।
मदर टेरेसाले त्यसै भनेकी होइनन्– ‘नर्स सेवा र प्रेमको प्रतीक हो।’
र, नर्स भन्नासाथ हामी सम्झिन्छौं, सेतो कपडामा औषधीको किस्ती समाएर उभिएकी एउटी नारी रूप।
तर, पुरुष नर्स?
त्यो २०४६ सालतिरको कुरा थियो, बारा सिमराका रमेश सुब्बाले भर्खर आइएससी सकेका थिए।
जीवनको लक्ष्य थियो– विज्ञानै पढ्ने कि स्वास्थ्य पढ्ने।
विज्ञान पढ्न पैसा खर्च गर्ने घरको अवस्था अलि थिएन।
परिवार भने स्वास्थ्य पढ्नतिर अलि जोड गर्दै थियो।
‘सरकारी कोटामा नाम पो निस्किहाल्छ कि, नर्सिङमा ट्राई किन नगर्ने?’
उनी नर्सिङ पढ्न फाराम भर्न गएका थिए। जता हे¥यो साडी लगाएका महिलै महिला।
‘अहो, यति धेरै महिलाका बीचमा म एक्लैले कसरी पढ्नु?’
उनी फाराम नभरी फर्किंदै थिए, त्यत्तिकैमा एउटी महिलाले हात समाएर उनलाई तानिन्।
ती उनकी आमाकी साथी थिइन्। धेरै जोड गरेर उनैले फाराम भरिदिइन्।
नाम निस्कियो। उनी नर्सिङ पढ्न थाले। तीन वर्षपछि पढाइ सकियो। त्यसपछि उनले नर्सिङमै बिएससी गरे, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट।
त्यसपछि उनले भारतबाट नर्सिङमा स्नातकोत्तर गरे।
केही समय मेडिकल लाइनमै नर्सिङ पेसामा काम गरेपछि अहिले उनी चितवन मेडिकल कलेजमा नर्सिङ पढाउँछन्।
………………………………….
एसएलसीपछि कलेज खोज्दै हिँडेका भक्तपुरका हरिप्रसाद कोजु साथीहरूसँग ‘एचए’ (स्वास्थ्य सहायक) पढ्न भनेर महाराजगन्ज पुगेका थिए।
उनले त्यहाँ फाराम भरे।
त्यसपछि साथीहरूले भने, ‘नर्स पनि हुने रैछ त, विचार गरौं।’
उनले नर्सिङमा पनि फाराम भरे।
संयोग कस्तो भयो भने, एचए पढ्न नाम निस्किएन। बरू नर्समा पो निस्कियो।
उनले नर्सिङ पढ्न थाले।
‘सुरुसुरुमा त बेस्सरी आत्तिँए नि,’ उनी सम्झिन्छन्, ‘८० जनामा हामी आठजनामात्रै केटा थियौं।’
सुरुमा उनलाई लागेको थियो, ‘यो त बेकारमा पो पढिएछ। बरू एचए नै ठिक थियो कि?’
तर, होइन रहेछ।
‘नर्सिङ शिक्षा भनेको अलि बेग्लै शिक्षा हो। यो पूरै जागिरका लागि मात्रै होइन।
यो त सेवा पो रहेछ,’ केही समयपछि हरिलाई लाग्यो, ‘यो पढ्नेपर्ने विषय रहेछ।’‘हेर्नुस् एउटा ज्वरो आएको मान्छेले डाक्टरलाई देखायो भने डाक्टरले एउटा सिटामोलको प्रेस्क्रिप्सन लेखेर दिन्छ, सक्कियो,’ आफ्नो पेसामा रमेशलाई निकै गर्व छ। र, त भन्छन्, ‘हाम्रो नर्सिङ विद्याले त्यो सिटोमोल दिँदैन। बरू ज्वरो आउनुको कारण खोज्छ। सिटामोल किन्ने अवस्था बिरामीको छ कि छैन, भनेर हेर्छ। अनि त्यसका सावधानी खोतलिदिन्छ। बिरामी र आफन्तलाई सम्झाउँछ।’
कोजु अहिले भक्तपुर अस्पताल जागिरे छन्।
उनी एनेस्थेसिस्ट नर्स हुन्।
नर्सिङ पढ्न ‘केटा’ हरूका लागि त्यो अन्तिम वर्ष थियो।
त्यसपछि सरकारले नर्सिङमा केटाको कोटा नै बन्द गरिदियो।
सन् १९९६ मा पहिलोचोटि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाइ सुरु गरेको थियो।
बिएससी नर्सिङको त्यो पहिलो ब्याचमा ११ पुरुष थिए। २० जनाको कोटामा नौ केटी थिए।
त्यसपछि बिएससी नर्सिङमा केटाको कोटा बन्द गरियो।
धेरै वर्षपछि केटाका लागि प्रविणता प्रमाणपत्र तहमा १० प्रतिशत कोटा दिइयो। त्यो पनि २०४३ देखि २०४६ सम्म मात्रै।
जम्मा ४ ब्याच। २०४६ सालको राजनीतिक परिवर्तनपछि त्यो कोटा पनि बन्द गरियो।
त्यसपछि एकैपटक शैक्षिकसत्र २०७५÷७६मा सरकारले पुरुषलाई पनि १५ प्रतिशत कोटा छुट्ट्यायोे नर्सिङ पढ्न।
तर, अधिकांश कलेजमा अहिले नर्स पढ्ने केटा छैनन्।
नेपालमा कति पुरुष नर्स छन्?
नर्सिङ संघको तथ्यांकअनुसार जम्मा ६० जनामात्रै केटा नर्स छन्।
ती सबै मेडिकल क्षेत्रमै छन्।
तर, देशभरि करिब १ लाख महिला नर्स छन्। नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका महिला नर्समात्रै करिब ९१ हजार छन्।
त्यो बेला चार ब्याचमा पढेका केटा नर्समध्ये धेरैजसो अहिले नियमित मेडिकलको काममा छैनन्।
‘धेरै त विदेशतिर गइसके। कोही रिटायर्ड पनि भइसके। कोही अन्य क्षेत्रमा छन्। जस्तो कि, पुलिसतिर, आर्मीतिर,’ रमेश भन्छन्, ‘नेपालमा नपाएर कतिले त बाहिर (विदेशतिर) पनि पढिरहेका छन्।’
नर्सिङ काउन्सिलमा करिब १ सय ५० पुरुष नर्स दर्ता छन्। तीमध्ये धेरैजसो भारतलगायत अन्य देशमा पढेका छन्।
अन्य देशमा पुरुष नर्स छन्?
‘किन नहुनु, छन् नि!’
रमेश हौसिँदै भन्छन्, ‘अमेरिकी नर्सिङ संघका अध्यक्ष नै पुरुष छन्।’
अन्तर्राष्ट्रिय नर्सिङ संघमा महिला र पुरुष नर्स बराबरी आबद्ध छन्।
छिमेकी भारतमा पनि प्रशस्तै पुरुष नर्स छन्।
अमेरिका, युरोपेली देशमा पनि पुरुषलाई नर्सिङ पढ्न बन्देज छैन।
नेपालमा मात्रै किन यस्तो?
‘हाम्रोमा चेतना नै छैन,’ रमेशलाई बीचमा रोक्दै हरिप्रसाद भन्छन्, ‘हाम्लाई लाज लागेर पनि होला।’
हो पनि, नेपाली समाजको आमबुझाई पनि त्यस्तै छ नि, नर्स भनेकै केटी।
‘हेर्नुस् न अस्पतालहरूमा पनि त्यस्तै छ। अस्पतालमा महिला डाक्टरलाई पनि अरू मान्छे सिस्टर नै भन्छन्,’ काम गर्दाका अनुभव सुनाउँदै रमेश भन्छन्, ‘हामी पुरुष पनिनर्स नै हौं तर हामीलाई सबैले डाक्टरसाब पो भन्छन्।’
अनि हरि कोजुको अनुभव छ– ‘हामी डाक्टर होइन, नर्स हौं भन्दा पनि अचम्म पो मान्छन् त। पत्याउँदैनन्।’

केटा पनि नर्स हुन्छन् र?
हुन पनि हो नि, १ लाख महिला नर्सको भीडमा जम्मा ६० जना पुरुष नर्स?
आममान्छेले कसरी पत्याउने? ‘तर, अब आवश्यक छ। पुरुष पनि यो क्षेत्रमा आवश्यक नै छ। नभए फेरि सरकारले किन यो १५ प्रतिशत व्यवस्था गथ्र्याे र?,’ रमेश भन्छन्, ‘हामी त भन्छौं, अब बराबरी होस्। अथवा खुला प्रतिस्पर्धा होस्।’
रमेश अहिले नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष छन्। हरि जनजाति कोटाबाट सदस्य चुनिएका छन्।
सरकारले अघिल्लो शैक्षिकसत्रदेखि पुरुषलाई १५ प्रतिशत कोटा छुट्ट्याए पनि अधिकांश नर्सिङ कलेजले त्यसअनुसार भर्ना लिएका छैनन्।
‘लिँदैनन् नि हजुर, ती केटालाई किन भर्ना लिन्थे र?,’ रमेश भन्छन्, ‘फाराम भर्न जाँदा नै केटालाई काउन्सिलिङ गरिन्छन् तिमीहरूले त काँ नर्स पढ्ने? बरू एचए पढ्ने हो। ल्याब पढ्ने हो, अरू पो पढ्ने हो त भनेर।’
केटाहरूलाई भर्ना नलिएर बरू कलेजहरूले त्यो कोटा बेच्ने गरेको रमेशको आरोप छ।
‘हरेक ठाउँमा दलाली छ। सिस्टमै त्यस्तै छ त के गर्न सकिन्छ र?,’ उनी भन्छन्, ‘तर, हामी अब सहँदैनौं। यो क्षेत्रमा पनि सुधार्नुपर्ने धेरै कुरा छन्। सरकारले गर्नुपर्ने पनि धेरै कुरा छन्।’
अझ उनलाई त लाग्छ यो पनि एउटा पुरुषवादी सोचको उपज हो।
‘महिलालाई दयाका पात्र ठान्ने, ‘शो’ पिस ठान्ने यो त पुरुषवादी चिन्तनको उपज नै हो नि,’ उनी भन्छन्, ‘जब पुँजीवादले समाज ग्रस्त हुनथाल्यो अनि महिलालाई मात्रै यसमा प्रयोगमा ल्याइएको हो।’
हरि थप्छन्– ‘एउटा पुरुष महिला विशेषज्ञ डाक्टर हुनसक्छ। एउटा डाक्टरले सुत्केरी गराउन हुने अनि हामीले चैं गर्न नसक्ने हुन्छ र?’